###
|
इलाम, कात्तिक १९ – मंसिर ४ गते हुने संविधानसभा चुनावको सुरक्षा व्यवस्था बलियो बनाउन मंगलवारदेखि नेपाली सेना दोस्रो चरणमा देशभर थप परिचालन हुँदैछ ।
निर्वाचनको एक महिनाअघि गएको कात्तिक ३ गते ब्यारेकबाट निस्केर हरेक निर्वाचन क्षेत्रमा दुईटा अस्थायी ब्यारेक बनाएर बसेको सेना मंगलबारदेखि थप ठाउँमा परिचालन हुन लागेको हो ।
निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सहयोगीका रुपमा परिचालन भएको सेनाले विभिन्न नौवटा जिम्मेवारी बहन गर्दै चुनावी सुरक्षा दह्रो पार्नेछ । मंगलवारदेखि हरेक निर्वाचन क्षेत्रका गाउँ पुग्ने सेनाले मतदानस्थल आसपासको बाहिरी सुरक्षा बलियो बनाउनेछ ।
इलामको गढीथुम्कास्थित कालीध्वज गणका गणपति कर्णेल सुवासजङ थापाले इलाममा चुनावी सुरक्षाका लागि पाँच ठाउँमा अस्थायी क्याम्प बनाएर बसेको सेना मंगलवारदेखि १५ नयाँ ठाउँमा विस्तार हुने बताउनुभयो । क्षेत्र नम्बर १ को आइतवारेमा बस्दै आएको सेना मंगलवार जिर्मले र दानावारीका लागि बन्दोबस्तीका सामग्रीसहित निस्कँदैछ ।
क्षेत्र नम्बर २ का लागि चुलाचुली, बाँझो, साकफारा, आमचोक, गजुरमुखी र मंगलवारेमा सेनाको टुकुडी बस्दैछ । यस्तै, क्षेत्र नम्बर ३ को चुनावी सुरक्षाका लागि माबु, माइमझुवा, नयाँबजार, प्याङ, नामसालिङ र चमैंतामा सेनाको टुकुडी राखिँदैछ ।
इलाम सुरक्षा दृष्टिले सामान्य भएकाले मतदानस्थल बाहिरको आउटर रिङ चुस्तदुरुस्त पार्नु सेनाको मुख्य जिम्मेवारी हुने जानकारी दिँदै कर्णेल थापाले सुरक्षा संवेदनशीलता भएका जिल्लामा भने फरक भूमिका हुने बताउनुभयो ।
####
.jpg)




0 comments
Write Down Your Comment