###
|
१२ असार २०६६ मा नारायणगढमा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले सन् २०१३ को कार्यसमिति अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को दायराभित्र रहनेगरी १७ सदस्यीय -१ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र १२ सदस्य) बनाउने निर्णय गरेको थियो । त्यस अघि एन्फाको विवाद समाधान गर्न भन्दै ३१ सदस्यीय जम्बो कार्यसमिति बनाइएको थियो । एन्फाले पदको भागबन्डा मिलाउन संशोधित विधानअनुसार कार्यसमिति नबन्दै ३ पुस २०६६ मा काठमाडौंमा भएको साधारण सभाले फेरि ३१ सदस्यीय (१ अध्यक्ष ८ उपाध्यक्ष, २२ सदस्य) कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय गर्यो । तर एएफसी र फिफाले ठाडै अस्वीकार गरिदियो । एन्फा अध्यक्ष गणेश थापाले जति आवश्यकता देखाए पनि एएफसी र फिफाले मानेनन् ।
अन्ततः बिहीबार एन्फाले एएफसी र फिफाकै निर्देशनमा रहेर चार वर्षका निम्ति १७ सदस्यीय कार्यसमिति चयन गर्यो । त्यही दिन बिहान आकस्मिक विशेष साधारण सभाले विधान संशोधन गरेर ३१ सदस्यीयलाई फेरि १७ मा झारेको थियो । तर ३१ सदस्यीय कार्यसमितिको निर्वाचननिम्ति एक महिनाअघि सुरु भएको प्रक्रियाअनुसार नै १७ सदस्यीय कार्यसमिति चुन्यो । 'कानुनी रूपमा त्यो सरासर गलत हो । नियम, कानुन, विधान र संस्कार विपरीत हो,' एक वरिष्ठ कानुन व्यवसायीले भने, 'संशोधित विधानको प्रक्रियालाई पूर्णरूपमा नयाँ तरिकाले हेर्नुपर्छ । त्यो भएन ।'
एन्फाको निर्वाचन समितिका सदस्य राजाराम ढकाल भने नयाँ कार्यसमितिको चयन वैधानिक भएको दाबी गर्छन् । 'विशेष साधारण सभाले विधान संशोधन गरेपछि निर्वाचन गरिएकोले वैधानिक हो । फरक प्रक्रिया अगाडि नै सुरु भए पनि नियमन निकायको निर्देशन मानेका छौं ।' राष्ट्रिय संघहरू हेर्ने फिफाका प्रतिनिधि पिरिरो कोरारो र एएफसीका सी सङले काठमाडौं आई असोजमा १७ सदस्यीयभन्दा ठूलो कार्यसमिति स्वीकार नहुने स्पष्ट पारेपछि एन्फा जम्बो कार्यसमिति त्याग्न बाध्य भएको थियो ।
रुक्मशमशेर राणालाई हटाएर तत्कालीन राष्ट्रिय खेलकुद परिषदका सदस्य केशव स्थापितले २०५१ चैत २२ मा ल्याएका गणेश थापा पाँचौं कार्यकालका निम्ति एन्फा अध्यक्ष चुनिए । विवाद बीच पनि २०५२ असोज ३० देखि अध्यक्षमा निर्विरोध हुँदै उनले नेपाली फुटबलको नेतृत्व गरिरहेका छन् । उनी नेतृत्व तहमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) को अध्यक्ष, एएफसी सदस्य हुँदै उपाध्यक्षमा पुगिसकेका छन् । तर नेपाली फुटबल ओरालो लागिरहेको छ । किन खस्कँदो छ, फुटबल ?
