निर्विकल्प प्रचण्डको विकल्प को छ ?
###


-गोविन्द आचार्य

गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २००८ मा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओलाई वेइजिङमा भेट्दाको तस्वीर संचार माध्यमबाट सार्वजनिक भएपछि नेपालस्थित केही देशका राजदूतहरुबीच चर्चा भएछ- ‘देश गरिव भए पनि नेपालले नेता भने साँच्चिकै धेरै उचाइको पाएछ ।’ त्यसवेला धेरै राष्ट्रका राजदूतहरुले कमरेड प्रचण्डलाई दक्षिण एसियाकै ‘डाइनामिक’ नेताको रुपमा चित्रण गरेको कुरा कुटनीतिक वृत्तमा चर्चाको बिषय बनेको थियो ।

नेपालमा शान्ति प्रक्रिया सुरु भएपछिका पछिल्ला सात बर्ष र त्यसभन्दा पहिले झण्डै दुई दशक यता नेपालको राजनीति अध्यक्ष प्रचण्डकै वरिपरि घुमिरहेको छ । चाहे जनगणतन्त्र स्थापनाकालागि संचालन गरिएको महान् जनयुद्धका योजनाकार र सफल कमाण्डरका रुपमा होस्, चाहे गणतन्त्र स्थापनापछि नयाँ नेपाल निर्माण अभियानका प्रमुख नेताका रुपमा होस् अध्यक्ष प्रचण्डले नै सिंगो देशको नेतृत्व गर्दै आउनु भएको छ ।
प्रचण्डको विचारमा दृढता र कार्यनीतिक लचकता, कुशल कार्यक्षमता, गतीशीलता एवम् दूरदर्शीताका कारण नेपालमा २ सय ४० वर्षदेखि शाषन गर्दै आएको सामन्ती राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा सम्भव भयो । उहाँले ०५७ सालमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत् मालेमावादी सिद्धान्तलाई थप विकास गर्ने, जनयुद्ध र जनआन्दोलनको फ्युजन गर्दै अघि बढ्ने कार्यदिशा एवम् अन्तरिम सरकार, संविधानसभा र गणतन्त्रको कार्यनीति नल्याएको भए नेपालमा यति छिटो यसखाले परिवर्तन सम्भव नै थिएन । नेपालको यो परिवर्तन कुनै चानचुने परिवर्तन होइन । नेपालको इतिहासमै आजसम्म भएका परिवर्तन मध्ये गणतन्त्र, संघीयताको घोषणा सबैभन्दा ठूलो अभूतपूर्व परिवर्तन हो । यसैगरी अन्य राजनीतिक शक्ति, राज्य र गैर सरकारी संस्थाले खर्बौ डलर खर्चेर दशकौसम्म ल्याउनसकेको अभूतपूर्व सामाजिक चेतना पनि माओवादी जनयुद्धले एक दशकमै ल्याइदियो । राज्यद्वारा पछाडि पारिएका अल्पसंख्यक, दलित, मधेशी, मुस्लिम, आदिवासी, जनजातिलगायतका समुदायमा राजनीतिक चेतनाको उभार आयो, जुन आन्दोलनको नेतृत्व पनि अध्यक्ष प्रचण्डले गर्नु भयो ।
अध्यक्ष प्रचण्डको नेतृत्वमा परिवर्तनका लागि भीषण आन्दोलन अघि बढिरहँदा यसलाई दमन गर्न माओवादी क्रान्तिकारीहरुलाई आतंककारी घोषणा गर्दै टाउकाको मूल्य तोक्ने र १७ हजार नेपालीको हत्या गर्नेहरुले अहिले पनि अध्यक्ष प्रचण्ड र उहाँले नेतृत्व गरिरहेको पार्टी एकीकृत माओवादीलाई अपराधीका रुपमा चित्रण गरिरहेका छन् । नेपालमा भएको राजनीतिक परिवर्तनलाई नरुचाउने यो तप्काका केही प्रतिनिधिहरुले यही कात्तिक ५ गते राजधानीमा आयोजित एक कार्यक्रममा एनआरएनको व्यानरमुनी बसेर प्रचण्डलाई १७ हजार नेपाली मारेको आरोप लगाए । त्यहाँ अध्यक्ष प्रचण्डले आफू र आफ्नो पार्टीले न्यायका लागि जनयुद्ध लडेको र त्यसक्रममा कुनै अपराध नगरिएको वताउँदै यदि कुनै अपराध भएको ठहर भए त्यसको नैतिक जिम्मा लिन र जस्तोसुकै सजाय भोग्न तयार रहेको भनी दिनुभएको जवाफले उहाँको उचाँईलाई अझै माथि पुर्‍याएको छ भने प्रतिक्रियावादीहरुको मुखुण्डो उतारिएको छ ।