‘बूढाहरु मन्त्री बने, युवालाई संविधान बनाउन देऊ’
###

 १८ फागुन, काठमाडौं । प्रौढहरु नेताहरु मन्त्री बनेको भन्दै नेपाली काँग्रेसभित्र युवा सभासदलाई संविधान निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी दिनुपर्ने आवाज उठ्न थालेको छ । संसद र संविधानसभामा पार्टीको भूमिकालाई बलियो बनाउनकै लागि भए पनि आफूहरुलाई सचेतक र विभिन्न समितिको सभापति बनाउनुपर्ने युवा नेताले माग गर्न थालेका छन् । कांग्रेसका युवा नेता गगन थापा संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख सचेतक तथा सचेतकको जिम्मेवारी नयाँ पुस्तालाई दिनुपर्ने वताउँछन् । अनलाइनखबरसँग कुराकानी गर्दै थापाले भने,’सबै ठाउँमा पुरानै नेतालाई जिम्मेवारी दिने हो भने नयाँले कहिले काम गर्न पाउने ? नयाँलाई पनि अनुभव लिन र भूमिका निर्वाह गर्न प्रमुख सचेतक, सचेतकको जिम्मेवारी दिइनुपर्छ ।’ सभासद थापाले पुरानै नेतालाई सबै ठाउँमा दोहोर्‍याएर युवा तथा नयाँ सभासदहरुलाई भूमिकाविहीन बनाउन नहुने बताए । उनले भने, ‘सभापति कोइरालाले अनुभवीलाई मात्रै सरकारमा लाने भनेर युवा सभासदलाई सरकारमा सहभागी गराउनु भएन् । तर, नयाँलाई काम गर्ने अवसर कसरी दिनुहुन्छ ?

 हामीलाई उहाँले विश्वास दिलाउनु पर्छ ।’ थापाले नयाँ तथा संविधान निर्माणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नेलाई जिम्मेवारी नदिने परम्परा रहेको भन्दै त्यसलाई तोड्नुपर्ने बताए । उनले भने, ‘वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले युवास्थामा सुशील कोइरालालाई काम गर्ने मौका दिनुभएकै हो । उहाँले नदिएको भए अहिले उहाँ यस्तो अवस्थामा पुग्नु हुँदैनथ्यो । त्यसैले युवा सभासदहरुलाई उहाँले भूमिका दिनैपर्छ ।’ सभासद थापाले नयाँ पुस्तालाई भूमिकै नदिने परम्परालाई सभापति कोइरालाले तोड्नुपर्ने बताए । उनले भने, ‘अघिल्लो संविधानसभामा कांग्रेसका ३६ जनाले मात्रै प्रत्यक्ष चुनाव जितेर आएका थिए । तीमध्ये मुख्य नेताहरु मन्त्री भएर गए । अब संविधान निर्माणको सन्दर्भमा पार्टीको तर्फवाट भूमिका दिन प्रमुख सचेतक, सचेतक तथा संविधानसभामा गठन हुने समितिहरुमा नयाँ तथा युवा सभासदलाई मौका दिनुपर्छ ।’ थापा भन्छन्, ‘मन्त्री बनाउन नसकेकालाई कुनै समितिको सभापतिको जिम्मेवारी दिने चलन पार्टीभित्र रहँदै आएको छ । सुविधाका लागि भए पनि मन्त्रीमा नअटाएकालाई जिम्मेवारी दिइन्छ । तर, त्यो गलत हो । अब नयाँलाई जिम्मेवारी दिनुपर्छ ।’
####

0 comments

Write Down Your Comment