अध्यक्षको हैकम
'एन्फा अध्यक्ष थापाले दिउसै रात पर्यो भनिदिए तारा देखाउनेहरू प्रशस्तै छन् । त्यसैले एन्फामा अध्यक्षको हैकम चल्छ,' एन्फाकै एक पदाधिकारी असन्तुष्टि पोख्छन् । तर थापाका अगाडि भने हवस्, हजुरबाहेक बोल्दैनन्, पछाडि परेपछि थापाकै कुरा काट्न रमाउँछन् । उनी मिडियामा थापाको आलोचना गर्न पनि हिच्किचाउँदैनन्, तर नाम नलेख्ने सर्तमा । कारण ? 'फुटबलमा चार दशक बिताइसकेँ । अब बाँकी जीवन फुटबलबाट टाढै रहेर बाँच्न सकिँदैन । त्यसैले गणेश थापासँग पंगा लिने कुरा भएन । उनीसँग पंगा लिनु भनेको फुटबलबाट अलग्गिनु हो ।'
उनी जस्तै थापाका अगाडि प्रायः सबै पदाधिकारी चुपचाप लाग्ने गर्छन् । थापाकै कुरा सुनिरहन्छन् । पछाडि पर्यो कि कुरा काट्न रमाउँछन् । त्यसैले पनि एन्फामा थापाको रवाफ बढेको हो । जसले थापाविरुद्ध चर्कने हिम्मत गर्छन्, उनलाई थापाले थर्काएर वा फकाएर आफ्नो बनाउने गर्छन् । नभए फुटबलबाट विदाइ नै गरिदिने गर्छन् ।
'एन्फामा थापाको मनोमानी नै चल्छ,' एक उपाध्यक्षले भने, 'बिना प्रक्रिया जिल्ला, क्लब र एन्फाका पदाधिकारी निरन्तर विदेश भ्रमणमा जान्छन् । ज-जसले अध्यक्षको चाकडी गर्छन्, उनीहरू नै पटक-पटक विदेश सयर गर्ने गर्छन् । को कहिले कहाँ जाने भन्ने अध्यक्षबाहेक कसैलाई थाहा हुँदैन ।' कार्यसमिति बैठकमा के विषयमा कुरा हुन्छ र निर्णय के गर्ने भन्ने अध्यक्षमै निर्भर हुन्छ । कार्यसमितिको बैठक वाषिर्क चरपल्ट बस्ने विधानमा उल्लेख भए पनि एकपल्ट मात्र हुँदै आएको छ ।
थापा अनुशासन समितिमा छैनन्, तर उनी बिना अनुशासन समितिले अहिलेसम्म कुनै निर्णय गरेको छैन । यसबारे जिज्ञासा राख्दा समितिका पदाधिकारीहरू मुसुक्क हाँस्छन् मात्रै । र भन्छन्, 'भाइहरूलाई थाहा भएकै कुरा त हो नि ।' स्थायी समिति १७ वटा बनाउनुपर्ने विधानमा उल्लेख भए पनि क्षेत्रीय फुटबल समितिमात्र विधानअनुसार गठन भयो । कार्यसमितिको निर्णयबिना नै अनुशासन समितिले काम गर्यो । त्यसमा फिफा प्रतिनिधिले आश्चर्य नै जनाए ।
प्रत्येक प्रतियोगितामा खेलाडीलाई पुरस्कार दिन प्रशिक्षकहरू तोकिएका हुन्छन् । तर निर्णय लिनुपूर्व थापासँग सल्लाह गर्ने गर्छन् । 'विजेताको अन्तिम निर्णय उनमै भर पर्छ,' लिगमा पुरस्कार एक निणर्ायकले भने, 'जसले चाकडी गर्यो, उसले केही न केही पुरस्कार पाउने गर्छन् ।' राष्ट्रिय टिमका निम्ति योगदान गरेका उत्कृष्ट खेलाडीहरूलाई पन्छाएर एन्फा आन्दोलनमा आफ्नो पक्षमा खुलेर लागेका एक खेलाडीलाई एन्फाले रूपक स्मृति पुरस्कार नै दियो ।
खेलाडी पनि अध्यक्ष थापा भनेपछि थर्कमान हुन्छन् । 'थापा वा एन्फाको नराम्रो कुरा बोल्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गनु हो', एक राष्ट्रिय खेलाडीले भने । उनी कुमार थापाको उदाहरण दिन्छन् ।
