मर्केलद्वारा अमेरिकामाथि जासुसीको आरोप
###

बर्लिन (एजेन्सीहरू), कार्तिक ८ - जर्मनीकी चान्सलर एन्जेला मर्केलले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई फोन गरेर आफ्नो मोबाइलको गुप्तचरी गरिएकोमा आपत्ति प्रकट गरेकी छन् । उनले यो कदमलाई एकदमै गलत बताएकी छन् ।
उनले अमेरिकी अधिकारीसँग जर्मनीमा चलिरहेको गुप्तचरीको सीमाबारे तत्काल र स्पष्ट जानकारी दिन भनेकी छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मर्केलको कुराकानीको जासुसी नगरिएको बताएका छन् । दुवैबीच बुधबार कुराकानी भएको छ । 'अमेरिकाले न त चान्सलरको संवादमाथि निगरानी राखेको छ, न त कहिल्यै राख्ने नै छ,' ह्वाइट हाउसका प्रवक्ता जे कार्नीले भने ।

जर्मन सरकारले यसबारेमा कसरी जानकारी पायो भन्नेबारेमा केही बोलेको छैन । जर्मनीले यसलाई विश्वासमाथि ठूलो आघात भएको विश्लेषण गरेको छ । जर्मनीको विदेशमन्त्री गुइडो वेस्टरवेलेले यसबारेमा अमेरिकी राजदूत जोन इमर्सनलाई भेट्न बोलाएका छन् ।
दुई विश्वसनीय मित्र रहेको मुलुकबीच यस्तो गतिविधिको गुन्जाइस नहुनुपर्ने बर्लिनको अडान छ । अमेरिकाको सहयोगी मुलुकभित्र उत्पन्न यस्तो शंकाबारे छानबिन भइरहेको कार्नीले बताए । प|mान्स र जर्मनीको पत्रिकाले यसबारेमा खबर प्रकाशित गरेपछि विवाद सिर्जना भएको हो । अमेरिकी गुप्तचर निकाय -सीआईए) का पूर्वकर्मचारी एड्वर्ड स्नोडेनबाट प्राप्त जानकारीको आधारमा यो खबर दिइएको थियो । प|mान्सले पनि आफ्नो मुलुकस्थित अमेरिकी राजदूतलाई यस विषयमा प्रश्न राखिसकेको छ ।
स्न्ाोडेनले सार्वजनिक गरेको गुप्तचरी आरोपछि अमेरिकाले सहयोग मुलुकको रिसको सामना गर्नुपरिरहेको छ । ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले यही कारणले यो महिना अमेरिकाको भ्रमणै रद्द गरिन् । अमेरिकाको राष्ट्रिय सुरक्षा निकायले उनको मुलुक र कार्यालयको जासुसी गरेको उनले आरोप लगाएकी थिइन् । राष्ट्रसंघमा अमेरिकाले आतंकवाद, लागूपदार्थ ओसारपसार र अन्य संगठित अपराधबाट रक्षाका लागि अन्य मुलुकको सूचना संकनल गरेको भन्ने तर्कलाई उनले ठाडै अस्वीकारेकी थिइन् । अन्तर्राष्ट्रिय विरोधको कारणले अमेरिकाले आफ्नो गुप्तचर प्रणालीको समीक्षा सुरु गरेको छ ।


####

0 comments

Write Down Your Comment