आचारसंहिता विपरीत गच्छदार अघिपछि सयौं गाडी
###

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले पहिलो जनआन्दोलनपछि गणतन्त्रकालसम्म पटक–पटक सत्तामा बस्दाको ‘रवाफ’ बिहीबार विराटनगरमा प्रदर्शन गरेका छन् । गच्छदार आउँदा बिहीबार विराटनगर अशान्त र कोलाहल बनेको छ ।



साढे १२ बजे विमानस्थल उत्रिएपछि गच्छदार अघि लागे र सयौं गाडी र मोटरसाइकल सहित नगरभरि घुमे । मोरङ क्षेत्र नं. ७ र सुनसरी क्षेत्र नं. ३ बाट उम्मेदवार दिएका गच्छदारको अघिपछि हिँड्ने उम्मेदवार र नेता कार्यकर्ताको भीडले विराटनगरले अढाई घन्टा ट्राफिक जाम व्यहोर्नुपरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका इन्सपेक्टर खेमबहादुर केसीका अनुसार गच्छदारको नगर परिक्रमापछि सुनसरी छोड्ने बेलासम्म ट्राफिक जाम व्यवस्थापन गर्न हम्मे परेको थियो ।

गच्छदार चुनावी कार्यक्रमका लागि सुनसरी क्षेत्र नं. ३ हिँडेका हुन् । ‘साढे १२ देखि ३ बजेसम्म ट्राफिक जाम व्यवस्थापन गर्न धौ धौ प¥यो,’ केसीले सेतोपाटीसँग भने, ‘जुलुस धेरै ठूलो थियो ।’

विमानस्थल उत्रेपछि गच्छदार कञ्चनबारीबाट पोखरिया, मेनरोड, रोडशेष चोक हुँदै धरानरोड पक्रेर सुनसरी लागेका थिए । उनी हिँड्दा कोसी राजमार्गका दुबै लेन ‘कब्जा’ गरिएको थियो ।

लोकतान्त्रिक केन्द्रीय सदस्य दिलीप धाडेवाका अनुसार सयवटा गाडी र चार हजार मोटरसाइकल प्रयोग थिए ।

साधारणतया चुनावी कार्यक्रममा हिँडडुल गर्दा दुई वटा गाडीमात्र प्रयोग गर्न पाइने कानुनी प्रावधान गच्छदारको पार्टीलाई छेक्न सकेन ।

बिहीबारै जिल्ला निर्वाचन कार्यालयमा लोकतान्त्रिक पार्टीविरूद्व उजुरी परेको छ । मधेसी जनअधिकार फोरम नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टीले संयुक्त रूपमा गच्छदारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख झंकनाथ शर्माले उजुरी परेको त्यसउपर छानविन भइरहेको पुष्टि गरे । ‘दुई वटा पार्टीबाट संयुक्त उजुरी परेको छ,’ शर्माले भने, ‘मैले आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन कार्यालय पठाएको छु ।’

उम्मेदवारले आचारसंहिता पालना गरेनगरेको अनुगमन गर्ने छुट्टै समिति छ । विमानस्थलमा सुरक्षा व्यवस्था कडा तुल्याएको प्रशासनले बताए पनि बग्रेल्ती कार्यकर्ताको लाम रनवेसम्मै लाग्ने गरेको छ ।

बुधबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आउँदा सुरक्षा व्यवस्थापन निक्कै जटिल देखिन्थ्यो । गच्छदार आउँदा पनि उस्तै देखिएको छ । स्रोतका अनुसार विराटनगरका एबि पेट्रोल पम्प र तिरुपति पेट्रोल पम्पमा गच्छदार स्कर्टिङ गर्न आउने मोटरसाइकललाई पेट्रोलको व्यवस्था गरिएको थियो ।
####

0 comments

Write Down Your Comment