###
|
बाहिरै बसे प्रचण्ड, भित्र बसे पुष्पकमल दाहाल'
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सभासद गगन थापाले एमाओवादी अध्यक्ष प्रचण्डलाई संविधानसभा अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । सभामुख र संविधानसभालाई छुट्टा-छुट्टै बनाएर प्रचण्डलाई संविधानसभाको अध्यक्ष बनाउनुपर्ने थापाको प्रस्ताव छ । कांग्रेस र एमाले मिल्नुपर्छ भन्नुको कारण संविधान निर्माणलाई सहज बनाउनु रहेको भन्दै सभासद थापाले माओवादीलाई पनि संविधान निर्माणको प्रक्रियामा साझेदार बनाएर जानुपर्ने बताए । ‘
संविधान निर्माणलाई सहज बनाउने हो भने एमाओवादीलाई पनि त सँगै जोड्नु पर्यो । त्यो जोड्ने सुत्र भनेको उसलाई यो प्रक्रियाको प्रतिपक्ष होइन, साझेदार बनाउने हो’ थापाले शुक्रबार अनलाइनखबरसँग कुरा गर्दै भने-’एमाओवादीको अध्यक्ष पुष्पकमल दाहाललाई त्यो जिम्मेवारीमा लिएर आऔं । यसले एमाओवादीलाई प्रक्रियाको साझेदार बनाउँछ ।’ प्रचण्डलाई सभाध्यक्ष बनाउँदा संविधान निर्माण प्रक्रियामा अड्काउन सक्ने कतिपयको आशंका छ नि ? भन्ने प्रश्नमा उनको जवाफ छ-’संविधानसभाको आसनमा बसेका प्रचण्डभन्दा त बाहिरै बसेका प्रचण्ड बढी खतरनाक हुन्छन् ।
किनभने अध्यक्षमा बस्दा उनी पुष्पकमल दाहाल हुनुपर्छ, बाहिर बस्दै गर्दा प्रचण्ड हावी हुन्छन्, जुन स्वाभाविक हो ।’ प्रचण्डलाई सभाध्यक्ष बनाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान एक वर्षभित्र जारी गर्ने सभाध्यक्षलाई साधारण बहुमतले हटाउन सक्ने प्रावधान राख्न सकिने उनको धारणा छ । आफ्नो प्रस्तावबारे उनी थप्छन्- ‘यसो गर्दा एमाओवादी र पुष्पकमल दाहालको व्यक्तिगत जीवनका लागि पनि चुनौती भनेको एक वर्ष संविधान बनाउने भन्ने हुन्छ । संविधान बनेन भने त असफताको भारी उहाँले पनि बोक्नुपर्ने हुन्छ ।
’ अघिल्लो संविधानसभामा एमाओवादी ठूलो पार्टी हुँदा कांग्रेसले राष्ट्रपति नभए सभामुख मागेको स्मरण गराउँदै कांग्रेस केन्द्रीय सदस्य थापाले भने- ‘हामीले निर्वाचनमा हारेर पनि हामीलाई भूमिका चाहिन्छ भन्यौं, हिजो उसले त्यसो गरेन । आज हामी माओवादीको ठाउँमा पुगेका छौं र उसले हिजो कांग्रेसलाई ठाउँ दिएन भन्दैमा आज हामीले पनि त्यसै गर्ने हो भने परिणाम विगतकै जस्तो आउनेछ ।’ आफ्नो प्रस्ताव कांग्रेस-एमाले र एमाओवादी दुबै पक्षका लागि ‘विन-विन’ आधारमा सहमति हुने उनको दावी छ । ‘ यो प्रस्ताव कांग्रेस-एमालेलाई किन ‘विन-विन’ हो भने कांग्रेस र एमालेले आज जनताबाट ठूलो अभिमत पाएका छन् । हिजो माओवादीले ठाउँ नदिँदा यस्तो भो ।
हामीले ठाउँ दिएर गयौं र संविधान बन्यो भने कांग्रेस एमालेले जित्छन्’ सभासद गगन भन्छन्-’माओवादीलाई किन ‘विन-विन’ हो भने प्रचण्डले भनिरहनुभएको मेरो रोल के ? उहाँले भूमिका पाउनुहुनेछ ।’ प्राप्त जानकारी अनुसार कांग्रेस नेता थापाले प्रचण्डलाई संविधानसभा अध्यक्ष बनाउनुपर्ने प्रस्ताव आफ्नो पार्टीको केन्द्रीय समिति बैठकमा समेत राखिसकेका छन् । आफ्ना प्रस्तावमा समर्थन गर्नेहरुको संज्ञा बढिरहेको थापाको दाबी छ ।
####
.jpg)





0 comments
Write Down Your Comment