नेपालद्वारा कतारलाई ६ गोल
###
|
दोहा (कतार), कार्तिक ८ - नेपाल र कतारको राष्ट्रिय महिला टिमबीच यहाँ भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले कतारलाई ६ गोल गरेको छ ।
स्थानीय समय साँझ ६ : ३० बजेदेखि सुरु भएको खेलमा खेल अबधीभर नेपाली टोलीले बललाई पुर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । दशैअघि १९ मुनिका पुरुष खेलमा कतारले नेपाललाई हराएपछि निकै निराश बनेको कतारस्थित नेपाली दर्शकलाई यो मैत्रीपुर्ण खेलले राहत दिलाएको छ ।
नेपालले खेलको पहिलो हाफमा ४ गोल र दोश्रो हाफमा २ गोल गरेको थियो । खेलको ११ औं मिनेटमा दीपा अधिकारीले २० मिटरबाट हानेको लामो सट प्रहार गर्दा बलले जाली चुमेको थियो । गोल हेर्न आतुर हजारौं दर्शकको लागि यो गोल निकै महत्वपूर्ण बन्यो ।
दोश्रो गोल गरेको ६ मिनेट बित्न नपाउँदै सजना रानाले १६ मिटरको नजिकबाट पावर सुट हान्दा सजिलै गोल भएको थियो । अर्को ८ मिनेटको अन्तरालमा सजना रानाले नै बललाई जाली चुमाएका थिए ।
पहिलो हाफमा धेरै गोल गरेपछि नेपाली दर्शकले सात महिनाअघि कुबेतलाई हानेको ८ गोलको रेकर्ड तोड्न हुटिङ गरिरहेका थिए । दोश्रो हाफ्मा गोलकिपर सहित ५ जना खेलाडी परिवर्तन गरी मैदानमा झारेका थिए ।
सुरुको १० मिनेटमा एकआपसको तालमेल मिल्न नसकेपछि र पहिलो हाफजस्तो आक्रमक प्रस्तुति नभएपछि दर्शकहरुले खेलाडीको बिरोध गर्न थालेको थियो । ६५ मिनेटमा टिम क्याप्टेन चन्द्र भण्डारीले अनु लामाको पासमा सुन्दर गोल गरेपछि दर्शकको टिमप्रति उत्साह बढेको थियो ।
टिम क्याप्टेन भण्डारीले नै प्रमिला राईको पासमा ७० मिनेटमा अर्को गोल हान्दा नेपाल ६ गोलले अगाडि बढ्यो ।
'नेपाली महिला खेलाडी निकै अब्बल देखिए', नेपाली प्रशिक्षक कुमार कटुवालले ईकान्तिपुरलाई भने,'आपसी तालमेल निकै मिलाउन सफल भए ।'
उनका अनुसार खेलाडीले गोल हान्नुभन्दा पनि खेल खेल्ने कौशलतातिर ध्यान दिएको हो । 'हाम्रो खेलाडीको हातमा ७० प्रतिशत बल थियो', उनले भने,'त्यस्तो बेला आफ्नो टिम बलियो बनाउन र प्राबिधिक रुपमा खेल खेल्न तिर लगाइयो ।'
दोश्रो हाफपछि सबसीच्युटमा रहेका सबै खेलाडी खेलाइएको थियो । जसमा गोल किपर देबी दाहालको ठाँउमा नमिता दली, उषा भण्डारी, लक्ष्मी पौडेल, सजना राना र दिपा अधिकारीको ठाँउमा यशोधा लामा, निशा बोहरा र कृष्ण खत्रीलाई खेलाइएको थियो ।
आइतबारसम्म कतार बस्ने यो टिमले शनिबार स्थानीय समय ६:३०मा फेरी कतारसँगै अर्को मैत्रीपुर्ण खेल खेल्नेछ । नेपाल सात महिनाअघि कुबेतसँग मैत्रीपुर्ण खेल खेलेपछि अहिले कतारसँग खेलेको हो । 'पछिल्लो समयमा नेपाली महिला खेलाडीले निकै मिहेनतको साथ खेलीरहेका छन्', प्रशिक्षक कटुवालले भने,'यसलाई अझै बढाउदै लैजानुपर्छ ।'
####
.jpg)





0 comments
Write Down Your Comment