ओलीले भने-डेढ महिना दिल्ली बसेर फर्किएँ, अब राजनीतिले तिब्रता पाउँछ
###

 ३ बैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो जीवनमा अन्तिम जस्ता घडीहरु धेरै पटक आएको बताएका छन् ।
उपचारका लागि डेढ महिना लामो दिल्ली बसाइपछि बुधबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने-’अन्तिम जस्ता घडी धेरै व्यहोरेको छु । अहिले पनि त्यस्तै महसुस भएको थियो । तर, म स्वास्थ्य लाभ गरेर फर्किएको छु । अब यो जीवन जनताको पक्षमा लगाउँछु ।’
डेढ महिना दिल्ली बसेर पूर्ण स्वास्थ लाभ गरेर फर्किएको भन्दै उनले भने-’अब राजनीतिमा केही मतभेद छन् । केही कृतिम मतभेद छन् । यसले गर्दा राजनीतिले तिब्रता लिन सकेन । तर, अब तिब्रता पाउँछ । संसदीय दल पनि सक्रिय हुन्छ ।’

छालामा किटाणुले असर पुर्‍याउँदा पत्ता लगाउन गाह्रो भएको भन्दै उनले डा. अनन्तकुमारको टोलीले सफल उपचार गरेको भन्दै धन्यवाद दिए । दिल्ली बसाइका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले पटक पटक फोन गरेर स्वास्थ्यबारे जानकारी लिएको र उपप्रधानमन्त्री भेट्न दिल्ली पुगेको भन्दै उनले धेरैले स्वास्थ्य लाभको कामना र माया गरेको भन्दै धन्यवाद दिए ।
उनले अस्पतालको बेडमा हुँदा पनि आफूले नेपालको राजनीतिबारे अपडेट भएको तर, नेपालमा हुँदा जस्तो सूचना नपाएको सुनाए ।

ओली उपचारका लागि फागुन १८ मा दिल्ली प्रस्थान गरेका थिए । दिल्लीको म्याक्स अस्पतालमा उपचारपछि पनि उनी चिकित्सकहरुको सल्लाह अनुसार दिल्लीमा नै आराम गरेर बसेका थिए । जहाँ उनलाई भेेट्न एमाले अधिकांश शीर्ष नेता पुगेका थिए ।
द्वन्द्वको सिरानी हालेर भएका घटनालाई ख्याल गनुपछ
एमाले संसदीय दलका नेता ओलीले फुजेल काण्डसहितका द्वन्द्वकालका घटनामा निकै संयमित भएर जवाफ दिएका छन् ।
उनले लामो समयसम्म भएको अप्रिय हिंसाको व्यवस्थापन गर्दा द्वन्द्वको पृष्ठभूमि हेर्नु पर्ने बताए । द्वन्द्वकालीन घटनालाई ठूलो रुपमा लिन नहुने र सर्वसाधारणले न्यायको अनुभूति गर्नु पर्ने भन्दै उनले भने-’द्वन्द्वका घटनामा शान्ति सम्झौता अनुसार हुनुपर्छ । तर, द्वन्द्वको सिरानी हालेर भएका घटनालाई ख्याल गनुपर्छ ।’

एमाले नेता ओलीले पार्टीको नवौं महाधिवेशन पूर्व निर्धारित समयमै हुने बताए । केही मान्छेलाई महाधिवेशन हुँदैन कि भन्ने लागे होला । महाधिवेशन जेठ २४ मै हुन्छ र पार्टी एकतावद्ध हुन्छ ।’ उनले संविधान बनेपछि मात्र स्थानीय चुनाव गर्दा हुने बताए ।
ओलीले सञ्चारकर्मीहरुसँग कुरा गरिरहँदा सँगै रहेका उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतमले भो अब धेरै नबोल्नुस् भन्दै रोकेका थिए । ओलीलाई स्वागत गर्न विमानस्थलमा एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालबाहेक अधिकांश नेता र सभासद पुगेका थिए ।
####

0 comments

Write Down Your Comment