एसियन कप छनोटमा दक्षिण कोरियाविरुद्ध १६-० ले हारेपछि अध्यक्ष थापाको गाली सहन नसकेर कुमारले दस वर्षअघि भनेका थिए, 'राम्रोसँग ट्रेनिङ हुँदैन । खाने डाइट छैन । भत्ता अत्यन्त न्युन छ । राम्रो सुविधा छैन । अनि गोल नखाए के खाने, खाँदैन त १६ गोल ? तपाईको हैसियत पहिले के थियो, फुटबलमा लागेपछि के भयो, प्रस्टै छ । खेलाडी चाहिँ मर्नुपर्ने । खेलाडीले के पाए ? त्यो हेर्ने हो भने १६ गोल त थोरै हो, २० गोल नै खानुपर्ने ।' त्यसपछि कुमार कहिल्यै राष्ट्रिय टिमको जर्सीमा देखिएनन्, क्लब फुटबलमा भने अझै छाइरहेका छन् । उनीपछि नेपाली फुटबलमा प्रेरणादायी प्लेमेकर निस्केको छैन ।
थापाकै निर्देशनमा प्रशिक्षक ज्याक स्टेफनोस्कीले आठौं साफमा पाकिस्तानविरुद्ध १५ वर्षे विमल घर्ती मगरलाई मैदानमा पठाएका थिए । उनले गोल गरेर नेपालको हार त टारे, तर उनलाई खेलाउने निर्णय प्राविधिक रूपमा सही नभएको प्रशिक्ष्ाकहरू बताउँछन् । नेपाली खेलाडीलाई निर्देशन दिन थापा लगभग प्रत्येक खेलमै 'ड्रेसिङ रुम' पुग्ने गर्छन् । 'खेलाडीलाई 'देशद्रोही'समेत भन्ने गर्छन् । राम्रो खेल्न नसक्नेलाई तथानाम गाली नै गर्छन् । अनि कसरी राम्रो खेल्न सकिन्छ ?' एक खेलाडीले भने ।
आठौं साफमा पाकिस्तानविरुद्ध खेलको हाफ टाइममा ड्रेसिङ रुममा कप्तान सागर थापा र अध्यक्ष थापाको चर्काचर्की नै पर्यो । 'तपाइर्ँ आफै खेल्नुस् भनेर सागरले आर्मब्यान्ड नै खोलेर फालिदिए,' एक प्रत्यक्षदर्शीले भने । अफगानिस्तान विरुद्ध सेमिफाइनलमा रोहित चन्द पेनाल्टीमा चुकेलगत्तै नेपाली टिमको प्लेयर बक्स नजिक दुई थापाको झगडा नै पर्यो, गणेश र राष्ट्रिय टिमका प्राविधिक सल्लाहकार कृष्ण थापाको । 'खेलाडी परिवर्तन गर्ने आफ्नो निर्देशन कृष्णले प्रशिक्षक ज्याकसम्म पुर्याएनन्, त्यसैले अध्यक्ष उनीमाथि नै जाइलागे,' एक पदाधिकारीले भने । उनलाई रोक्न एन्फा कर्मचारी र पदाधिकारीलाई मुस्किलै पर्यो । त्यसपछि अध्यक्ष थापाले खेल नै हेरेनन् ।
'पूर्व खेलाडी भएकोले एग्रेसिभ नेचर आइहाल्छ, रोक्नै सक्दिन । अरुको काममा हस्तक्षेप गर्दिन । टिमको कमजोरी सुधार्न सुझावमात्र दिएको हो,' थापाले भने । उनको १९ वर्षे नेतृत्वमा एन्फाले खेलाडीलाई तलबको व्यवस्था, कार, अपार्टमेन्टसम्मको पुरस्कारको व्यवस्था, एकेडेमी स्थापना लगायत राम्रा कामहरू पनि भएका छन् ।
फिफा र एएफसीले महत्त्वपूर्ण कागजात फ्याक्सबाट पठाउने गर्छ । फिफा र एएफसीका अनुसार एन्फाको फ्याक्स नं.४४२४३१४ हो । काठमाडौं जिल्लाको नम्बर हो । एन्फाको कार्यालय ललितपुरस्थित सातदोबाटोमा छ । 'फ्याक्स अध्यक्षको घरमा छ,' स्रोतले भने, 'त्यसैले त एन्फाबारे एएफसी र फिफामा के भइरहेको छ भन्ने अध्यक्षबाहेक अरुलाई थाहा हुँदैन ।' त्यसको प्रभाव मान्नुपर्छ, भुटान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र आन्द्रेस इनिस्टामध्ये एकलाई 'फिफा बेलुन डे'ओर' (वर्षको उत्कृष्ट खेलाडी) चयनमा मत दिँदा नेपाली राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक भने बञ्चित भए । विश्वकै उत्कृष्ट खेलाडी चयन प्रक्रियाबारे उनीहरू अनविज्ञ नै छन् ।
