नेताज्यू, ढल बनाउन भोट चाहिएको कि संविधान ?
###

नयाँ संविधान बने अर्को वर्ष फेरि हुन्छ चुनाव
अरुण बराल/राजनीतिक टिप्पणी
६ कात्तिक, काठमाडौं ।
 लामो समय विदेशमा बसेर नेपाल फर्केका एक नेपालीलाई संविधानसभामा गएर देशको सेवा गर्ने विचार आयो । आफ्नो मनको इच्छा साकार बनाउन उनी अहिले नेपाल फर्केर प्रमुखमध्येको एउटा दलबाट प्रत्यक्षतर्फको उम्मेद्वार बनेका छन् । विदेशको अनुभव लिएर संविधान बनाउन आएका यी उम्मेदवार जव भोट माग्न गाउँ पसे, जनताले उनीसँग स्कूलमा टिनको छानो, गाउँमा धारो र मोटरबाटो बनाइ दिन माग गरे । विदेशमा एजेण्डाका आधारमा चुनाव हुने गरेको देखेका विचरा उम्मेद्वारले मतदातासँग भने- ‘म त संविधान बनाउन मात्र जाने हो, मोटरबाटो र टीनको छानो बनाउन हैन ।’ तर, यसो भनेवापत ती उम्मेद्वारले आफ्नै दलका कार्यकर्ताबाट गाली खानुपर्‍यो- जनतालाई जे पनि बनाइदिने आश्वासन बाँड्नुपर्छ, नभए कसरी चुनाव जितिन्छ ? एकवर्षभित्र संविधान बनाउन कसम खाँदै जनतामा भोट माग्न हिँडेका नेताहरु यतिबेला बाटो, पानीको धारो र ढल बनाइदिने आश्वासन बाँड्नमा व्यस्त छन् । दुईवर्षमा संविधान बनाउने भनेर भोट लिई चार वर्षसम्म संविधान लेख्न नसकेका नेताहरु फेरि संविधानसभामा ढल निर्माणका लागि जान लागेका हुन् या संविधान निर्माणका लागि ? बुझिनसक्नु छ । राजधानीका प्राय सबै उम्मेद्वारको पर्चामा ढल निर्माण गर्ने कुरो छुटेको छैन । त्यसैगरी वाग्मती र विष्णुमती सफा पार्ने, शौचालय बनाउन, पार्किङको व्यवस्था गर्न, मन्दिर र गुम्बा बनाउन र बाटो बनाउन भन्दै संविधानसभाका उम्मेद्वारहरुले भोट मागिरहेका छन् । यो संविधानसभाले संविधान बनाइसकेपछि रुपान्तरित व्यवस्थापिकाको काम गर्ने र त्यसपछि विकासको मूल फुटाइने नेताहरुले आश्वासन दिइरहेका छन् । दलका घोषणापत्रमा पनि एक वर्षदेखि ४० वर्षसम्मको विकासे कार्यक्रम समावेश गरिएको छ । यस्तो लाग्छ, यसपालिको चुनाव ४० वर्षसम्मका लागि आयोजना गरिएको हो । संविधान बनाउन भोट मागिरहेका दलहरुले ढल निर्माणका साथै स्कुलेलाई साइकल बाँड्ने, वर्षमा ३ लाख युवालाई रोजगारी दिने, रोजगारीको सिर्जना गर्ने, युवाहरुलाई ल्यापटप बाँड्ने र द्वन्द्व पीडितहरुलाई तामाकोशीको सेयर उपलब्ध गराउनेसम्मको प्रलोभन दिएका छन् । संविधानसभाका लागि भोट माग्नुपर्नेमा जनतालाई विकासका नारा फालेर नढाँटी चुनाव जितिन्न भन्ने मानसिकताले सबै दलहरु ग्रस्त देखिएका छन् । जनतामा पनि संविधान बनाउन असफल ठहरिएका नेताहरुसँग ढल र बाटो बनाइदिनुपर्‍यो भन्ने माग बढ्दो छ । कतिपय युवामा भने उधारो आश्वासन नभएर हाताहाती नगद, फुटबल, भलिबल इत्यादिको माग बढेको देखिन्छ । पहिले अर्थमन्त्री भैसकेकाहरुले म फेरि अर्थमन्त्री भएर यो क्षेत्रमा विकासमा ठूला आयोजनाहरु ल्याउँछु भनेर भोट मागिरहेका छन् भने ठूलो नेतालाई जिताए विकासको ठूलै भाग आउँछ भन्ने नारालाई व्यापक बनाइएको छ । चुनावमा राजनीतिक नेता, उम्मेद्वार र कार्यकर्ताहरुले संविधानका अन्तरवस्तु र शासकीय स्वरुपका विषयमा भन्दा पनि ढल निकास र विकासका विषयमा गाउँ गाउँमा होहल्ला मच्चाएका छन् । मन्त्री भएकाहरु म सिधै मन्त्री हुन्छु र विकासको खोलो बगाउँछु भन्दै भोट माग्दैछन् । संविधानको कुरै छैन, धानखेतमा कुलो बनाइदिने आश्वासन बाँडिदैछ ।
काठमाण्डौंका एक उम्मेदवारले बाँडेको पर्चामा यस्तो लेखिएको छ :


