###
|
काठमाडौ, कात्तिक ७ – असोज अन्तिम हप्ता काठमाडौंमा भएको एक कार्यक्रममा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले बन्द हडताल नगर्ने प्रतिबद्धता जनाउँदै यसलाई घोषणापत्रमै उल्लेख गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर घोषणापत्रमा कांग्रेस र एमालेले मात्र बन्द नगर्ने प्रतिबद्धता जनाएका छन् । बन्द, हडतालको विषयमा एकीकृत नेकपा माओवादीको घोषणापत्र मौन छ । सबैभन्दा पहिले घोषणापत्र सार्वजनिक गर्ने राप्रपा नेपालले पनि बन्द नगर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा बन्दबारे यस्तो उल्लेख गरेको छ:
‘नेपाली जनताको शान्तिप्रतिको आकांक्षालाई सम्बोधन गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माणको लागि आगामी दिनमा नेपाली कांग्रेसले कुनैपनि अवस्थामा नेपाल बन्द वा कुनै स्थान विशेष बन्द जस्तो कार्यक्रम राख्ने छैन र त्यस्ता कार्यलाई प्रोत्साहन गर्ने छैन । बन्दलाई बन्द गर्ने नीति कांग्रेसले लिनेछ ।’
यस्तै एमालेको घोषणापत्रमा भनिएको छ:
‘नेकपा (एमाले यो पनि घोषणा गर्दछ
१. जस्ता सुकै माग, गुनासो या विरोधलाई लिएर ‘नेपाल बन्द’ गर्ने प्रचलनले जनतालाई सास्ती, अर्थतन्त्रमा नोक्सानी, विद्यार्थीहरूको भविष्य बर्बाद र नेपालको छवि धमिलो बनाउँदै लगेको छ, समस्याको वार्ताद्वारा समाधान र विरो धमा उत्रिनै परेपनि अन्य विकल्प प्रस्तुत गर्ने सङ्कल्प गर्दै नेकपा एमाले घोषणा गर्दछ– हामी कहिल्यै नेपाल बन्द गर्ने छैनौं ।’
यस्तै राप्रपा नेपालको घोषणापत्रमा बन्द नगर्ने प्रतिबद्धताबारे यसो भनिएको छ:
‘देशको आर्थिक विकासमा बन्दको संस्कृतिले अत्यन्त नकरात्मक प्रभाव पारेको छ । साथै बन्दले गर्दा सामाजिक, शैक्षिक एवं जनजीवनका प्रत्येक क्षेत्रलाई प्रतिकुल प्रभाव पार्ने गरेको छ ।
यस तथ्यलाई दृष्टिगत गर्दै राप्रपा नेपालले नेपाल बन्द जस्तो कार्य कदापि नगर्ने प्रतिबद्धता व्यक्त गर्दछ । यस्तै स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्याँस तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण आदि क्षेत्रमा हडतालमा प्रतिबन्ध लगाइनेछ ।’
-
####
.jpg)




0 comments
Write Down Your Comment