डलर काण्ड
अध्यक्ष थापाका जेठो छोरा गौरवले आर्थिक अनियमितता आरोपमा निलम्बित एएफसीका अध्यक्ष मोहम्मद बिन हमामबाट एक लाख अमेरिकी डलर लिएको ६ साउन २०६९ मा एसोसियट प्रेसले समाचार निकाल्यो । विश्वव्यापी रूपमा नेपाली फुटबल गलत कारण चर्चामा आयो । घरायसी कारण त्यो रकम लिएको अध्यक्ष थापाले प्रस्ट्याए । तर उनीसँग त्यो रकम फर्काएको प्रमाण थिएन । डलर काण्ड सार्वजनिक गर्नु दुई दिन अघिमात्र उनले मलेसियाबाट फोन गरेर भनेका थिए, 'त्यो अढाई-तीन सय डलरको गिफ्ट हो, ठूलो कुरा होइन ।' नेपाल फर्केपछि देखाउने बताएको त्यो आर्थिक रिपोर्ट उनले अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।
अन्ततः गौरवले त्यही डलर काण्डले एएफसीको आकर्षक जागिर नै गुमाए । उनलाई साफ यु-१६ च्याम्पियनसिपमा सल्लाहकार र आठौं साफमा साफ-एएफसीको सम्बन्ध हेर्ने महत्त्वपूर्ण जिम्मेवारी नै दियो । 'अध्यक्ष थापा यही कार्यकालमा गौरवलाई एन्फाको महत्त्वपूर्ण जिम्मेवारी दिन चाहेका छन्,' नवनिर्वाचित सदस्यले भने । नैतिक रूपमा थापालाई त्यही डलर काण्डले गिरायो ।
७ भदौ २०६९ को एन्फा कार्यसमिति बैठकमा तत्कालीन उपाध्यक्ष सुनील कपालीले डलर काण्डबारे भनेका थिए, 'एन्फामा भएकाले हाम्रो पनि उत्तरदायित्व हुन्छ । एन्फासँग जोडिएको कुरा मिडियाबाट थाहा पाइयो । वास्तविकता के हो ? अध्यक्षज्यूले भन्नुभए प्रस्ट हुन्छौं ।'
कपालीले कुरा राखेका मात्र के थिए, थापा कड्किए, 'तिमीलाई कंग्रेसमा बुडापेस्ट (हंगेरी) लगें । त्यो पैसा कहाँबाट आयो ? त्यसमा तिमीले भत्ता खाँदा केही गर्न नपर्ने अहिले मलाई यस्तो गर्ने ? तिम्रो क्लबको हिसाब-किताब मैले हेर्न आएको छ ?' सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थापाको यस्तै शब्दहरू धाराप्रवाह बगे । कार्यसमितिका सबै चुपचाप सुनिरहे । डलर काण्डबारे जिज्ञासा राख्ने अर्का सदस्य चन्द्रकुमार महर्जनमात्र थिए । तत्कालीन उपाध्यक्ष कुमार थापा, सदस्य गणेश भट्टराई र रमेश रायमाझीले त थापाको बचाउ नै गरे । राष्ट्रिय खेलकुद परिषदले पनि प्रस्टीकरण दिन थापालाई पत्र लेखेर पनि फिर्ता लियो ।
भ्रष्टाचारको दलदल
रंगशाला बनाउन बारम्बार एन्फासँग पैसा नभएको र त्यो काम सरकारको भएको दाबी गर्दै आएका अध्यक्ष थापाले ७ भदौ २०६९ को कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, 'तीन-चार वर्षदेखि प्रतियोगिता आयोजना गर्दा टिकट बिक्रीबाट उठेको ८ करोड रुपैयाँ मैले गोप्य रूपमा राखेको छु । त्यो रकम फुटबल रंगशाला बनाउन खर्च गर्नेछु ।' उनी बोलिरहँदा डायसमा रहेका कार्यसमितिका पदाधिकारी आश्चर्य मान्दै थापातिर हेरिरहेका थिए ।
अडिट रिपोर्टमा समेत नदेखाइएको संस्थाको रकम व्यक्तिगत रूपमा राख्न पाइन्छ ? पत्रकारको प्रश्नको उनले स्पष्ट जवाफ दिएनन्, भनेमात्रै, 'फुटबलकै भलोका निम्ति गोप्य रूपमा राखेको हो ।' तर नेपाल सरकारको नियमानुसार संस्थाको रकम व्यक्तिले राख्न पाउँदैन ।
