बेलायती प्रधानमन्त्रीले भने- गोरखा सैनिकप्रति ऋणी छौं
###

 २३ फागुन, काठमाडौं । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायती सरकार गोरखा सैनिकहरुप्रति ऋणी रहेको बताएका छन् । प्रधानमन्त्री सुशील कोइरालालाई लेखेको पत्रमा बेलायती प्रधानमन्त्री क्यामरुनले गोरखा सैनिकको योगदानको खुलेर प्रशंसा गरेका हुन् । नेपालका लागि बेलायती राजदूत एण्ड्रयू जेम्स् स्पार्कले शुक्रबार बालुवाटार पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको क्यामरुनको पत्रमा गोरखा सैनिकको योगदानको प्रशंसा गरिएको हो । भेटमा राजदूत स्पार्कले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पठाएको बधाइ तथा शुभकामना सन्देश कोइरालालाई हस्तान्तरण गरेका थिए । बेलायती प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई लेखेको पत्रमा नेपाल र बेलायतको कुटनीतिक सम्बन्ध करीब २ सय बर्ष पुग्न लागेको र पहिलो विश्वयुद्ध आरम्भ भएको शताब्दी पुग्न लागेको अवसरका स्मरण गर्दै नेपाली गोर्खा सैनिकले विश्वमा स्वतन्त्रताको रक्षाको लागि गरेको बलिदानलाई बेलायतले बिर्सन नसक्ने र ऋणी रहेको उल्लेख गरिएको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदूत स्पार्कले प्रधानमन्त्री कोइरालालाई कार्यभार सम्हालेकोमा बधाइ ज्ञापन गरेका थिए । भेटवार्तामा दुवै मुुलुकका आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । साथै राजदूत स्पार्कले अन्तराष्ट्रिय विकास मन्त्री एलेन डंकन र बेलायतको हाउस अफ कमन्सका सदस्य जोन मनले पठाएको बधाइ तथा शुभकामना सन्देश पनि हस्तान्तरण गरेका थिए । भेटका क्रममा राजदूत स्पार्कले २ सय बर्ष पुरानो कुटनीतिक सम्बन्धको स्मरण गर्दै आपसी सम्बन्ध अझ सुमधुर बनाउने बताएका छन् । “हामीले तपाईले सरकारको नेतृत्व गरेको समयमा एक बर्षभित्र संविधान निर्माण गरी जारी गर्ने सफलता प्राप्त होस भन्ने शुभकामना पनि दियांै ।” भेटपछि प्रेससँग स्पार्कले भने, “स्थानीय निकायको निर्वाचन गराउने सरकारको प्रतिबद्धताको पनि हामीले सराहना गर्‍यौं ।” भेटवार्तामा प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक र सामाजिक विकासमा बेलायतले निरन्तर दिएको सहयोगको प्रशंसा गर्दै भविष्यमा पनि यस्तो सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।
####

0 comments

Write Down Your Comment