###
![]() |
१५ फागुन, काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले आफूलाई गृहमन्त्री वामदेव गौतमले विगतमा बदनियपूर्वक पदबाट हटाएको अदालतबाटै पुष्टि भइसकेको बताएका छन् । वामदेव गृहमन्त्री बनेको केही महिनामै प्रहरी महानिरीक्षकबाट हटाइएका खरेलले विहीबार अनलाइनखबरसँग कुरा गर्दै भने-’मेरो मुद्दामा अदालतले १७ महिनापछि स्पष्टै भनिसकेको छ, वामदेवले गरेको निर्णय बदनियपूर्ण थियो ।’ वामदेव गौतम र खुमबहादुर खड्काका पालामा समेत प्रहरी प्रमुखको भूमिका निभाएका खरेलले विगतको स्मरण गर्दै भने-’त्यतिबेलाका गृहमन्त्री खुमबहादुर खड्कासँग मेरो बोलचालै भएन । उनले जे गर् भने, त्यो गरिँन । कानूनी ढंगले अह्राएको काम गर्नेपर्छ, तर गैरकानूनी ढंगले अह्राएको काम किन गर्ने ? यसले गर्दा गृहमन्त्री र आइजीको बोलचालै बन्द भयो ।’
गृहमन्त्री गौतम र प्रहरी प्रमुख अर्यालको नाता तत्कालीन प्रहरी प्रमुख अच्युतकृष्ण खरेल र गृहमन्त्री वामदेव गौतमवीच झगडा परेका बेला खरेलका स्वकीय सचिव थिए उपेन्द्रकान्त अर्याल । अहिले प्रहरी महानिरीक्षक रहेका अर्याल त्यतिबेला डीएसपी थिए । संयोग कस्तो परेको छ भने त्यसबेला खरेलसँगै सताइएका वर्तमान आइजी अर्यालले यतिबेला आफ्नो विभागको प्रमुखमा उनै वामदेवलाई सलाम ठोक्नुपर्ने भएको छ । तर, यसले खासै फरक नपार्ने खरेलको टिप्पणी छ, -’यसले केही फरक पार्दैन, ‘अर्याल प्रोफेसनल छन्, उनले कानूनी आदेश पालना गर्छन् । तर, स्वार्थप्रेरित एवं गैरकानूनी काम गराउन खोजियो भने मेरो पालाकोजस्तै इतिहास नदोहोरिएला भन्न सकिन्न ।’ मन्त्रीहरुले प्रहरीलाई बारम्बार कानूनविपरीत आदेश दिएर हैरानी पार्ने गरेको खरेलको अनुभव छ । तर, स्वाभिमानी प्रहरी अफिसरले लगत आदेश नमान्दा नेताले दुख दिने गरेको उनको गुनासो छ । ‘तात्कालीक गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले ११ जना असईको परीक्षा पास गराइदिनुपर्यो भने, मैले मानिँन । त्यसपछि उनी रिसाए ।’ ‘हरेक पुलिस अफिसर एउटा लेभलमा पुगेपछि उसले आफ्नो एउटा छाप छाडेको हुन्छ ।
जस्तै अहिले भनिन्छ नि काठमाडौं प्रहरी प्रमुख रमेश खरेल कसैले भनेको टेर्दैन ।’ पूर्वआइजी खरेलले भने,-’म पनि त्यतिबेला त्यस्तै थिएँ, मन्त्रीले भनेको पनि गैरकानूनी रहेछ भने मान्दैनथें ।अहिले रमेश खरेलले पनि मान्दैन । यसो गर्दा मलाई कतिपयले घमण्डी आइजी पनि भने ।’ खरेलले अनलाइनखबरसँग भने-’देश चलाउनेहरुले के बुझ्न सकेनन् भने देशका विभिन्न संरचनामध्ये प्रहरी पनि हो । प्रहरी सहयोगी पार्टपूर्जा हो । प्रहरी बलियो भए सरकार पनि बलियो हुन्छ । तर, मन्त्री बन्नेहरुले यो कुरालाई कहिल्यै आत्मसाथ गर्नै सकेनन् । हमेशा, अधिकांशले राम्रो र न्यायसंगत काम भन्दा पनि आफ्नो स्वार्थ पूर्ति हुने र गराइदिनसक्ने आज्ञाकारी व्यक्तिको खोजी गरे ।’ तर, देशमा राम्रो छवि बनाएको प्रहरी अफिसरले नेताका सबैखाले आदेशको पालना गरिरहन जरुरी नभएको खरेलले बताए । ‘विधिसम्मत छैन भने मन्त्रीको आदेश नटेरे हुन्छ । कानूनी आदेशमात्रै पालना गर्नुपर्छ, प्रहरीले गैरकानूनी आदेश पालना गर्नुपर्छ भन्ने छैन, खरेल भन्छन्, ‘तर, यसो गर्दा मन्त्रीले पदबाट हटाइदिन पनि सक्छन् ।’
####
0 comments
Write Down Your Comment