'कुनै पनि संस्थाको पैसा गोप्य राख्न मिल्दैन । राख्यो भने त्यो एक किसिमको भ्रष्टाचार हो,' एक वरिष्ठ अधिवक्ताले भने ।
डलर काण्डलगत्तै आएको ८ करोडले एन्फामा ठूलै हलचल ल्यायो । तर कसैले थापालाई प्रश्न सोध्ने आँट गरेनन् । उनी हरेक प्रतियोगिताको अनुमानित बजेट पत्रकार सम्मेलनमा सार्वजनिक गर्छन् । आम्दानीबारे सोध्दा एउटै रेडिमेड जवाफ दिन्छन्, 'हिसाब कार्यसमितिमा देखाउनेछौं ।' त्यसैले हुनसक्छ, आठौं साफको आम्दानीबारे आयोजना सकिएको महिना नाघ्दा पनि एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठ, कोषाध्यक्ष विराटजंग शाही र आर्थिक समिति संयोजक सुनील कपालीले स्पष्ट जवाफ दिन सकेनन् । 'अध्यक्ष, कोषाध्यक्ष र एकाउन्टेन्ट (मोती) बाहेक एन्फाको हिसाब-किताब अरुलाई थाहा हुन्न,' निवर्तमान उपाध्यक्षले बताए ।
अध्यक्ष थापा आफूले भ्रष्टाचार नगरेको दाबी गर्छन् । भन्छन्, 'गरेको प्रमाणित हुन्छ भने जस्तोसुकै सजाय भोग्न पनि तयार छु ।' हुन त विश्व खेलकुद नै माफिया र भ्रष्टको हातमा भएको बताइन्छ । भारतीय ओलम्पिक कमिटीका अध्यक्ष सुरेश काल्मडी, एएफसीका प्रमुख बीन हमाम, फिफाकै पूर्व अध्यक्ष जाओ हाभेलान्ज, ब्राजिली फुटबलका पूर्वप्रमुख रिकार्डो टेरा टेक्सेइरा, फिफाका सदस्य मणिलाल फर्नान्डो भ्रष्टाचार गरेको ठहर्याउँदै कारबाहीमा परिसकेका छन् । तटस्थ अदालतबाट उम्किएका हमाम र श्रीलंकाली फर्नान्डो थापाकै समूहका नेतृत्वकर्ता हुन् ।
२०६०-६१ मा ३ करोड ५६ लाख रुपैयाँ रहेको एन्फा अहिले २० करोडको बजेट बनाउने हैसियतको भइसकेको छ । राज्यबाट सबैभन्दा धेरै सुविधा लिने खेल संस्था पनि फुटबल नै हो । उसले प्रशासनिक र कार्यक्रम खर्चका निम्ति फिफाबाट वाषिर्क २ लाख ५० हजार र एएफसीबाट १ लाख ७५ हजार डलर लिँदै आएको छ । त्यस बोहक योजनाका निम्ति १२ वर्षर्यता फिफाबाट २८ लाख ५० हजार डलर पाएको छ । एएफसी, कतार र अरु संघको सहयोग र प्रायोजन रकम त बेग्लै छ । तर एन्फाले खेलाडीलाई विदेश यात्रामा दिने भत्ता झन्डै डेढ दशकदेखि एउटै छ, दैनिक १४ डलर । खेलाडीको तलब तोके पनि एन्फाले राष्ट्रिय टिमका स्वदेशी प्रशिक्षकको पारिश्रमिक निर्धारण गरेको छैन ।
खस्कँदो स्तर
चर्चामा ल्याउने 'पुपलिस्ट पोग्राम'ले नै एन्फाको क्यालेन्डर भरिएको छ । स्थानीय तहदेखि नै 'ग्रासरुट' फुटबलको विकास गर्ने कार्यक्रम खासै छैन । जुनियरका दुई प्रतियोगिता छन्, कोकाकोला कप र एनसेल कप । ती पनि नकआउट । राम्रा खेलाडी उत्पादनका निम्ति उमेर समूहका धेरैभन्दा धेरै प्रतियोगिता हुनुपर्ने एन्फाका पूर्व प्राविधिक निर्देशक भीम थापा बताउँछन् । उनले भने, 'ग्रासरुटको फुटबलमा जोड नदिएसम्म स्तरोन्नति गाह्रो छ ।'