PRACHANDA
अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको आन्दोलनका बलमा नेपालमा जे जति राजनीतिक उपलब्धी भएको छ, त्यसलाई नयाँ संविधानमार्फत् संस्थागत गर्ने काम बाँकी नै छ । पहिलो संविधानसभामा दुई तिहाइको अभावमा संविधान बन्न सकेन । यसपटक फेरि संविधानसभा चुनाव हुँदैछ । यो चुनावमा एमाओवादी ‘जसको नीति उसको नेतृत्व, राष्ट्रका नेता अध्यक्ष प्रचण्ड’ भन्ने नाराका साथ मैदानमा होमिएको छ । एमाओवादीले देशलाई अघि बढाउने सही नीति र नेतृत्व अघि सारेकाले आगामी चुनावमा एमाओवादीका पक्षमा पूर्ण बहुमत आउने अवस्था छ । परिवर्तन नरुचाउने पुरानै राज्यसक्तामा हालीमुहाली गरिरहेका यथास्थितिवादी र प्रतिक्रियावादीको सानो झुण्डलाई जनताले एमाओवादी पार्टीको नीति र अध्यक्ष प्रचण्ड मन पराएको रुचेको छैन, रुच्ने कुरा पनि भएन । चीनमा माओले दुस्मनले आलोचना गरेनन् भने आफू विगि्रए की भनेर समीक्षा गर्नुपर्ने कुरा त्यसै गर्नुभएको होइन । नेपालको सन्दर्भमा अध्यक्ष प्रचण्डले यो देशको नेतृत्व सम्हालेमा विगतमा राज्यसत्तावाट हेपिएका, दवाइएका र शोषणको मारमा पारिएका समुदाय राज्यसत्ताको मालिक बन्नेछन् । यसले विगतदेखि राज्यसत्तामा राइदाई गर्ने वर्गको स्वार्थमा ठूलो धक्का लाग्नेछ । त्यसैले समानता र परिवर्तन विरोधीहरु परिवर्तनको यो प्रवाह रोक्नैका लागि अध्यक्ष प्रचण्डको व्यक्तित्व माथि निरन्तर प्रहार गरिरहेका छन, गोयवल्स शैलीमा प्रायोजित प्रचारवाजी गरेर । प्रचण्डको विरोध गर्नका लागि नेपाली मात्रै होइन विदेशी रुपैयाको खोलो नै वगाइएको छ, वुर्जुवा वर्गले चलाएका केही मिडियाहरु पीत पत्रकारितामा उत्रिएका छन् ।
सशस्त्र द्वन्दकाल वा शान्ति प्रक्रिया जटिल अवस्थामा रहेको समय जुनवेला पहिलो निर्वाचन पनि भाडेर माओवादीलाई पुन युद्धमा फर्काउने षडयन्त्र रचिएका थिए, हो त्यसवेला पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा गरिएका भाषणका पुरानो सन्दर्भका भिडियो टेपका केही अंश अहिले सार्वजानिक गरेर एकीकृत माओवादीको राजनीतिक प्रतिबद्धतामाथी भ्रम सृजना गर्ने प्रयत्न भइरहेको छ । यसले के देखाउँछ भने परिवर्तन विरोधी झुण्डको एउटा समूह अझै पनि एकीकृत माओवादी र यसको नेतृत्वलाई कमजोर बनाउने सपनामा छ ।
