###
|
कांग्रेसको वेभसाइटमै 'इरर', एमालेको 'हाइटेक' रातोसूर्य मात्रै
६ कात्तिक काठमाडौ ।
पहिलो संविधानसभाको चुनावमा घर र सडकका भित्तामा आफ्ना नारा रंग्याउन दलहरुबीच होडबाजी नै चलेको थियो । कतिपय ठाउँमा त दलहरुले भित्ता कब्जा गर्न मुक्कामुक्कीसमेत गर्थे । धेरै मानिसले देख्ने सडकका भित्ता कब्जा गर्न दलहरुले दलबलको समेत प्रयोग गर्ने अवस्थामा अहिले परिवर्तन आएको छ । चुनावी प्रचारका गतिला माध्यम अहिले कम्प्यूटर र मोवाइलका डिस्प्ले भएका छन् ।
प्रविधिको बढ्दो विकाससँगै यसपालिको चुनावमा दलहरुबीच भित्तो कब्जा गर्न घम्साघम्सी गरेको सुन्नुपरेको छैन । चुनावी प्रचारका लागि योपटक विद्युत्तीय हुलाकदेखि सामाजिक सञ्जालसम्म सशक्त माध्यम बनेका छन् । आफ्नो दलका उम्मेदवारहरुले गरेका चुनावी प्रचारलाई सञ्चारमाध्यमबाट मतदातासम्म पुर्याउन केही दलहरुले सूचनाकेन्द्र नै स्थापना गरेर समाचार सेवा दिन थालेका छन् । संविधानसभा चुनाव नजिकिँदै गर्दा दलहरुले प्रचार प्रसारलाई तीव्र पारेका छन् ।
पहिलो संविधानसभाको चुनावसम्म सडक र घरका भित्ता रंगिन्थे भने योपटक सामाजिक सञ्जालका भित्ता रंगिएका छन् । चुनावी प्रचारमा एउटाले अर्को दललाई उछिन्ने होडबाजी नै चलिरहेको छ अहिले । सबैजसो दलहरुले आफ्ना गतिविधिलाई सञ्चार माध्यमसम्म पुर्याउन इमेल ब्लग, आफ्नो दलको वेभसाइट र सामाजिक सञ्जाललाई प्रयोग गरिरहेका छन् ।
राससजस्तै एमाओवादीको सेवा
चुनावी प्रचारलाई आक्रामक बनाउन योपटक एकीकृत माओवादीले देशैभरिका दैनिक पार्टी गतिविधिलाई समेटेर चुनावी समाचार सेवा नै स्थापना गरेको छ । उसले कृष्ण सेन न्यूज सर्भिस स्थापना गरेर आफ्ना उम्मेदवारहरुले देशभरि गरेको चुनावी गतिविधिलाई सञ्चारमाध्यममा पठाइरहेको छ ।
एमाओवादीले विहान, दिउँसो र बेलुका देशैभरि भएका पार्टीका गतिविधि समेटेर सञ्चारमाध्यममा इमेल गर्ने गरेको छ । उम्मेद्वारको प्रोफाइल र अन्तरवार्तासमेत उसले संगठित र एकीकृत रुपमा मिडियालाई केही घण्टाको फरकमा पठाउने गरेको छ । एक महिनाअघि स्थापित कृष्णसेन न्यू्ज सर्भिसमा एकीकृत माओवादीका उम्मेदवारहरुको प्रोफाइलदेखि अन्य दलको धज्जी उडाएका गतिविधिसमेत बुलेटिनका रुपमा सञ्चारमाध्यमलाई पठाउने गरिएको हो । एमाओवादीको न्यूज सर्भिसले प्रत्येक दिन एकजना उम्मेदवारको प्रोफाइल र अन्तरवार्ता समेत पठाएर सञ्चारमाध्यममा आफ्नो प्रचार बढाइरहेको छ । साथै कृष्णसेन अनलाइनमार्फत् उसले इलेक्ट्रोनिक सूचना प्रविधिको भरपूर उपयोग गरिरहेको छ ।
एमालेको हाइटेक एमाओवादीभन्दा कमजोर
पार्टीको बैठकमै निर्णय गरेर एमालेले चुनावी प्रचारलाई ‘हाईटेक’ शैलीमा अघि बढाउने घोषणा गरे पनि उसको निर्णय रातो सूर्य डटकम र सामाजिक सञ्जालहरुमा मात्र सीमित छ । व्यवस्थितरुपमा चुनावी प्रचार गर्ने काममा उसले माओवादीलाई पनि भेट्टाउन सकेको छैन ।एमालेले चुनावी प्रचारका लागि सञ्चारमाध्यमलाई पनि उपयोग गर्ने बताए पनि उसले अझै संस्थागत रुपमा सामाजिक सञ्जाललाई अघि बढाएको छैन । सामाजिक सञ्जालहरु फेसबुक र ट्वीटरमा एमालेका उम्मेदवारहरुले व्यक्तिगत एकाउन्ट खोलेर चुनावी प्रचार गरिरहेका छन् । एमालेले हाइटेक शैलीमा चुनावी प्रचार गर्ने निर्णयपछि एकीकृत माओवादीले चलाएको कृष्ण सेन अनलाइनसँगै मिल्दो प्रकृतिको छ ।
