###
|
युरोपियन युनियनले १७ ठाउँबाट देशैभरि निगरानी गर्ने
६ कात्तिक, काठमाडौं ।
यूरोपियन युनियन निर्वाचन पर्यवेक्षण नियोगले आगामी मंसिर ४ मा हुने चुनावको पर्यवेक्षणका लागि देशका विभिन्न शहरमा १७ वटा मुकामहरु खडा गरेको छ । युरोपेली संसद सदस्य इभा जोलीको नेतृत्वमा एक सयभन्दा बढी गोरो वर्णका पर्यवेक्षकहरु नेपाल आएका छन् । पर्यवेक्षणका क्रममा नेपालको राजनीति र निर्वाचन प्रक्रियाबारे कानूनी विश्लेषण गर्न आठ जना विश्लेषक अक्टोबर ४ मै काठमाडौं पसेका छन् भने ३४ जना दीर्घकालीन पर्यवेक्षकहरु अक्टोबर १३ मा नेपाल आई विभिन्न जिल्लामा पुगिसकेका छन् ।
चुनाव शुरु हुनुभन्दा केही दिन अघिमात्रै युरोपेली संसदको एउटा टोली काठमाडौं आइपुग्नेछ । सो टोलीमा ४० जना अल्पकालीन पर्यवेक्षकसमेत थपिने छन् । नियोगले देशभरि गर्ने पर्यवेक्षणमा काठमाडौंमा कार्यरत नियोगका कर्मचारीलाईसमेत संलग्न गराइँदैछ । सयभन्दा बढी विदेशी पर्यवेक्षक सहभागी हुने यो अभियानमा नर्वे र स्वीटजरल्याण्डसहित युरोपेली मुलुकका २६ देशको सहभागिता रहने छ । यसले निर्वाचन गतिविधि, कानूनी प्रक्रिया र नेपाली मिडियाको भूमिकासमेत अनुगमन गर्ने बताइएको छ । ‘
बोलाएर आएका हौं, हस्तक्षेप गर्दैनौं’
अघिल्लो चुनावमा भन्दा यसपालि युरोपेली टोली बढी सक्रिय र प्रभावकारी हुने बताइएको छ । युरोपियन युनियन स्रोतले भने आफैं आएको नभई नेपाल सरकार र निर्वाचन आयोगको आग्रहमा यसरी निर्वाचनको अनुगमन गर्न खटिएको बताएको छ । चुनावमा क्रममा नेपालले अन्तरराष्ट्रिय रुपमा जनाएको प्रतिवद्धता र घरेलु कानून पालना गरे/नगरेको हेरिने बताइएको छ । यसक्रममा उसले निर्वाचा आयोगका पदाधिकारी, दलका कार्यकर्ता, नागरिक समाज लगायतसँग भेटी चुनाव सकिएको २ महिनामा अन्तिम रिपोर्ट दिने बुझिएको छ ।
यूनियनले विश्वभरिका प्रजातान्कि मुलुकहरुमा यसैगरी चुनावी पर्यवेक्षण गर्ने र प्रजातन्त्रलाई सघाउने गरेको स्रोतले बतायो । अनुगमनका क्रममा सम्बन्धित देशको कानून या कुनै दल विशेषको पक्ष नलिने र कुनै पनि हस्तक्षेप नगरिने युरोपेली अधिकारीहरुले दाबी गर्दै आएका छन् ।
कहाँ कहाँ फैलियो सञ्जाल ?
स्रोतका अनुसार युरोपेली देशहरुको यो टोलीले विभिन्न जिल्लाका १७ स्थानमा आफ्नो फोकल पोइन्ट खडा गरेको छ । ती फोकल पोइन्ट र त्यहाँबाट अनुगमन गरिने जिल्लाहरुको विवरण यस्तो छ -
१. काठमाडौं – रसुवा, नुवाकोट र धादिङ हेर्नेगरी ।
२. काठमाडौं- ललितपुर, भक्तपुर र काठमाडौं हर्नेगरी ।
३. धुलीखेल- काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप ।
४- धनकुटा- धनकुटा, तेह्रथुम र पाँचथर ।
५. भद्रपुर- झापा, इलाम र मोरङ । ६. बिराटनगर- सुनसरी, सप्तरी, सिरहा र उदयपुर ।
७. जनकपुर- सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली ।
८. वीरगञ्ज- चितवन, पर्सा, वारा, रौतहट र मकवानपुर ।
९. भैरहवा- कपिलवस्तु, रुपन्देही र नवलपरासी ।
१०. घोराही- दाङ, बाँके, रोल्पा र प्युठान ।
११. नेपालगञ्ज- सल्यान, रुकुम र बर्दिया ।
१२. धनगढी-कैलाली र कञ्चनपुर ।
१३. डडेलधुरा- डडेलधुरा, बैतडी र डोटी ।
१४. वीरेन्द्रनगर- दैलेख, सुर्खेत र कालीकोट ।
१५. तानसेन- पाल्पा, अर्घाखाँची र गुल्मी ।
१६. पोखरा- कास्की, स्याङजा र पर्वत ।
१७. गोरखा- लम्जुङ, तनहुँ र गोरखा ।
####
.jpg)




0 comments
Write Down Your Comment