माइक्रोबस दुर्घटना कम गर्न ट्राफिक प्रहरीको विशेष अभियान (भिडियोसहित)
###

 काठमाडौं, चैत्र २१ । ट्राफिक प्रहरीले चालकको लापरबाहीका कारण राजधानीमा हुने माइक्रोबस दुर्घटना कम गर्न विशेष अभियान थाल्ने जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र उपत्यकामा सञ्चालित माइक्रोबस व्यवसायीका प्रतिनिधिहरुबीच आज भएको छलफलमा दुर्घटना न्यूनीकरणका लागि अभियान चलाउने सहमति भएको हो ।

अभियान अन्तर्गत माइक्रोबसका चालक र सहचालकका लागि सचेतना कार्यक्रम र ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने योजना अघि सारिएको छ ।

यस्तै, धेरै पटक दुर्घटना गराउने चालकको बारेमा अभिलेख राख्ने र उनीहरुलाई कडा कारबाही गर्ने प्रहरीको तयारी छ । अभियान अन्तर्गत असल माइक्रोबस चालक र उत्कृष्ट माइक्रोबस समितिलाई पुरस्कार दिइने महाशाखाका प्रमुख डिआइजी केशवप्रसाद अधिकारीले जानकारी दिए ।

ट्राफिक प्रहरीले व्यवसायीहरुसँग मिलेर संयुक्त रुपमा राजधानीमा सञ्चालित माइक्रोबसको अनुगमन गर्ने योजना पनि अघि सारेको छ । माइक्रोबस व्यवसायीहरुले पनि आ–आफ्नो समिति अन्तर्गत सञ्चालित माइक्रोबसहरुबारे अनुगमनका लागि भोलिदेखि नै कर्मचारी खटाउने बताएका छन् ।

पछिल्ला दिनमा राजधानीमा माइक्रोबस दुर्घटना बढेपछि त्यसलाई कम गर्ने उपाय खोजी गर्न प्रहरीले आज माइक्रोबस व्यवसायीसमितिसँग छलफल गरेको हो । छलफलमा कतिपय व्यवसायीहरुले ट्राफिक प्रहरीले आफूहरुलाई अनावश्यक दुःख दिने गरेको भन्दै गुनासो पोखेका थिए ।
 
####

0 comments

Write Down Your Comment