###
![]() |
हजारौं नेपाली प्रभावित हुनेः
काठमाडौं, माघ ४ । मलेसिया सरकारले गैरकानुनी रुपमा बसेका विदेशी कामदारविरुद्ध धरपकड थाल्ने भएको छ । यही जनवरी २१ तारिखदेखि गैरकानुनी रुपमा बसेका विदेशी कामदारविरुद्ध धरपकड अभियान थाल्ने मलेसिया सरकारको घोषणाले हजारौ नेपाली कामदार प्रभावित हुने देखिएको छ ।
मलेसियास्थित नेपाली दूतावासले धरपकड अभियानबारे सूचना प्राप्त भएको भन्दै त्यहाँ रहेका नेपाली कामदारलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । आज विज्ञप्ति जारी गरी नेपाली दूतावासले मलेसियाले अवैधानिक भएपनि घर फर्किने प्रक्रियामा रहेका, यात्रा अनुमतिपत्र र फर्किने टिकट भएकाहरुलाई पक्राउ नगरी घर फर्कन दिने जानकारी गराएको जनाएको छ ।
अवैधानिक रुपमा मलेसियामा रहेका नेपालीलाई जतिसक्दो छिटो नेपाल फर्कने टिकट लिने व्यवस्था गरी यात्रा अनुमतिपत्रको लागि तुरुन्त दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । यसका लागि आइतबार पनि दूतावास खुला रहने जनाइएको छ ।
धरपकड अभियानबाट गैरकानुनी हैसियतमा रहेका हजारौं नेपाली प्रभावित हुनसक्ने भएकाले धरपकड अभियान पूर्व नै नेपालीहरुलाई यात्रा अनुमतिपत्र बाड्न दूतावासले आइतबार पनि कार्यालय खुला गर्न लागेको हो ।
मलेसियन सरकारले पटक–पटक वैधानिक रुपमा बस्ने अवसर दिएपनि त्यहाँ अझै १० लाख विदेशी कामदार गैरकानुनी हैसियतमा रहेको हुन सक्ने अनुमान गरिएको छ । धरपकड अभियानबाट लाखौं गैरकानूनी विदेशी कामदारलाई समात्ने र घर पठाउने योजना मलेसियन सरकारको छ ।
मलेसियामा कार्यरत करिब ५ लाख नेपाली मध्ये हजारौ अझैपनि गैरकानुनी हैसियतमा रहेको हुनसक्ने अनुमान गरिएको छ ।
####
0 comments
Write Down Your Comment