पोखरा सभागृह सरकार निजी साझेदारीमा सञ्चालन हुने
###

२८ माघ, काठमाडौं । पोखरा सभागृह सरकार निजी क्षेत्र साझेदारी (पीपीपी) अवधारणामा सञ्चालन हुने भएको छ । विपिएस लिजिङ एण्ड म्यानेजमेन्ट प्रालिले सभागृह पीपीपी अवधारणामा सञ्चालन गर्ने भएको हो ।
सरकार निजी क्षेत्र साझेदारीमा सञ्चालन गर्ने सम्बन्धमा गत शुक्रबार पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति र विपिएस लिजिङबीच सम्झौता भएको छ । सम्झौतापत्रमा उपमहानगरपालिकाको तर्फबाट कार्यकारी प्रमुख झलकराम अधिकारी, नगर विकासका तर्फबाट सदस्य सचिव कृष्णराज पाण्डे र विपिएसका तर्फबाट सञ्चालक आदर्श मान श्रेष्ठले हस्ताक्षर गरे ।
कम्पनीले थप पाँच करोड रुपैयाँ लगानीमा सभागृहको पनुनिर्माण तथा नयाँ संरचना थप गरी सञ्चालनमा ल्याउने छ । कम्पनीले गुणस्तरिय सेवा प्रदान गर्ने, सेवा सञ्जाल विस्तार गर्न एवं आर्थिक हितलाई ध्यानमा राखी यसको उचित संरक्षण तथा प्रवर्द्धन गर्न तीन पक्ष सहमत भएको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
सभागृह सञ्चालन गर्न दिएवापत उपमहानगरपालिकाले वाषिर्क रुपमा न्यूनतम १० लाख रुपैयाँ रोयल्टी पाउने सम्झौतामा उल्लेख गरिएको छ । साथै, सभागृहको आम्दानी बढ्दै गएमा सोही अनुपातमा रोयल्टी पनि बढ्ने बताइएको छ । अब सभागृहको मर्मत कार्य तुरुन्त सुरु गर्ने र नयाँ संरचना निर्माणको काम पनि थालिने कम्पनीका सञ्चालक श्रेष्ठले बताए । कम्पनीका अनुसार ६ महिनादेखि १ वर्षभित्रमा पुननिर्माण गरिसक्ने लक्ष्य रहेको छ ।
सभागृहको मुख्य सम्मेलन कक्ष र शौचालय पाँच तारे होटलको जस्तै बनाईने भएको छ । मुख्य सम्मेलन कक्ष बाहेक एक जनासम्म अट्ने अन्य तीनवटा सभाकक्ष पनि बनाइने छ । सभागृह परिसरमा फूडकोर्ट, र रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याइने भएको छ ।
दुई हजार जनाले गार्डेनमा बसेर खाना खान मिल्ने सेड पनि निर्माण गरिने छ । सेड निर्माणपछि चर्को घाम लाग्दा र पानी पर्दा पनि कुनै कठिनाई हुनेछैन् । यस बाहेक प्रदर्शनी हल, विवाह मण्डप, बाल उद्यन एटीएम लाउञ्ज, व्याङ्केट हल, मनोविनोदीय कार्यक्रम स्थल, वाईफाई जोन, पार्किङ, गार्डेन, सोलार र जेनेरेटरको पारव व्याकअपजस्ता सुविधा उपलब्ध गराउने बताइएको छ ।
सार्वजनिक तथा निजि साझेदारी अवधारणामा सभागृह सञ्चालनका लागी आहृवान गरिएको बोलपत्रमा पाँच कम्पनीहरुले आवेदन हालेका दिए । उनीहरुमध्ये विपिएस लिजिङ्ग एण्ड म्यानेजमेन्ट प्रालि छनौट भएको थियो ।

####

0 comments

Write Down Your Comment