दैनिक २ अर्बको आयात, २५ करोडको निर्यात
###

 ६ फागुन, काठमाडौं । नेपालमा विभिन्न देशहरुबाट दैनिक एक अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु आयात भइरहेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको तथ्याङ्कले सो परिणाममा वस्तुहरु आयात भइरहेको देखाएको हो । निर्यात भने अत्यन्त चिन्ताजनक अवस्थामा रहेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको तथ्याङ्कअनुसार नेपालबाट दैनिक २४ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भइरहेको छ ।

 जुन आयातको तुलनामा झण्डै ८ गुणाले कम हो । निर्यातको तुलनामा आयात उच्च दरले वृद्धि भएपछि कुल वस्तु व्यापार घाटा २४.४ प्रतिशतले वृद्धि भई २ खर्ब ८८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको व्यापार घाटा २६ प्रतिशतले बढेको छ भने अन्य मुलुकसँगको घाटा १९.९ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालबाट ४५ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारत लगायत विभिन्न मुलुकबाट नेपालमा ३ खर्ब ३३ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्याङ्कले देखाएको छ ।

 पुस मसान्तसम्म आयात २३.१ प्रतिशतले छ भने निर्यात १५ प्रतिशतले मात्र बढेको छ । निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च भएपछि निर्यात-आयात अनुपात समीक्षा अवधिमा १३.५ प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात १४.५ प्रतिशत रहेको थियो । 
####

0 comments

Write Down Your Comment