###
|
काठमाडौ, कार्तिक २१ - नेकपा-माओवादीसहित ३३ दलीय मोर्चाले चुनाव अघि गर्ने भनिएको दस दिने आमहडताललाई पुनर्विचार गर्ने भएको छ । मंसिर ४ को संविधानसभा चुनावमा अवरोध नगर्न देशभित्र र बाहिरबाट चर्को दबाब परेपछि मोर्चाले पुनर्विचार गर्न लागेको हो । लामो अवधिसम्म बन्द, हडताल गर्दा सर्वसाधारणलाई बढी अप्ठ्यारो पर्न सक्ने भन्दै त्यसमा फेरबदल हुन सक्ने मोर्चाका नेताहरूले बताए । पूर्वघोषित कार्यक्रमअनुसार आमहडतालको पहिलो एक दिन कात्तिक २५ गते सशक्त कार्यान्वयन गर्ने र अन्य दिन के गर्ने भन्नेबारे पछि निर्णय हुने माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बुधबार कान्तिपुरलाई बताए ।
'पहिले हामीले दस दिनसम्मको कार्यक्रम तय गरेका थियौं । अब त्यतिबेलाको राजनीतिक र सामाजिक परिस्थिति के हुन्छ हेरेर निर्णय गर्नेछौं,' गजुरेलले भने । यस विषयमा मोर्चाका नेताहरूबीच समेत अनौपचारिक सहमति भइसकेको छ ।
नेता गजुरेलले आफूहरूले गर्ने आमहडतालले चुनावी नौटंकीको विरोध गरे पनि धेरै दिनसम्म जारी राख्दा जनजीवन अस्तव्यस्त हुने भएकाले पुनर्विचार गर्नुपर्ने सुझावहरू विभिन्न क्षेत्रबाट पाएको बताए । 'हाम्रो उद्देश्य जनतालाई दुःख दिनु होइन । त्यसैले चुनावी तिथिसम्म कस्तो विरोध कार्यक्रम गर्ने भन्ने विषयमा कात्तिक २५ पछि नै निर्णय गर्ने भएका छौं,' उनले भने ।
यसअघि मोर्चाले मंसिर ५ गतेसम्म आमहडतालको कार्यक्रम सार्वजनिक गरेको थियो । त्यतिबेला पनि दस दिनसम्म आमहडताल गर्ने/नगर्ने भन्नेमा लामो विवाद भएको मोर्चाका अर्का नेता मणि थापाले बताए ।
'जनजीवन अस्तव्यस्त हुने गरी हडताल गर्नु हुन्न । त्यसले उल्टै हानि पुर्याउन सक्छ भनेर उतिबेला पनि छलफल भएकै थियो,' थापाले त्यतिबेला माओवादीकै बढी दबाबमा उक्त कार्यक्रम तय गरेको उल्लेख गर्दै भने, 'अहिले पनि हामीलाई विभिन्न कोणबाट सुझाव आएका छ । हामी त्यसलाई पुनरावलोकन गर्छौं ।'
अन्तर्राष्ट्रिय समुदायका तर्फबाट राष्ट्रसंघले बुधबार विज्ञप्ति जारी गर्दै बन्द, हडताल गैरकानुनी भन्दै चुनावमा जनसहभागिताका लागि अवरोध नगर्न आग्रह गरेको छ । यसअघि माओवादी अध्यक्ष्ा मोहन वैद्य र अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका नेता गजुरेँसूगको भेटमा पनि राष्ट्रसंघका आवासीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकले आमहडताललाई पुनर्विचार गर्न भनेका थिए । जवाफमा वैद्यले आफूहरूको कार्यक्रम शान्तिपूर्ण हुने बताएका थिए । उपाध्यक्ष्ा गजुरेलले लोकतन्त्रका नाममा अन्तर्राष्ट्रिय समुदायले मंसिर ४ को चुनावलाई समर्थन गरे पनि त्यसले मुलुकको हित नगर्ने र संविधान पनि नबन्ने दाबी गरे । 'मंसिर ४ को चुनावले समाधान ँदूदैन । संविधान लेख्नका लागि यो चुनाव हुन लागेको पनि होइन भन्ने हाम्रो निष्कर्ष यथा्त् हो', आन्दोलनको स्वरूपबारे मात्र पुनर्विचार हुने उल्लेख गर्दर्ै उनले भने, 'अन्तर्राष्ट्रिय समुदायलाई तपाईंहरूले मानेको शक्तिपृथकीकरणको प्रयोग पनि देखियो भनेर हामीले प्रस्टै भनेका छौं ।'
####
.jpg)




0 comments
Write Down Your Comment