एमालेले रातोसूर्यमा आफ्ना गतिविधि प्रकाशित गर्नेबाहेक एमाओवादीलेजस्तो देशैभरिका सूचनालाई केन्दि्रत गर्न र मिडियामा प्रवाह गर्न सकेको छैन । एमालेनिकट केही पत्रकारहरुले रातोसूर्यमा समाचार अपडेट गर्दै आइरहेका छन् । त्यसो त एमालेले दुईसय ४० जनै उम्मेद्वारका लागि ‘एक उम्मेद्वार, एक पत्रकार’ खटाउने नीति लिएको प्रेस चौतारकिा एक नेताले अनलाइनखबरलाई बताए । तर, उम्मेद्वारका गतिविधिको प्रचारमा एमाओवादीभन्दा एमाले निकै पछाडि देखिएको छ ।
एमालेले चुनावसम्वन्धी समाचार नियमितरुपमा सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउने कुनै संयन्त्रसमेत निर्माण गरेको छैन । एमालेसम्वद्ध समाचारका लागि सञ्चारकर्मीहरुले जानकारी लिन सबैभन्दा पहिले सम्पर्क गर्ने व्यक्ति हुन्, पार्टी प्रचारविभाग प्रमुख प्रदीप ज्ञवाली । ज्ञवालीलाई पार्टीले राजधानीभन्दा धेरै टाढा गुल्मी क्षेत्र नं. २ बाट उम्मेद्वार बनाएपछि एमालेभित्रका चुनावी गतिविधि लिन पत्रकारहरुलाई कठिनाइ भएको छ । एमालेमा उम्मेदवारहरु र जिल्ला पार्टी कार्यालयले फेसबुक र अन्य अनौपचारिक सामाजिक सञ्जालमा चुनावी प्रचार गरिरहेको अवस्था छ ।
कांग्रेसको झनै विजोग
आफूलाई सञ्चारमाध्यमको सबैभन्दा नजिकको साथीको रुपमा प्रस्तुत गर्ने नेपाली कांगे्रसले पनि चुनावी कार्यक्रमको प्रचार फेसबुक र केही सामाजिक सञ्जालमा मात्रै सीमित छ ।
उसले चुनावका बेला आफ्नो आधिकारिक वेभसाइटलाई समेत व्यवस्थित गरेर चलाउन सकेको छैन । बुधबार दिउँसो नेपाली कांगे्रसको आधिकारिक साइट www.nepalicongress.org खोल्दा त्यो पेजमा ‘इरर’ रहेको देखायो । अरुबेला यदाकदा कांग्रेसको साइट चुनावका बेलामा भने निदाएको पाइयो । कांग्रेसले चुनाव आउन अब २९ दिन मात्र बाँकी रहँदा अहिलेसम्म घोषणापत्र ल्याउन सकेको छैन । यो अवस्थामा उसका कार्यकर्तामा पनि अन्योल बढेको छ । कांग्रेसले चलाएको आफ्नो आधिकारी वेवसाइटसमेत चुनावका बेला अस्ताएको अवस्थामा उसको चुनावी प्रचार सामाजिक सञ्जालमा मात्र सीमित छ ।कांग्रेसका नेताहरु गगन थापा, रामहरि खतिवडा, रामचन्द्र पौडेलसहित मतदातासम्म पुगेर भोट मागेका गतिविधिहरु नियमित फेसबुकसहितका सामाजिक सञ्जालमा अपडेट गर्दै आइरहेका छन् । तर, कांग्रेसमा एमाओवादीमा जस्तो संस्थागत सूचना प्रणाली देखिएको छैन । चुनावका बेला सूचनासँग खेल्नुपर्ने र पत्रकारसँग सम्पर्कमा रहनुपर्ने नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडू दार्चुलाको उम्मेद्वार बन्नुभएकाले केन्द्रमा बसेर मिडियासँग सम्पर्क रहन अप्ठ्यारो भएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment