भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन टेण्डर आव्हान
###

१७ मंसिर- भैरहवामा रहेको गौतमवुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्ने गरी यसै साता ठेक्का आव्हान गरिएको नागरीक उडड्यन प्राधिकरणले जनाएको छ।
अधिकारीहरुका अनुसार काम नियमित रुपमा अगाडि बढेमा अबको करीब साढे ४ बर्ष पछि हालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थलकै आकारमा, सो विमानस्थल बन्ने छ।
उक्त विमानस्थल निर्माणको लागत करीब ९० मिलियन डलर अर्थात ९ अर्ब रुपियाँ पर्ने अधिकारीहरुको अनुमान छ।

विकल्प
भैरहवामा रहेको गौतमवुद्ध विमानस्थलको स्तरोन्नतिका लागि ठेक्का आव्हान गरिएको गौतमबुद्ध विमानस्थल स्तरोन्नति परियोजनाका आयोजना प्रमुख मुरारी भण्डारीले बताए।
भण्डारीका अनुसार वोलपत्र दाखिला गर्न डेढ महिना समय दिइएको छ र त्यस पश्चात ठेकेदार कम्पनी चयन गरी सन् २०१४ को जुन सम्ममा भौतिक निर्माणको काम शुरु गरिने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा स्तरोन्नति गर्न लागिएको सो विमानस्थलको निर्माण कार्य सन २०१७ को जुन सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
“हाल त्रिभुवन विमानस्थलमा आउने आकारका सबै जहाज यसमापनि आउन सक्छन्। अर्थात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै आकार र क्षमता बराबरको यो वैकल्पिक विमानस्थल हुनेछ,” आयोजना प्रमुख मुरारी भण्डारीले भने।
नेपालमा हाल जम्मा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विकल्पको खाँचो निकै परिसकेको जानकारहरु बताउँछन्।
विकल्पको महत्वबारे नेपाल वायुसेवा निगमका एकजना वरिष्ठ पाइलट वाइ के भट्टराई भन्छन्, “एक त कुनै कारण काठमाण्डौंमा अवतरण गराउन नसके भारत वा बंग्लादेश तर्फ जहाज पठाउन हामी वाध्य छौं। अर्को तराईको मैदानी इलाकामा विमानस्थल बनाउँदा गतिलो उपकरण जडान गर्न सके कुहिरो लागेर न्यून भिजिबिलिटि भएका बेलापनि जहाज उडाउन सकिन्छ।”
"एक त कुनै कारण काठमाण्डौंमा अवतरण गराउन नसके भारत वा बंग्लादेश तर्फ जहाज पठाउन हामी वाध्य छौं। अर्को तराईको मैदानी इलाकामा विमानस्थल बनाउँदा गतिलो उपकरण जडान गर्न सके कुहिरो लागेर न्यून भिजिबिलिटि भएका बेलापनि जहाज उडाउन सकिन्छ"
वाइ के भट्टराई, वरिष्ठ पाइलट
तर उनले वैकल्पिक विमानस्थल बनाउनु संगै त्यहाँबाट राजधानीसम्म सुगम बाटो र स्तरीय सरसुविधा निश्चित गरिनु उत्तिकै जरुरी रहेको औंल्याए।
ऋण
विमानस्थल निर्माणका लागि ऋण उपलब्ध गराउने एशियाली विकास बैंक एडीबीले शुरुमा क्षेत्रिय विमानस्थल निर्माणका लागि भनी ३८ मिलियन अमेरिकी डलर अर्थात करीब ४ अर्ब रुपियाँको ऋण स्वीकृत गरेको थियो।
तर पछि नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरह बनाउने निर्णय गरी नयाँ लागतसहितको प्रस्ताव एडीबीमा पठाएकोमा लामो समय सम्म बैंकले ऋण स्वीकृत नगर्दा बन्ने वा नबन्नेमा केही समय अन्योल पनि देखिएको थियो।
अधिकारीहरुका अनुसार विमानस्थल निर्माणका लागि करीब ९ अर्ब रुपियाँ आवश्यक पर्दछ। जसमध्ये झण्डै ७ अर्ब रुपियाँ वा ६८ मिलियन डलर एडीबीले ऋण उपलव्ध गराउने छ।
बाँकी रकम नागरिक उड्यन प्राधिकरणले बेहोर्ने बताइएको छ।
####

0 comments

Write Down Your Comment