###
|
पोखरा, चैत्र १२ - उपचार खर्च नभएर संकटमा परेका मृगौलापीडितलाई १ लाख ५८ हजार ६३ रुपैयाँ सहयोग प्राप्त भएको छ । दुवै मृगौला खराब भएका २७ वर्षीय कमल गुरुङलाई मंगलबार उक्त रकम प्रदान गरिएको हो ।
गुरुङको मृगौला प्रत्यारोपणका लागि यूएसएकी सीता गुरुङको पहलमा संकलित १ लाख १४ हजार, साउदीका विराज गुरुङको अग्रसरतामा २६ हजार र इजरायलकी पदमा लाम्घादेको ११ हजार रुपैयाँ प्राप्त भइसकेको छ ।
कञ्चनजंगा बोर्डिङ स्कुलकी संस्थापक मनु गुरुङ, रेखा गुरुङ र नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारीले पीडित कमलको मालेपाटनस्थित डेरामै पुगेर चेक हस्तान्तरण गरेका थिए । कमलकी दिदी ज्ञानमायाले आफ्नै मृगौला दिएर भाइलाई बचाउँछु भने पनि खर्च अभावमा उपचार गर्न नसकिएको समाचार छापिएपछि सहयोग जुट्न थालेको हो । मृगौला फेर्न करिब सात लाख रुपैयाँ प्राप्त भइसकेको कमलले बताए । 'दिदी आफन्तको किरियाकर्मका लागि गाउँमा जानुभएको छ,' रकम जुटेकामा खुसी हुँदै उनले भने, 'फर्केर आएपछि उपचारमा जान्छौं ।'
साउदी अरबमा तीन वर्ष काम गर्दा अस्वस्थ भई फर्केका उनको परीक्षणका क्रममा दुवै मृगौला बिगि्रएको पत्ता लागेको थियो । अहिले उनले मणिपाल शिक्षण अस्पताल पोखरामा साताको दुईपटक 'हेमोडाइलोसिस' गराइरहेका छन् ।
नर्वेमा रहेकी लक्ष्मी गुरुङको अगुवाइमा संकलित ५ लाख १४ हजार ५२ रुपैयाँ हालै कमललाई हस्तान्तरण गरिएको थियो । गोर्खा घ्याल्चोक २ तेर्सोबाट आएर पोखरा ५ मालेपाटनमा दिदीका घरमा बस्दै आएका उनले सबै दाताहरूप्रति आभार प्रकट गरेका छन् ।
बलात्कृतलाई थप सहयोग
गुल्मी
बलात्कृत १० वर्षीया बालिकाको उपचार र संरक्षणका लागि थप सहयोग जुटेको छ । उनका लागि काठमाडौंको रञ्जना इन्भेस्टमेन्ट कम्पनी प्रालिले २० हजार ८ सय र इन्द्रचोकका समाजसेवी स्नेहालता माडवालीले १० हजार ८ सय रुपैयाँ उपलब्ध गराएका हुन् । बाबु आमा दुवैले छोडेर आफन्तको संरक्षणमा रहेकी बालिका बलात्कृत भएको समाचारले आफूहरू दुःखी भई उनको उपचार, परामर्श, संरक्षण र अध्ययनमा सघाएको कम्पनीका विकास अग्रवालले बताए । खड्गकोट २ का २९ वर्षीय जीवन दमाईबाट सुतेका बेलामा बलात्कृत भएकी बालिकाको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment