नक्कली राहदानीः हरेक बर्ष दोब्बर पक्राउ
###

काठमाडौं- नक्कली हस्त-लिखित नेपाली राहदानी (नन्-एमआरपी) फेला पर्ने क्रम प्रत्येक बर्ष सतप्रतिशतले वृद्धी भइरहेको छ। नागरिकन्युजले अध्यागमन विभागबाट फेला पारेको आंकडा अनुसार नन-मेिसन रिडेबल पासपोर्ट (हस्त-लिखित राहदानी) भिसाको संख्या सन् २०१२ मा ४८५ थियो भने २०१३ मा ८७३ फेला परेको छ। प्रायः अरब मुलुकबाट रोजगारी सकेर फर्कने यस्तो नक्कली राहदानीसहित फेला परेका छन्।
"प्रायः विदेशबाट रोजगारी सकेर नेपाल फर्कने क्रममा पक्राउ पर्ने गरेका छन्," अध्यागमन विभागका प्रवन्ध निर्देशक शरदचन्द्र पौडेलले भने। त्रिभुवन विमानस्थलमा रहेको उपकरणले यस्ता नक्कली पासपोर्ट सजिलै पत्ता लगाउने उनले बताए। सक्कली पासपोर्टबाट फोटो झिकेर अन्य नेपाली वा भारतीय नागरिकको फोटो टाँस्ने गरेको विभागले पत्ता लगाएको छ। "सुरुको अनुसन्धानमा प्रायः फोटो फेरिएको भेटिएका छन्", पौडेलले भने,

"फोटोबाहेक कसैले जागीरका लागि जन्ममिती र पेशा पनि बदल्ने गरेका छन्।" नेपालीहरूले विदेशमा रोजगार प्राप्त गर्नका लागि आफ्नो उमेर थपघट गर्ने गरेको पनि अधिकारीहरू बताउँछन्। आवश्यकता अनुसार उमेर थपघट गर्दा रोजगार पाइने सम्भावना बढ्ने  गर्दछ।

सन् २०१३ को सेप्टेम्बरमा मात्रै १५४ नक्कली राहदानी फेला परेको थियो भने डिसेम्बरमा ३७ मात्रै फेला परेको अभिलेखमा उल्लेख छ। "सबैभन्दा बढी सेप्टेम्बरमा फेला परेको छ किनभने त्यसबेला दशैंमा घर फर्कने बढी हुन्छन्," विभागका कानुन शाखाका एक अधिकारीले नागरिकन्युजलाई भने।

सोही बर्ष नक्कली भ्रमण-कागजातसाथ फेला पर्नेमा नेपाली र भारतीय नागरिकबाहेक ८ इरानी, ४ नाइजेरीयाली, ४ बंगलादेशी र १ गिनी थिए। अध्यागमन विभागले १,५१४ नक्कली राहदानीमा संलग्नको अनुसन्धान गरेको थियो जसमा फिर्ता पठाइएका र नेपाल छिर्न निषेध गरिएका विदेशी नागरिकसमेत छन्।
विभागले सन् २०११ मा नेपाली र भारतीय नागरिकबाट १३८ नक्कली नन्-मेसिन रिडेबल राहदानी जफत गरेको थियो। त्यो संख्या सन् २०१० मा ४८ मात्रै थियो।

यस्तो नक्कली राहदानीको विगविगी हुनुमा नेपाल-भारतको खुला सिमाना पनि मुख्य कारणमध्ये रहेको अध्यागमन विभागका अधिकारीहरुको ठहर छ।
"यस्तो नक्कली राहदानीको प्रयोग गरेर नेपालबाट बाहिरिने सम्भावना नरहेकोले उनीहरू भारतको दिल्ली हुँदै समुन्द्रपार जाने गर्छन् र नेपाल फर्कंदा पक्राउ पर्छन्," कानुन शाखाका रामेश्वर खनाल भन्छन्। पूर्णरूपमा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) चल्न थालेपछि भने नक्कली हस्त-लिखित राहदानी हराउने खनालको दावी छ।
"एमआरपी मात्रै चल्न थालेपछि यस्तो नक्कली पासपोर्ट स्वाँट्टै घट्छ", उनी भन्छन्, "तर एमआरपीकै नक्कल गर्ने सम्भावना पनि छ।"



####

0 comments

Write Down Your Comment