कतिपय सामन्ती/दलाल वर्गलाई प्रचण्डको नाम सुन्दा टाउको दुख्छ, जुन स्वभाविकै हो तर प्रचण्ड केवल एकीकृत माओवादीको मात्र नभई सिंगै देशको निर्विकल्प नेताकारुपमा स्थापित भइसक्नु भएको छ । यसमा विरोधीहरुको टाउको जतिसुकै दुखे पनि अव केही फरक पर्दैन । किनकी एमाओवादीसँग चुनावमा प्रतिष्पर्धा गरेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेमा न त सही नीति छ, न दूरगामी सोच भएका, देशकै नेतृत्व गर्न सक्ने नेता नै छन् । यसकारण पनि अहिले अध्यक्ष प्रचण्ड देशकै निविकल्प नेताका रुपमा स्थापित हुनुभएको छ, जुन तथ्यलाई स्वयं विरोधीहरुले समेत स्वीकार गरिसकेको अवस्था छ ।
कुशल नेतृत्व भन्ने कुरा सितिमिति पाइँदैंन । यो आन्दोलनले जन्माउने हो । यो कसैको चाहनाले हुने कुरा पनि होइन । देशको आवश्यकता र आन्दोलनको विकासवाट अहिले नेपालले प्रचण्डलाई पाएको छ । झण्डै चार दशक लामो आन्दोलनवाट खारिएका प्रचण्ड जस्ता राजनेता पाउनु हामी सबै नेपालीका लागि गर्वको कुरा हो । अव कम्तिमा आगामी दुई दशकका लागि यो देशलाई प्रचण्डको नेतृत्व आवश्यक छ । अहिले हामी सबैले देखिरहेका छौं एमाओवादीका प्रतिष्पर्धी दलका शीर्ष नेतामा देशलाई अगाडी बढाउने कुनै नयाँ नीति, कार्यक्रम र दृष्टिकोण नै छैन । उनीहरु खाली एमाओवादी पार्टी र यसका प्रमुख नेता प्रचण्ड, वावुरामको आलोचना गरेर कुरा सुरु गर्छन् अनि आलोचना गरेरै कुरा टुंग्याउछन् । प्रतिष्पर्धी दलका शीर्ष नेताका काम एकीकृत माओवादीको इश्र्या, डाहा र आलोचना मात्र भएको छ, अहिले त । उनीहरुसँग आफ्नो मौलिक कुरा भन्ने नै छैन । कांग्रेस-एमालेका शीर्ष नेताको निरीह र लाचारीका कारण उनीहरुको नुन खानेहरु प्रचण्डलाई गाली गरेर वा प्रचण्डको कद घटाएर आफ्ना फुच्चे नेतालाई अग्लो देखाउन कोशिष गरिरहेको देखिन्छ । तर कमिलाको सरापले हात्तिलाई कुनै फरक नपारे झैं प्रचण्ड विरोधीका गाली गलौज र आलोचनाको कुनै वास्ता नगरी नयाँ नेपाल निर्माणको अभियानमा लागिरहनु भएको छ । प्रचण्डसँग अन्यदल कति त्रसित छन भने, विघठित संविधानसभामा शासकीय स्वरुपको बहस हँुदा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा गइयो भने प्रचण्डसँग प्रतिष्पर्धा गर्नसक्र्ने व्यक्ति आफ्नो पार्टीमा नभएकाले त्यस्ता शासकीय स्वरुप स्वीकार्न नसकिने भनेर कांग्रेस एमालेका नेताले औपचारिक रुपमै बोलेका थिए । यसले पनि उनीहरुको वास्तविकता स्पष्ट हुन्छ ।
नेपाली राजनीतिको अहिलेको वास्तविकता भनेको अध्यक्ष प्रचण्डको अनिवार्यता हो । अखबारमा लेख लेख्ने बुद्धिजीवी, सेमिनारमा प्रवचन दिने पण्डित, देशको भविष्यको चिन्ता गर्ने युवा, दुखः सुखः जीवनयापन गरेका गाउँले किशसानदेखि बजारका चियाँ पसल र गाउका चौतारीमा भेट भएका सबैले कुरा गर्ने व्यक्ति भनेको प्रचण्ड नै हो । तथ्य यो पनि हो कि उपयुक्त ठाउँमा केवल प्रशंसा मात्र हुँदैन, प्रचण्डको आलोचना पनि हुने गरेको छ । देशमा बेथिति बढ्नुमा