###
|
बारा, कात्तिक ४ बाराको सदरमुकाम कलैयामा म्यादी प्रहरी र नेपाल प्रहरी बीच झडप भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले दुई महिनाको तलब दिने आश्वासन दिए पनि अहिले आएर डेढ महिनाको मात्रै तलबभत्ता उपलब्ध गराउन लागेको भन्दै म्यादी प्रहरीहरु विरोधमा उत्रिए पछि झडप भएको हो ।
कलैयास्थित सिद्धेश्वर मन्दिर परिसरमा भेला भएर म्यादी प्रहरीहरु विरोध प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी पुगेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले समान्य लाठी चार्ज गरेपछि दुवै पक्षबिच झडप भएको हो ।
म्यादी प्रहरीहरुले जिल्ला प्रहरी कार्यालमा ढुंगा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।
नेपाल प्रहरीको लाठि चार्जबाट १० जना भन्दा बढि म्यादी प्रहरीहरु घाईते भएका छन् । घाईतेहरुको कलैया अस्पताल र स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । प्रहरी उपरीक्षक ठाकुर प्रसाद ज्ञवालीले भने कार्यालयमा ढुङ्गा हान्न आएका म्यादी प्रहरीलाई लखेटिएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरिक्षक रामनाथ घिमिरेले प्रहरीले लाठी चार्ज नगरेको दाबी गर्नु भयो ।
नाराजुलुश गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेका म्यादी प्रहरी र नेपाल प्रहरीबीच सामान्य धकेलाधकेल मात्र भएको उहाँले बताउनुभयो । म्यादी प्रहरीहरु अहिले कलैयाको भरत चोकमा भेला भएर बसेका छन ।
म्यादी प्रहरीको थप प्रदर्शन हुन सक्ने भन्दै अहिले कलैयाको भरत चोकदेखि जिल्ला प्रहरी कार्यालय सम्मको क्षेत्रमा व्यापक संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । संविधानसभा निर्वाचनको सुरक्षाका लागि बारामा १ हजार ५ सय म्यादी प्रहरी भर्ना गरिएको प्रहरी उपरिक्षक ज्ञवालीले जानकारी दिनुभयो ।
####
.jpg)




0 comments
Write Down Your Comment