संविधान बने अर्को वर्ष फेरि आम चुनाव
 पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले काठमाडौं २ का जनतामा वितरण गरेको पर्चामा यो संविधानले रुपान्तरित व्यवस्थापिकाको पनि काम गर्ने भएकाले आफूले विकासको मूल फुटाउने चर्चा गर्नुभएको छ । तर, नेताहरुले भनेजस्तै वर्षदिनभित्रै संविधान बन्यो भने ६ सय १ सदस्यीय यो जम्बो संविधानसभा एकवर्षभित्र विघटित हुनेछ र आउँदो वर्ष पुनः आम निर्वाचन गर्नुपर्ने हुन्छ । यही संविधानसभालाई रुपान्तरित व्यवस्थापिका बनाएर ४/५ वर्ष भत्ता खान पाइन्छ भन्ने अहिलेका सभासदका उम्मेद्वारले सोचेका छन् भने त्यो सत्ता लिप्सा मात्रै ठहरिने छ ।

एक वर्षमा संविधान बन्यो भने त्यसले व्यवस्थापिका संसद ६ सय १ सदस्यीय बनाउने छैन र या जम्बो संसदको ठाउँमा सानो संसद बनाउने छ । किनभने सबै दलहरुले आफ्ना घोषणापत्रमा सानो संसदको प्रस्ताव गरेका छन् । संविधानले अढाइ या ३ सय सदस्यीय संसदको परिकल्पना गरिसकेपछि ६ सय १ जना सभासदहरु कसरी ‘रुपान्तरित संसद’मा सहभागी हुन सक्छन् ? त्यसैले यही जम्बो संविधानसभाले नै नयाँ संविधान बनेपछि रुपान्तरित संसदको भूमिका खेल्छ भन्नु हास्यास्पद एवं जनतालाई झुक्याउने चालबाजीमात्रै हो ।

नेताहरुले जनतालाई ढाँट्न र ५ वर्षदेखि ४० वर्षसम्मको विकासे नारा लगाउनुको साटो १ वर्षभित्र संविधान कस्तो र कसरी बनाउने भन्ने एजेन्डामा जनतालाई केन्दि्रत गर्न जरुरी छ । विकासे कार्यक्रमका लागि आगामी वर्ष अर्को घोषणापत्र जारी गर्नैपर्ने भएकाले ढल निकासको कुरा स्थानीय निकायको चुनावमा गरे पनि हुन्छ, मोटरबाटोको कुरा ०७१ सालको संसदीय चुनावमा गरे पनि हुन्छ । अहिलेको चुनावबाट तीनवटा कुरामात्रै चाहिएको छ- संविधान, संविधान र संविधान । नेता ज्यू यसपालि तपाईलाई ढल बनाउन भोट चाहिएको हो कि संविधान बनाउन ? दलहरुले एक वर्षभित्र संविधान बनाउँछौं भनेका छन् । जनतालाई यसमा विश्वासचाँहि छैन ।

यो चाँहि अनुमान गर्न सकिन्छ कि चुनाव सकिएको एक वर्षभित्र नेताहरुले नयाँ सरकार भने अवश्यै गठन गर्लान् । तर, अर्को स्मरणीय कुरा के छ भने सरकार बनाउन पुग्ने बहुमत मागिरहेका दलले जनतालाई के कुारमा झुक्याइरहेका छन् भने मंसिर ४ पछि बहुमतको सरकार गठन हुँदैन । बाधा अड्काऊ मार्फत बनेको सरकार विघटन भई चुनावपछि अन्तरिम संविधान स्वतः सक्रिय भएको अवस्थामा पनि धारा ३८(१) अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउनु त्यतिबेलाको आवश्यकता हुनेछ । त्यो अवस्थामा आफ्नै एकलौटी सरकार बनाउँछु र बजेट ल्याएर के के न गर्छु भन्दै हिँड्नु भनेको संविधान नबनाउने खेलमात्रै हो ।

त्यसैले संविधान बनाउने नै हो भने दलहरुले भन्न सक्नुपर्छ आउँदो मंसिर अन्तिम या पुसमा बन्ने सरकार राष्ट्रिय सहमतिको हुने छ र आयँदो असारमा आउने बजेट पनि संसदीय निर्वाचनमा केन्दि्रत चुनावी सरकारको बजेटमात्रै हुनेछ । ठूला कुरा गरेर जनता ढाँट्न आवश्यक छैन, चुनावपछि बन्ने सरकारले संविधान बनाइसकेपछि त्यो सरकार स्वतः संक्रमणकालीन अन्तरिम मन्त्रिपरिषद् हुनेछ, जसको काम ढल बनाउने नभएर संसदीय चुनाव गर्नुमात्रै हुनेछ ।
####

0 comments

Write Down Your Comment