प्रचण्डको भूमिकाको बिषयमा समेत कतिपयले आरोप लगाउछन, तर आलोचना गर्ने समूह नै विश्वस्त छ देश बनाउने सामथ्र्थ पनि प्रचण्डसँग मात्र छ । अर्थात आलोचना भएपनि प्रचण्डसँग जनताका अत्यन्त धेरै अपेक्षा छन, ती पुरा नहुँदा जनतामा चिन्ता देखिएका छन् । अध्यक्ष प्रचण्डले जनता, शुभचिन्तक र आफ्ना विरोधीहरु समेतवाट आउने सकारात्मक आलोचनाहरुलाई सधै स्वागत गर्ने र गल्ती सच्चाउँदै अघि बढ्ने गर्दै आउनु भएको छ । यसखालको गतिशीलता नेपालका कुनै नेतामा देखिँदैंन । एमाओवादी वाहेक अन्य दलका कार्यकर्तासमेत आफ्नै नेताप्रति विश्वस्त छैनन, जति प्रचण्डसँग छन् । एकपटक कांग्रेसका युवा नेता गगन थापाले भनेका थिए-’हाम्रो पार्टीको भूमिका प्रचण्डले दिएको होमवर्क गर्नुमै सीमित रहेको छ ।’
अध्यक्ष प्रचण्डमा एक राजनेतामा आवश्यक सबै गुण छन् । उहाँ लचक हुने ठाउँमा लचक हुन पनि जान्नुभएको छ र कठोर हुनुपर्ने ठाउँमा कठोर । कहिलेकाँही त उहाँका समर्थकहरुले आवश्यकताभन्दा बढी लचक वा कठोर भएको टिप्पणी गर्छन् । खासमा एक राजनेतामा हुनुपर्ने यो गुण प्रचण्ड वाहेक अरुमा देखिन्न । आफ्ना विरोधी शक्तिलाई पनि आफ्नो प्रस्तावमा सहमत गराउने क्षमता समकालीन नेतामा प्रचण्ड बाहेक अर्को व्यक्तिमा देखिदैन, चुनाव गराउनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन त्यसैको एउटा नमुना हो । एक बर्ष अघिसम्म प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको कुरा सुन्नपनि नचाहाने काग्रेस एमाले अन्तिममा एमाओवादी प्रस्तावमा लत्रेर आए । त्यसैले त पूर्वसभामुख सुवास नेम्वाङ भन्ने गर्दथे -’नेपाली नेतामा प्रचण्ड फुटबलर मेसी जस्तै हो ।’ देशको विकासका लागि कठोर निर्णय लिन सक्ने भएकाले प्रचण्डलाई नेपालका ‘मोहथिर मोहम्मद’को रुपमा चित्रण गरेको पाइन्छ । अभावग्रस्त मलेसियालाई मोहथिरले सम्पन्न मलेसिया बनाएजस्तै । लामो समयदेखि अध्यक्ष प्रचण्डसँगै पार्टीम्ाा रहेर राजनीतिक कार्यदिशा र कार्यनीति निर्माणमा सहकार्य गरिरहनु भएका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रचण्डलाई लेनिनसँग तुलना गर्ने गर्नुभएको छ । लेनिनको जस्तै गुण र नेतृत्व क्षमता भएकै कारण प्रचण्डले एक्काइशौ शताब्दीको कम्युनिष्ट क्रान्तिलाई मौलिक ढंगले अघि बढाउन सक्नुभएको छ ।
यो कुनै प्रसंशा होइन, यथार्थ हो । पाठकहरु नै भन्नुहोस् चुम्वक जस्तो अरुलाई आकर्षण गर्ने गुण र क्षमता प्रचण्ड बाहेकको अन्य कुन नेतामा छ ? चारदिन पहिले डडेल्धुरा जस्तो जिल्लामा प्रचण्डलाई हेर्न जनसागर नै उर्लियो, त्यति धेरै जनता यसअघि डडेलधुरामा कहिले पनि भेला भएको थिएन । प्रचण्ड डडेलधुरा र कैलाली पुग्दा प्रचण्डले अघि सारेको नीति पन पराएको भन्दै घागडान कांग्रेसी नेताहरु एमाओवादी प्रवेश गरे । अहिले हजारौ राजनीतिक व्यक्ति