गृहको विवादले शपथ रोकियो, शपथ नलिँदै भारतको निम्तो
###

२८ माघ, काठमाडौं । व्यवस्थापिका संसद्बाट दुई तिहाइभन्दा बढी मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएका कांग्रेस संसदीय दलका नेता सुशील कोइराला गृह मन्त्रालय कसले पाउने भन्ने विवादका कारण सोमबार शपथ ग्रहण गर्नबाट वञ्चित भए । सत्ता साझेदार दल एमालेसँगको सैद्धान्तिक सहमतिपछि उसैको समर्थनमा दुई तिहाइ मत पाएर प्रधानमन्त्री निर्वाचित कोइरालालाई सोमबार साँझै राष्ट्रपति कार्यालयले पद तथा गोपनीयताको शपथ गराउने योजना बनाएको थियो । राष्ट्रपति डा. रामवरण यादवले पनि नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई सोमबारै शपथ गराउने इच्छा व्यक्त गरेको शीतलनिवास स्रोतले बतायो । तर, एमालेसँग भएको भद्र सहमतिविपरीत गृह मन्त्रालय सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीकै दलले पाउनुपर्छ भनेर कांग्रेसकै पदाधिकारीले चर्को दबाब दिएपछि कोइरालाको तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने योजना विफल भएको कांग्रेस उच्च स्रोतले बतायो ।


राष्ट्रपति यादवले मंगलबार दिउँसो २ बजे शीतलनिवासमा नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई पद तथा गोपनीयताको शपथ गराउने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । कोइरालालाई सोमबार नै शपथको व्यवस्था गर्न ढिलाइ हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै व्यवस्थापिका संसद्को बैठकमा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने र उनलाई बधाई तथा शुभकामना दिन दलका नेताहरूले आग्रह गरे पनि सभामुख सूर्यबहादुर थापाले २ फागुनमा बस्ने संसद् बैठकमा दिने गरी समय दिएनन् । कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा भएलगत्तै कांग्रेस र एमालेबाट एक÷एक सदस्य समावेश गरी मन्त्रिमण्डल गठन गर्ने योजना कोइरालाको थियो ।

एमालेले उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधान तथा गृहमन्त्रीका रूपमा पार्टीको नेतृत्व गर्दै सरकारमा पठाउने निर्णय गरेको थियो । तर, कोइरालाले पार्टी पदाधिकारीको दबाबबमोजिम गृहबाहेकका मन्त्रालय बाँडफाँटको विषयमा सहमति खोज्न एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओलीसमक्ष आग्रह गरेपछि दुईदलीय वार्ता असफल भएको राजधानी दैनिकमा खबर छ । नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई गृह मन्त्रालय कुनै पनि हालतमा कांग्रेसको हातबाट एमालेको पोल्टामा पर्न दिनुहुन्न भन्ने दबाब उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहलगायतले संसद् भवनमै दिएको एक नेताले बताए । शपथ नलिँदै भारतको निम्तो नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय समकक्षी मनमोहन सिंहले बधाई दिएका छन् ।
व्यवस्थापिका संसदबाट सोमबार कोइराला प्रधानमन्त्री चयन भएलगत्तै भारतीय प्रधानमन्त्री सिंहले कोइरालालाई टेलिफोनबाट बधाई दिँदै कार्यकाल सफलताको शुधकामना दिएका थिए । सिंहले भारतीय जनता र आफ्नो तर्फबाट प्रधानमन्त्री कोइरालालाई लिखित बधाई सन्देशसमते पठाएको कोइरालाको निजी सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री पदमा तपाईको विजय राजनीतिक संक्रमणमा रहेको नेपालको हालै हाशिल गरेका प्रजातान्त्रिक उपलब्धीलाई संस्थागत र एकीकृत गर्न थप महत्वपूर्ण कोशेढुंगा हुनेछ,’ कोइरालालाई पठाएको शुभकामना सन्देशमा लेखिएको स्वकीय सचिव लक्ष्मण ढकालले बताए । सिंहले कोइरालालाई भारत भ्रमणको निमन्त्रणा समेत दिएका छन् । भारतीय राजदूत रन्जित रेले प्रधानमन्त्री सिंहको बधाई सन्देश कोइरालालाई भेटेर दिएको नागरिक दैनिकमा खबर छ ।
####

0 comments

Write Down Your Comment