जुन देशको लिग उत्कृष्ट छ, त्यसको फुटबल स्तर राम्रो मानिन्छ । फुटबलमा अब्बल देशहरूको लिग ९-१० महिना चल्छ । नेपालको भने ३ महिना मात्र । दक्षिण एसियामा सबैभन्दा राम्रो मानिएको भारतको आई लिग नौ महिना चल्छ । माल्दिभ्सको धिवेही लिग र बंगलादेशको बी लिग ६-६ महिना र पाकिस्तानी लिग ५ महिना सञ्चालन हुन्छ । देशको फुटबल राम्रो बनाउन लामो अवधिको लिग चाहिँदैन ? प्रश्नमा पत्रकार सम्मेलनमै गतवर्ष गणेश थापा झांेक्किए, 'फुटबलमा ४० वर्ष बिताएको व्यक्तित्व हुँ । नेपालमा बच्चादेखि बूढासम्मले चिन्ने ममात्रै हो । विदेशको फुटबलसँग तुलना नगरौं ।' नेपालको असफलताको कुरा गर्दा उनी इङल्यान्डले सन् १९६६ पछि वल्र्डकप जित्न नसकेको उदाहरण दिन्छन् ।
लिगमा मिलेमतोको खुलेआम आरोप लाग्दासमेत त्यसको सुनवाइ एन्फाले हालसम्म गरेको छैन । काठमाडौंको लिग नै नेपालको सर्वोच्च घरेलु प्रतियोगिता हो । दुईपल्ट राष्ट्रिय लिगको अभ्यास गरेर पनि त्यसलाई निरन्तरता दिएन ।
हाल ए डिभिजनमा १४ क्लब छन् । खेलाडीलाई नेपाली क्लबले भने १२ महिनाकै तलब दिनुपर्छ । विभागीय टिमहरू प्रहरी, आर्मी र एपीएफबाहेक अरु क्लबलाई खर्च धान्नै धौधौ छ । 'वाषिर्क ५०-६० लाख रुपैयाँले ए डिभिजनमा टिक्नै गाह्रो छ,' संकटाका अध्यक्ष इन्द्रमान तुलाधर बताउँछन् । उपाधि ताक्नेलाई त झन्डै १ करोड ५० लाख चाहिने भएको छ ।
लिग २०६९ को विजेताले ७५ लाख, उपविजेताले ३५ लाख, तेस्रोले १५ लाख, चौथोले ७ लाख पाए । पाँचौं र छैटौंले समान १ लाख ५० हजार तथा सातौं र आठौंले १-१ लाख पाए । जबकि शीर्ष आठ क्लबको बजेटमा ठूलो अन्तर थिएन । 'पुरस्कारको विभाजन वैज्ञानिक तवरले भएन,' एनआरटीका महासचिव विनय प्रधानले भने ।
फुटबल खेल्न बैंकबाट लिएको १ करोड ४० लाख रुपैयाँ तिर्न नसकेेर चारपल्टको लिग विजेता एनआरटीले त तत्काल नखेल्ने वैशाखमा घोषणै गर्यो । 'सधैं घाटामा गएर किन फुटबल खेल्ने ?' एनआरटी महासचिव प्रधानले भने । लिग च्याम्पियन थि्रस्टार १ करोडभन्दा धेरै ऋणमा छ । प्रत्येक क्लबले गतवर्ष कम्तीमा १५-२० लाख घाटा बेहोरे । धेरैले नियमित खेलाडीको तलबै दिनसकेका छैनन्,' नेपाली क्लबको व्यवस्थापन बजार मैत्री नभएकोले पनि घाटा भएको फुटबल मार्केटिङ कन्सल्ट्यान्ट विप्लव गौतमले बताए । 'सही तरिकाले बजार प्रबर्द्धन गरे घाटामा जाँदैन,' उनले भने ।
भौतिक पूर्वाधारको विकास, ठूलो लगानी र खेलाडी-प्रशिक्षकको मिहेनतमै उपलब्धि भरपर्ने बताउँछन्, प्रशिक्षक विराटकृष्ण श्रेष्ठ । 'स्तरीय प्रशिक्षक, खेलाडीलाई बाह्रै महिना फिट हुने र निरन्तर उच्च स्तरको प्रतिद्वन्द्वी विरुद्ध खेल्ने वातावरण, आधुनिक सुविधा भयो भने नेपालले पक्कै उपाधि भित्र्याउँछ,' उनले भने । अर्का प्रशिक्षक राजुकाजी शाक्य सफलता हात पार्न खेलाडीमा पनि मिहेनत गर्ने जोश र जित्नैपर्ने चाहना हुनुपर्ने बताउँछन् ।
लिग, अन्तर्राष्ट्रिय अनुभव, युवा प्रतिभा, स्तरीय प्रशिक्षक र भौतिक पूर्वाधारको अभावमै दक्षिण एसियामा नेपालले साख गुमाइरहेको छ । सन् १९८४ र १९९३ को दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेयता नेपालले अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्नसकेको छैन । क्रिकेटले एकपछि अर्को गर्दै उपाधि भित्र्याइरहेको स्थितिमा फुटबललाई पनि सफलता चाहिएको छ । तर व्यवस्थापकीय कमजोरी नसच्याएसम्म उपाधि हात पार्न सजिलो छैन ।