एमाओवादीमा समाहित भइरहेका छन् । प्रचण्ड नेपालमा एउटै लोकतान्त्रिक कम्युनिष्ट पार्टी बनाउने अभियानमा हुनुहुन्छ । देशभित्रका सच्चा लोकतन्त्रवादी र कम्युनिष्ट क्रान्तिकारीहरु एमाओवादीको झण्डामुनी गोलवन्द भइरहेका छन् । आज यो कुरा आफूलाई व्यावसायिक पत्रकारिता गरिरहेको वताउने मिडिया र त्यसका पत्रकारहरुले किन लेख्दैनन ? एअआरएनको कार्यक्रममा प्रचण्डले बोलेको एउटा शव्दलाई बङ्गाएर कुनैदलको चुनावी प्रोपोगाण्डा गरिरहेका (अदृष्य लगानीमा संचालित) अनलाइनहरुले प्रचण्डलाई हेर्न गाउँ उल्टेर आएको कुरा किन लेख्दैनन र देख्दैनन ? कात्तिक ६ गते किर्तिपुरवाट प्रचण्डले आफू उम्मेदवार रहेको १० नं क्षेत्रको चुनावी अभियानको सुरुआत गर्दा उहाँको समर्थनमा उर्लेको जनसागरलाई किन लेख्दैनन ? यो सवै वर्गीय स्वार्थको कुरो हो । आफूलाई स्वतन्त्र भने पनि मिडियामा पक्षधरता छ र आफ्नो वर्गको पक्ष र विरोधी वर्गको विरोध हुन्छ भन्ने सबैले देखे, भोगेकै कुरा हो ।
समकालीन नेतामा मात्र होइन नेपालको राजनीतिक इतिहासमा आजसम्मकै व्यक्तित्व क्षमता भएका प्रचण्ड आधुनिक जननेता हुन् । एमालेको अध्यक्षमा पराजीत भएर कलंकीको स्युचाटार हाइटमा इन्सेक नामक मानवअधिकारको ‘व्यवसाय’ संचालन गरिरहेका सुबोध प्याकुरेलले इमेज टेलिभिजनसँगको एक अन्तरवार्तामा भने- ‘प्रचण्डको भाषण सुन्न खुल्ला मञ्चमै जान्छु, समाचारमा आएको कुराले मात्र पुग्दैन ।’ राजनीति, विकास र अर्थतन्त्रका बिषयमा एकघण्टा प्रवचन दिने व्यक्ति अरु कोही छ ? प्रचण्डले भाषण गरेको दिन टेलिभिजन पत्रकारलाई एउटा अफ्ट्यारो पर्छ, कुन चाही बाइट राख्ने र कुन काट्ने ? प्रचण्डको भाषणमा विषय र शब्द दोहोरिँदैनन् । छोटो भाषण गर्दा पनि भन्नुपर्ने कुरा आउछन् । सुन्न मन हुँदा हुँदै भाषण सकेको अनुभूति हुन्छ ।
व्यक्तित्व क्षमतावारे चर्चित भारतीय प्रत्रकार अरबिन्द रोयले आफ्नो पुष्तकमा प्रचण्डको चर्चागर्दै लेखेका छन्, राष्ट्रियताका सम्बन्धमा दरिलो अडान राख्न सक्ने समकालीन नेता प्रचण्ड मात्र हो, प्रतिष्पर्धी दलका नेता आफूलाई प्रधानमन्त्री बनाइदेउ भनेर विन्तीपत्र हाल्न गएको समयमा प्रचण्डले चीन, नेपाल र भारतबीच त्रिर्देशीय साझेदारीको प्रस्ताव गरे । जुन कुरा अहिलेसम्म कुनैपनि नेताले उठाउने हिम्मत गरेका थिएनन् । प्रचण्ड आफ्नै मौलिक पहिचान भएका राष्ट्रवादी नेता हुन् । पृथ्वीनारायण शाह, विश्वेश्वरप्रसाद कोइराला, मदन भण्डारीजस्तै वेग्लै र मौलिक पहिचान बोकेको नेपालका नेता । कतिपयसामान्य कमि कमजोरीका बावजुद समकालीन नेपाली राजनीति र देशको निर्विकल्प नेताका रुपमा अध्यक्ष प्रचण्डलाई सबैले स्विकारेको अवस्था छ ।
(लेखक क्रान्तिकारी पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष हुन् ।)


####

0 comments

Write Down Your Comment