क्रिकेट टोलीलाई मन्त्रिपरिषद्का अध्यक्षको बधाई
###

काठमाडौं, मंसिर १२ - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनौट भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।
सन् २०१४ मा बंगलादेशमा हुने विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि छनौट भएकोमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले खुसी व्यक्त गर्दै यस जीत नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता भएको पनि उल्लेख गर्नुभएको छ ।
यस सफलतासँगै नेपाल र नेपाली खेलकुदको प्रतिष्ठा विश्वसामु थप अभिबृद्धि भएको विश्वास व्यक्त गर्नुका साथै समस्त नेपाली खेलप्रेमीहरुको उत्साह र हौसला पनि बृद्धि भएको मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले बताउनुभएको छ ।
विश्वकप खेलमा छनौट हुने अवस्थासम्म आइपुग्न नेपाली क्रिकेट टोलीका कप्तान, सदस्यहरु, प्रशिक्षक, समर्थक तथा क्रिकेटसँग सम्बद्ध सबैले गरेको निरन्तरको प्रयास, लगनशीलता र आत्मविश्वासको प्रंशसा गर्दै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले आगामी दिनमा लागि नेपाली क्रिकेट टोलीको निरन्तर सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।  
नेपाल वुधवार भएको खेलमा हङकङलाई हराउँदै ट्वान्टी ट्वान्टी विश्वकपका लागि छनौट भएको थियो । यस्तै नेपाल क्रिकेट संघ क्यानले पनि विज्ञप्ति निकाल्दै नेपाली टिम विश्वकपमा छनौट भएकोमा विजयी राष्ट्रिय क्रिकेट टोलीलगायत सबै नेपालीलाई बधाई ज्ञापन गरेको छ ।
####

0 comments

Write Down Your Comment