हालसम्मको तथ्यांकमा नेपालको प्रदर्शन
खेल जित ड्र हार गोल
१६४ ३९ २१ १०४ १४४-४१७
दस वर्षयता
५७ १८ १२ २७ ६०-७७
साफ च्याम्पियनसिपमा नेपाल
वर्ष (सन्) स्थान खेल जित बराबर हार गोल
१९९७ काठमाडौं २ - - २ १-५
१९९९ गोवा ४ १ - ३ ६-९
२००३ ढाका ३ १ - २ ४-४
२००५ कराची ३ १ - २ ४-५
२००८ माले/कोलम्बो ३ १ - २ ५-९
२००९ ढाका ३ १ १ १ ४-२
२०११ नयाँदिल्ली ४ १ २ १ ३-३
२०१३ काठमाडौं ४ २ १ १ ५-३
जम्मा २६ ८ ४ १४ ३३-४०
विदेशमा 'करिअर’
एनएमबी बैंक मछिन्द्रमा मासिक १ लाख ५० हजार रुपैयाँमा आबद्ध रोहित चन्द सर्वाधिक पारिश्रमिक पाउने नेपाली फुटबलर हुन् । पछिल्लो सिजन इन्डोनेसियन सुपर लिगको क्लब पर्सिजा जकार्तामा मासिक ३ हजार ५ सय अमेरिकी डलर बुझेका थिए । त्यहाँको सिजनपूर्व नै उनलाई आकर्षक प्रस्ताव आइरहेको छ ।
जनवरीमा सुरु हुने इन्डोनेसियन लिग नेपालको तुलनामा माथिल्लो स्तरको व्यावसायिक भएको उल्लेख गर्दै चन्दले भने, 'आफ्नो स्तर बढाउनुछ भने माथिल्लो स्तरको लिग खेल्नैपर्छ ।' नेपाली फुटबल खेलाडीले आफ्नो स्तर वृद्धिका निम्ति भारत वा त्योभन्दा माथिल्लो तहको लिग खेल्न आवश्यक रहेको पाकिस्तानी डिफेन्डर जेम्स रहमानले बताए । उनले इङलिस क्लब फुलहमबाट पि्रमियर लिग खेलेका छन् ।
सन् १९८२ मा नयाँदिल्लीमा भएको एसियन गेम्स र १९८० मा ढाकामा आयोजित एसियन यु-२१ च्याम्पियनसिपमा नेपालले राम्रो खेलेको थियो । त्यही प्रभावले औपचारिक रूपमा नेपाली खेलाडीका निम्ति विदेशी क्लबको ढोका खोल्यो । सन् १९८३ मा नरेन्द्रमान सिंहले भारत तथा कृष्ण थापा र गणेश थापाले बंगलादेशमा व्यावसायिक फुटबल करिअर सुरु गर्ने मौका पाए । हुन त नेपाली खेलाडीले राणाकालमै भारतीय क्लबबाट रकम लिएर फुटबल खेलेको बताइन्छ । तर प्रमाण भेटिएको छैन ।
हाल एन्फा अध्यक्ष गणेश थापाले ५ सिजन बंगलादेशको लिग खेले । उनी त्यहाँको महँगा खेलाडीमा पर्थे । पहिलो सिजन गणेश र कृष्णले राम्रो खेलेपछि ढाकामा नेपाली खेलाडीको माग बढेको थियो । अर्को सिजनमा नै ढाका वन्डर्सले ५ नेपाली खेलाडी अनुबन्ध गर्यो । नरेन्द्रमानले मुम्बईको मफतलालमा २ र महिन्द्रा एन्ड महिन्द्रामा ४ सिजन खेलेर टेवहालमा चारतले घर नै ठड्याए । तीन दशकअघि उनको मासिक कमाइ भारु. १०-१२ हजार थियो । छरिता फरवार्ड गणेश थापा, अलराउन्डर राजुकाजी शाक्यको लामो कपाल र उस्तै थ्रोको बंगलादेशी फ्यान अहिले पनि भेटिन्छन् । मणि शाह, देवनारायण चौधरी, उपेन्द्रमानसिंह पनि देशबाहिर राम्रैसँग जमेका थिए ।
