महाकुम्भ मेलालाई ५० लाख दिने सचिव बास्कोटाको आश्वासन
###
|
२२ फागुन, धरान । सुनसरीको धार्मिकस्थल बराह क्षेत्रमा १२ वर्षमा हुन लागेको महाकुभ्म मेलाका लागि नेपाल सरकारले ५० लाखरुपैयाँ विनियजन गर्न लागेको बुझिएको छ । प्रधानामन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटाले महाकुम्भ मेलाका लागि ५० लाख रुपैयाँ छुट्याउने तयारी भइरहेको जानकारी गराएका हुन् । यसैक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटा र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शंकर अधिकारी लगायतका सरकारी पदाधिकारीले विहीबार चतराधामको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री आचार्यले चतरा धाममा तयार गर्नुपर्ने पूर्वाधार निर्माणको काम उच्च प्रथमिकताका साथ सम्पन्न गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका छन् ।
पूर्वाञ्चलको वराहक्षेत्रको चतराधाममा आगामी चैत्र १७ देखि २०७१ वैशाख १९ गतेसम्म आयोजना हुने महाकुम्भ मेलालाई भव्यतापूर्वक सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाको प्रमुख आतिथ्यतामा धरानमा विशेष तयारी बैठकसमेत बसेको छ । बैठकमा सचिव बास्कोटाले धरान-चतरा सडक, पकली-चतरा सडक र झुम्का-चतरा सडकमा रहेका खाल्टा-खुल्टी तुरुन्तै पुर्ने, सडक चौडा गर्ने, पार्किङ्ग स्थल निर्माण गर्ने र कालोपत्रे गर्ने गरी ठेक्का-पट्टा लगाउने प्रक्रियालाई अगाडि वढाउन आग्रह गरेका छन् ।
कार्यक्रममा सडक कार्यालयका डिभिजन इन्जिनियरले कालोपत्रे गर्ने ठेक्काको काम अगाडि बढेको, चतरादेखि बराहक्षेत्रसम्म ग्राभेल गरिने, कोशीको सानो भंगालोमा कजवे बनाइने र तत्कालै सडक चौडा गर्ने तथा झाडी सफा गरी बसपार्क निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । धरानमा सम्पन्न बैठकमा सचिव वास्कोटाले मेला अवधिभर बाँसको अस्थायी पोल राखी रातभरि सार्वजनिक बाटोमा बत्ती बाल्न, लोडसेडिङ्ग नगर्न, ट्रान्समिटरको क्षमता वृद्धि गर्न र ब्याकअपका लागि जगेडामा जेनेटर राख्न निर्देशन दिएका छन् । सो विषयमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिले पोल, तार र ट्रान्सर्फमर जडान गर्ने काम अगाडि बढेको, सडक बत्ती जडान गरिने र वैकल्पिक जेनेरेटरको बन्दोवस्त मिलाइने जानकारी गराए । बैठकमा सचिव बास्कोटाले मेला चैत्र र वैशाखको धुपमा आयोजना गरिने हुँदा पिउने पानीको पर्याप्त व्यवस्था गर्न आग्रह गरे ।
यसका लागि हाल त्यहाँ डेढ इन्चीको वोरिङ्ग चालू अवस्थामा रहेकाले अर्को एउटा बोरिङ्ग थप गर्न, कम्तिमा ५ हजार लिटरका ट्याङ्कीहरु खरिद गरी २० ठाँउमा धारा जडान गर्न, कोशीको पानी तान्न मिल्ने गरी वाटर पम्पको व्यवस्था गर्न र ठाउँ ठाउँमा महिला र पुरुषको छुट्टाछुट्टै पर्याप्त संख्यामा शौचालयको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् । त्यसैगरी सचिव बास्कोटाले मेलाको अवधिमा कम्तिमा ५ ठाँउमा घुम्ती स्वास्थ्य शिविर खडा गर्न, चिकित्सक र स्वास्थ्यकर्मी खटाउन, निशुल्क औषधिको