###
|
१२ कात्तिक, काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नं १ मा आफ्नो पार्टीले चुनाव जितिसकेको भन्दै मतदाता र उम्मेद्वारलाई अगि्रम वधाइ दिनुभएको छ । काठमाडौं १ मा प्रचण्डकी छोरी रेणु दाहाल एमाओवादीतर्फबाट उम्मेद्वार हुनुहुन्छ । ‘राजनीतिक भूकम्पको केन्द्र नयाँ वानेश्वरका बासिन्दालाई अगि्रम बधाइ छ, तपाईहरुको यो उपस्थिति हेर्दा हामीले चुनाव जितिसक्यौं ।’
छोरीको चुनाव क्षेत्रअन्तरगत नयाँ बानेश्वर चोकमा मंगलबार बिहान आयोजित सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाजुरादेखि ताप्लेजुङसम्म भ्रमण गरेको बताउँदै देशैभरि एमाओवादीको लहर आइसकेको र आफ्नो पार्टीले जितिसकेको दाबी गर्नुभयो । ‘कांग्रेस र एमालेका नेताहरु आफ्नै चुनाव क्षेत्रमा मात्रै सीमित छन्, म कस्तो छु भने राष्ट्रकै नेता भएकाले २ सय ४० वटै चुनाव क्षेत्रको उम्मेद्वारजस्तो भएको छु ।’ उहाँले भन्नुभयो, -मैले बाजुरा, अछाम, डोटी, डडेलधुरा, कैलाली कञ्चनपुर, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा र मधेसका धेरै जिल्लामा घुमिसकें, देशैभरि एमाओवादीको पक्षमा लहर आएको छ ।’
\
नेपाली कांग्रेसले विगतमा बहुमत ल्याउँदा पनि देशको नेतृत्व गर्न नसकेको र आफ्नै रुखले किचिएर बहुमतको सरकार ढलेको बताउनुभयो । त्यसैगरी नेकपा एमालेका नेताहरुले रुक्माङगद कट्वाल प्रकरणमा आफूलाई रुखमा चढाएर फेद ढालेको आरोप लगाउनुभयो । ‘आफ्नै रुखले किचिने कांग्रेस र अर्कालाई माथि चढाएर फेल ढाल्ने एमालेजस्ता धोकेवाजले देशको नेतृत्व गर्न सक्दैनन् ।’ प्रचण्डले भन्नुभयो, मैले छिमेकी देशको चीन र भारतको भ्रमण गरेर अब देशको जिम्मेदारी (जिम्मेवारी) हामीले गर्छौं भनेको छु, हेटौडा महाधिवेशनले पनि देश हामीले जिम्मा लिने निर्णय गरेका छौं ।’ घोषणापत्रमा राष्ट्र नेताको संज्ञा दिइएका एमाओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको नाम लिँदै ‘हत्यारा’ शब्द प्रयोग गर्नुभयो ।
मधेसमा ५० सीट थप्ने दाबी
अघिल्लो संविधानसभामा मधेसमा थोरै मत आएका कारण पार्टीले बहुमत पुर्याउन नसकेको भन्दै उहाँले यसपालि मधेसबाट ५० सीट थपिने दाबी गर्नुभयो । जनताले इतिहासमा एकपटक एउटा दललाई अवसर दिने भन्दै कांग्रेस र एमालेले इतिहासमा त्यो अवसर पाइसकेको र अब देशको नेतृत्व गर्न नसक्ने प्रचण्डले दाबी गर्नुभयो । नयाँ बानेश्वर चोकको कृष्ण सदन छेउमा बनाइएको सानो मञ्चबाट निकै ठूलो भीडलाई सम्बोधन गर्दै आफूहरुले चुनाव नजिते संविधान नबन्ने र देशले मात्रै नभई भावी सन्ततीले समेत दुःख पाउने उहाँले बताउनुभयो । मञ्चमा एमाओवादी केन्द्रीय सदस्य उर्मिला अर्याल, पूर्वसभासद झक्कु सुवेदी, केन्द्रीय सदस्य चूडामणि खड्कालगायतको उपस्थिति थियो । विभिन्न ठाउँबाट नारा जुलुसका साम कार्यकर्ताहरु उपस्थित थिए । जुलुसमा केही डाक्टरहरुसमेत सेता लुगामा रेणु दाहालको व्यानर बोकेर सहभागी भएका थिए ।
मिडिया र निर्वाचन आयोगमाथि रेणुको आलोचना
यसैवीच सभालाई सम्बोधन गर्दै प्रचण्ड पुत्री रेणु दाहालले मिडिया र निर्वाचन आयोगलाई आलोचना गर्नुभयो । उहाँले आफ्ना प्रतिश्पर्धी दलहरुलाई वर्ग बैरी र दुश्मन को संज्ञा दिनुभयो । रंगीन भित्तेपात्रो र पोष्टर छापेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोमा उहाँले मञ्चबाटै आयोगलाई जवाफ दिँदै कांग्रेस र एमालेले प्रयोग गरेको रंगीन बोर्डहरु हटाउन आग्रह गर्नुभयो । एमाओवादी उम्मेद्वार दाहालले काठमाडौं क्षेत्र नं १ माओवादीमय बनेको बताउनुभयो । आफ्ना प्रत्यासी प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ का जनताको समस्या समाधान नगरेकाले जनतामा आक्रोश रहेको रेणुले बताउनुभयो । आफूले चुनाव जितेको खण्डमा प्रकाशमानको गल्तीबाट पाठ सिक्दै काठमाडौं १ मा राष्ट्रिय योजनाहरु ल्याउने उहाँले आश्वासन दिनुभयो । मिडियाले आफ्नो बारेमा अनर्गल प्रचार गरेको आरोपसमेत लगाउनुभयो । दाहालको चुनावी सभामा आचारसंहिता विपरीत रंगीन पोष्टरहरु जतात्यतै टाँगिएको थियो । जुलुसमा सहभागीहरुले पनि त्यस्तै रंगीन ब्यानरहरु प्रयोग गरेका थिए । कार्यक्रममा करिब ३ हजार मानिसहरु विभिन्न दलबाट प्रवेश गरेको भन्दै केहीलाई प्रचण्डका हातबाट टीका लगाइएको थियो ।
####
.jpg)





0 comments
Write Down Your Comment