लिग भारतमा ८-९ महिना र बंगलादेशमा २-३ महिना चल्थ्यो । छोटो अवधिमात्र भएकोले नेपालीको रोजाइमा बंगलादेश पर्ने गथ्र्यो । 'पारिश्रमिक पनि राम्रो थियो', हालका कृष्ण थापाले भने, 'गणेश र मैले सिजनको ६० हजार टाका (तत्कालीन ४८ हजार रुपैयाँ) बुझ्थ्यौं । त्यो पैसाले काठमाडौंमा राम्रो घर किन्न सकिन्थ्यो ।' हरि खड्का र नरेश जोशीको उत्कृष्ट प्रदर्शन सहयोगमा १९९८ मा मोहम्मदन बंगलादेशी लिग च्याम्पियन नै भयो । उनीहरूकै प्रदर्शनको प्रभावमा अर्को वर्ष १३ नेपाली खेलाडीले ढाकामा खेले ।
सात सिजन भारत र बंगलादेशमा खेल्दा हरिले मासिक २ हजार अमेरिकी डलर थापेको बताए । गोलकिपर उपेन्द्रमानसिंहको क्लब करिअर लगभग विदेशमै बित्यो । बैंकक, गोवा र ढाकामा दस वर्ष खेल्दा उनले मासिक १ हजार देखि १ हजार २ सय अमेरिकी डलर लिए । 'राम्रो खेले मूल्य बढ्दै जान्छ र आफ्नो स्तर पनि बढ्छ', ४ सिजनमात्र घरेलु फुटबल खेलेका उनले भने । अनिल गुरुङले २०६६ देखि दुई सिजन भारतीय क्लब आई लिगमा बिताए । त्यस अघि उनले बेलायतको छैटौं डिभिजनको क्लब वोकिङमा ट्रायल दिएका थिए ।
आठौं साफमा राम्रो खेल पस्केकाले अनिलसहित आधा दर्जन नेपाली खेलाडीलाई बंगलादेशी क्लबले अनुबन्धको प्रस्ताव गरेको छ । तर उनीहरूलाई नेपाली क्लबले छाड्न मानेका छैनन् । भारत र जापानमा माथिल्लो स्तरको लिग खेल्ने क्लबले बोलाएमा क्लबले खेलाडी छाड्ने गर्छन् । आफ्ना खेलाडीले माथिल्लो स्तरको लिग खेल्दा देशकै फुटबल स्तर बढ्ने उनीहरूको बुझाइ छ । नेपाली क्लब भने खेलाडी रोक्ने गर्छन् ।
आधुनिक फुटबल (सन् १९८२ यता) ३६ नेपाली खेलाडीले भारत, बंगलादेश, माल्दिभ्स, थाइल्यान्ड, मलेसिया, इन्डोनेसियाको लिग खेलेका छन् । सर्वाधिक २३ खेलाडीले बंगलादेशी लिगको अनुभव बटुले । भारतकै चर्चित क्लब इस्ट बंगाल र मोहन बगानका जर्सी पनि नेपाली खेलाडीले लगाइसकेका छन् । 'हेडर किङ' देवनारायणले दुवै क्लबबाट खेले । गणेशले इस्ट बंगाल र हरिले मोहन बगानको अग्रपंक्ति सम्हाले ।
फिफाको लाइसेन्स प्राप्त एजेन्टले विश्वभरि फुटबल खेलाडीका लागि व्यावसायिक क्लबको खोजी गर्छन् । खेलाडीलाई स्थानान्तर सम्भव भएमा उनीहरूले फिफाको नियमानुसार अनुबन्धको निश्चित केही प्रतिशत रकम पाउँछन् । नेपाली फुटबलमा फिफाको मान्यताप्राप्त 'एजेन्ट' हालसम्म छैन । त्यसैले नेपाली खेलाडीको विदेशमा करिअर कठिन बनेको राजुकाजी शाक्य मान्छन् ।
'जबसम्म विदेशको राम्रो लिग खेल्दैन, तबसम्म हाम्रो खेलाडीको स्तर वृद्धि गर्न मुस्किल छ,' शाक्यले भने । नेपाली खेलाडीको घट्दो विदेशी बजारसँगै घरेलु लिगमा अपि|mकी खेलाडीले वर्चस्व जमाउन थालेका छन् । गत वर्षमात्र १३ क्लबबाट ५० भन्दा धेरै अपि|mकीले सहिद स्मारक 'ए' डिभिजन लिग खेले । उनीहरूमै खेलको नतिजा निर्भर हुनथालेको छ । यसबारे आरसीटीका मुख्य प्रशिक्षक बैजु कपाली भन्छन्, 'घरेलु प्रतियोगितामा विदेशका राम्रा खेलाडीसँग खेल्न पाउनु राम्रो हो । आफूभन्दा उत्कृष्टसँगै वा विरुद्ध खेल्न पाउँदा हाम्रा खेलाडीलाई स्तर बढाउने मौका मिल्छ । त्यसैले राम्रा विदेशी खेलाडीको आगमनले नेपाली फुटबललाई फाइदा गर्छ ।'
####
.jpg)




0 comments
Write Down Your Comment