व्यवस्था गर्न, कम्तिमा दुईवटा एम्वुलेन्स स्टायण्डवाई राख्न आग्रह गरे । बास्कोटाले धुनी लगाउन, मञ्च खडा गर्न, पण्डाल निर्माण गर्न र खाना पकाउन चाहिने काठ-दाउराको व्यवस्था गर्नसमेत आग्रह गरे । सो विषयमा सुनसरीका जिल्ला वन अधिकृतले उदयपुर, मोरङ्ग र सुनसरीवाट ६/६ चट्टाका दरले दाउरा उपलब्ध गराइने बताउँदै केही दाउरा चतरा क्षेत्रमा पुर्याइसकेको विवरण प्रस्तुत गरे । नेपाल टेलिकमले टावर निर्माणको कार्य सम्पन्न गरी सञ्चालनमा ल्याएकोमा सचिव बास्कोटाले खुसी व्यक्त गरे । छलफलका क्रममा नेपाल टेलिकमका प्रतिनिधिले इन्टरनेट सुविधा सहितको सिमकार्ड विक्री कक्ष खडा गर्ने र चतरा क्षेत्रमा फ्रि वाईफाई छोड्ने गरी तयारी भइरहेको जानकारी दिए । बैठकमा सचिव वास्कोटाले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मेला अवधिभर सुपथ मूल्यको पसल संचालनमा ल्याउन आग्रह गरिएको बताए ।
बैठकमा पूर्वाञ्चल क्षेत्रीय प्रशासक शंकर अधिकारीले सुरक्षाको चुस्त र दुरुस्त व्यवस्था गरिने कुरा बताए । अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका एक हजार प्रहरी खटाइने बताए । कार्यक्रममा नेपाल प्रहरीका तर्फवाट विस्तृत सुरक्षा योजनासमेत प्रस्तुत गरिएको थियो । सचिव बास्कोटाले १२ वर्षमा हुन लागेको यस पूर्ण महाकुभ्भ मेलाको व्यापक प्रचार प्रसार गर्नुपर्ने बताए । साथै उनले नेपाल पर्यटन वोर्डबाट आवश्यक समन्वय भैरहेको जानकारी दिँदै स्थानीयरुपमा पनि पहल गर्न आग्रह गरे । सचिव बास्कोटाले यस महाकुम्भ मेलालाई सफलतापूर्वक सञ्चालन गर्न नेपाल सरकारले आयोजकलाई रु. ५० लाख उपलब्ध गराउने र पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता जनाएकाले सरकारी निकायबाट गरिनुपर्ने काममा कुनै कमी हुन नदिने बताए । बास्कोटाले आम नेपाली, उद्योगी, व्यापारी, सामाजिक संघ संस्था सबैलाई आ-आˆनो गच्छे र क्षमता अनुसार आर्थिक र भौतिक सहयोग गर्न आव्हान गरेका छन् ।
छलफल कार्यक्रममा सचिव वास्कोटाले विराटनगर, धरान, इटहरी र इनर्वा नगरपालिका तथा मोरङ्ग र सुनसरी जिविसले दैनिक सफाइको व्यवस्था गर्न आग्रह गरे । साथै उनले बराहक्षेत्रमा मेला अवधिभर एउटा दमकल स्टाण्डवाई राख्न पनि आग्रह गरे । साथै यात्रुहरुलाई दिशानिर्देश गर्न लेआउट म्याप निर्माण गरी ठाउँ ठाउँमा होडिङ्ग वोर्ड राख्न र समाजका सबै वर्ग र क्षेत्रलाई मेलाको सफलताका लागि परिचालन गर्न सचिव वास्कोटाले अपील गरेका छन् । छलफल कार्यक्रम क्षेत्रीय प्रशासकको सभापतित्वमा सम्पन्न भएको थियो । छलफल पछि आयोजकका तर्फवाट नारायण नेपालले अब भने कुम्भ मेला पूर्ण रुपमा सफल हुनेमा आफू ढुक्क भएको बताए । साथै मेला आयोजकका तर्फबाट मोदराज डोटेलले पनि नेपाल सरकार र सम्पर्क पदाधिकारीहरु कामको उच्च सह्राना गरे । यस पूर्ण महाकुम्भ मेलालाई आवश्यक समन्वय गर्न सचिव बास्कोटा केन्द्रमा र क्षेत्रीय प्रशासक स्थानीयस्तरको सरकारी सम्पर्क बिन्दू तोकिएका छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment