विवादास्पद ल्हारक्याल लामालाई एमाओवादीले भित्र्यायो
###

एमालेका पूर्वसभासद एमाओवादीमा
५ कात्तिक, काठमाडौं । दोहोरो नागरिकता र पासपोर्ट बोकेको आरोप लागेपछि झलनाथ खनालको मन्त्रिमण्डलबाट निकालिएका एमाले पूर्वसभासद ल्हारक्याल लामा एमाओवादीमा प्रवेश गरेका छन् । मंगलबार एमाओवादीको मुख्यालय पेरिसडाँडामा प्रचण्डका हातबाट अवीर र खादा लगाएर लामा एमाओवादी प्रवेश गरेका हुन् ।



 एमाओवादीमा प्रवेश गर्ने क्रममा लामाले आफूसँग दोहोरा नागरिकता र पासपोर्ट नभएको दाबी गरे। लामासँगै मंगलबार एमाले पूर्वसभासद टासी स्याङबो गुरुङसेनी र अनुसासन आयोगका सदस्य ऋषिराम देवकोटा पनि प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गरेका छन् । लामा सिन्धुपाल्चोकबाट एमालेका तर्फबाट ०६४ सालमा समानुपातिक सभासद बनेका थिए ।

उनको असली नाम डा. खेन्पो छिमे छिरिङ हो । योल्मो मातृभाषाका लामाले वुद्ध दर्शनमा पीएचडी गरेर डा. लेख्ने गरेको बताइन्छ । ०५७ सालदेखि राजनीति शुरु गरेको बताउने लामालाई सभासद बनाउँदा नै एमालेभित्र विवाद थियो । झलनाथ खनालले अर्थराज्यमन्त्री बनाएपछि दोहोरो नागरिकता प्रकरणमा तीब्र विरोध भएकाले लामाले तत्कालै राजीनामा दिनुपरेको थियो । संविधानसभामा लामा राष्ट्रिय हित संरक्षण समितिको सदस्य थिए ।

यस्तो थियो लामा माथिको आरोप

अर्थराज्यमन्त्री भएका लामालाई तीन देशका नागरिक रहेको आरोप लागेको थियो । लामा कांग्रेस नेता खुमबहादुर खड्का स्थानीय विकास मन्त्री हुँदा गुम्वा विकास तथा व्यवस्थापन समितिको अध्यक्ष बनेर विवादमा तानिएका थिए । नेपालको मन्त्री भए पनि भारतको नागरिक भनी A2129812 नम्बरको भारतीय पासपोर्ट र तिब्बतको नागरिक भनी भारतबाटै तिब्बती शरणार्थी कार्ड लिएको फेला परेपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

उनको नेपाली नागरिकतामा चारक्याल लामा, सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाविस वार्ड नम्बर ६, मेलम्ची गाउँ लेखिएको छ । उनको नागरिकता नम्बरः ६३६९ र जारी मिति २०५०/१०/१९ रहेको छ ।

को हुन् टासी स्याङ्बो ?

ल्हारक्यालसँगै एमाओवादीका प्रवेश गर्ने अर्की एमाले पूर्वसभासद टासी स्याङ्बो गुरुङसेनी मुस्ताङको मुक्तिनाथमा जन्मेकी हुन् । उनलाई एमालेले मुस्ताङबाट समानुपातिक तर्फको सभासद बनाएको थियो । उनको शैक्षिक योग्यता साधारण लेखपढ रहेको र उनले ०४३ सालदेखि एमालेको राजनीति गरेको बताइएको छ ।
####

0 comments

Write Down Your Comment