###
|
बुटवल, कार्तिक २१ - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको उम्मेदवारीले लुम्बिनीका २६ मध्ये बुद्धिजीवी 'सर्कल' र उद्योगी व्यवसायीको बसोवास रहेको रूपन्देही ४ ले बढ्ता चर्चा पाएको छ ।
यस क्षेत्रमा बुटवल नगरपालिकासहित नगरोन्मुख पर्रोहा र मोतीपुर गाविस पर्छन् । लुम्बिनीमा राष्ट्रिय पहिचान बनाएका झन्डै दर्जन उम्मेदवार मैदानमा रहे पनि चर्चाका हिसाबले सबैको ध्यान क्षेत्र नम्बर ४ तिरै केन्दि्रत छ ।
सबैतिर चर्चा सुनिन्छ, 'भट्टराईले जित्लान् कि विष्णु पौडेलले ?' सामान्य चियापसलदेखि बुद्धिजीवी सर्कलसम्मै दिनभर दुई उम्मेदवारको चर्चा हुन्छ । दुई 'हेबीवेट' उम्मेदवारबीचको लडाइँले कांग्रेसका इमानदार र विकासप्रेमी भनेर चिनिएका सूर्यप्रसाद प्रधानले बाजी मार्न सक्ने अडल काट्नेहरू पनि भेटिन्छन्् ।
लुम्बिनीकै कपिलवस्तु, अर्घाखाँची र गुल्मीमा समेत एमाओवादीका केन्द्रीय तहका उम्मेदवार छन् । तर, बुटवल क्षेत्रमा भट्टराईको उम्मेदवारीले कपिलवस्तु १ मा भिडेका पूर्वडेपुटी कमान्डर बलदेव, अर्घाखाँची १ का टोपबहादुर रायमाझी र गुल्मी ३ का बामदेव छेत्री छायामा छन् ।
एमाओवादीका मात्रै होइन, कांग्रेस र एमालेकै राष्ट्रिय पहिचान बनाएकाको समेत चर्चा कम सुनिन्छ । एमालेका छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, घनश्याम भुसाल, रामनाथ ढकाल, कांग्रेसका दीपकुमार उपाध्याय, बालकृष्ण खाँड, रामकृष्ण ताम्राकार, शशांक कोइराला र राप्रपाका ध्रुवबहादुर प्रधानदेखि दीपक बोहरासम्म लुम्बिनीमै भिडेका छन् ।
भट्टराईले गोरखा १ र रूपन्देही ४ बाट उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएसँगै उनले दुवै क्षेत्रमा पालैपालो समय दिएर प्रचार गरिरहेका छन् । उनी नहुँदा पार्टीले प्रचार गरिरहेको छ । प्रचारका सिलसिलामा बुटवल आउँदा उनको चर्चा बढी हुन्छ । उनीसँग हात मिलाउनेको पनि ताँती लाग्छ । स्थानीयको भोट तान्न जातीय व्यक्तित्व र प्रभावशालीलाई सँगै लिएर उनी घरदैलामा पुग्छन् ।
बुटवल निकै आउजाउ गरिरहे पनि बुद्धिजीवी, पढेलेखेकाहरूको सर्कल र उद्योगी व्यवसायीका मनमा भने अझै भट्टराई छिर्न नसकेको बताउने पनि निकै छन् । उनले जतिसुकै विकासका नारा बाँडे पनि पार्टीभित्र उनका एजेन्डाले स्थान पाउन नसक्ने र 'टेस्टेड' भइसकेकाले उम्मेदवारका हिसाबले पौडेललाई मजबुत ठान्ने तप्का ठूलै छ । बुटवल अमरपथका व्यापारी आनन्द जयसवाल भट्टराईले जतिसुकै मिठा कुरा गरे पनि आन्तरिक द्वन्द्वका कारण कार्यान्वयन गर्न नसक्ने भएकाले धेरैको रोजाइमा पौडेल नै रहेको बताउँछन् । उनी भन्छन््, 'भट्टराई कुरा गर्ने हुन् काम गर्न उनको पार्टीले दिँदैन, यहाँ जिते पनि भनेजति काम गर्लान् भन्ने विश्वास गर्न सकिन्नँ ।' टुरिस्ट उम्मेदवारको आरोप पनि उनीमाथि छ ।
एमालेका पौडेल लामो समयदेखि बुटवलमै रहेकाले उनी आफ्नै घरदैलाको जस्तो लाग्ने व्यापारी हाजी इफतिखार बताउँछन् । पौडेलको जन्मथलो स्याङ्जा हो । तर नगरपालिकामा एमाले संगठन मजबुत हुनु पनि पौडेलको 'प्लस पोइन्ट' हो । पार्टी फुटको असर तल्लो तहसम्मै परेकाले एमाओवादी संगठन कमजोर मानिन्छ । पार्टी एक हुँदाको कार्यालय वैद्यपक्षसँगै छ भने, त्यतिबेलाका इञ्चार्ज वसन्त श्रेष्ठ वैद्यपक्षमै इञ्चार्ज छन् ।
दुवै उम्मेदवारले भोट तान्न सजिलो होस् भनेर स्थानियलाई समानुपातिकमा समेट्न चुकेका छैनन् । एमालेले अमरपथका धनाढ्य (व्यवसायी) हाजी रुहुल अमिन, भोजप्रसाद श्रेष्ठ, कुमार थापा मगर, एकराज विश्वकर्मा, जानकी न्यौपाने, कमला विकलगायतलाई राखेको छ भने एमाओवादीले अघिल्लो चुनाव लडेका भक्तिप्रसाद पाण्डे, डिलाराम आचार्य, रिचु श्रेष्ठ र होमबहादुर गलामीलाई राखेको छ । गलामी एमाले छाडेर संघीय समाजवादी हुँदै एमाओवादीमा गएका हुन्, उनलाई देखाएर जनजाती भोट तान्ने दाउमा एमाओवादी छ । आचार्य ४ नम्बर क्षेत्रका चुनावी कमान्डर नै छन् ।
संगठन मजबुत रहे पनि कार्यकर्ता चोरिन सक्ने भयले एमाले चनाखो भएको छ । क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन समितिका प्रमुख नेत्र पन्थी एमालेको संगठन कहिल्यै पनि तलमाथि नहुने भएकाले जित्न समस्या नभएको बताउँछन् । राष्ट्रिय व्यक्ति भन्दै एमाओवादीले भट्टराईलाई उम्मेदवार बनाए पनि पार्टीलाई असर नपरेको उनको दाबी छ ।
एमाओवादीको ध्यान अरू पार्टीबाट तानतुन गर्नेभन्दा यहाँका प्रभावशाली मानिने उद्योगी, व्यवसायी, बुद्धिजीवी, सुकुम्बासी र उत्पीडित वर्गतिर छ । एमाओवादी अवध राज्य इञ्चार्ज टंकमणि शर्मा आफूहरूलाई बुद्धिजीवी सर्कलको ठूलो सहयोग हुने अपेक्षा गर्छन् ।
एमाओवादीले सुकुम्बासी, दलित, उद्योगी व्यवसायी र बुद्धिजीवीको भोट हात पार्ने दाबी गरेको छ । बुटवल नगरपालिकाको १३ नम्बर वडाको तिनाउखोला अतिक्रमण गरेर बसेको बस्तीमा १० हजार बढी भोट छ । एमाओवादी र एमाले दुवैले त्यहींको भोटलाई निर्णायक मान्दै आफ्नो पक्षमा पार्न कसरत गरेका छन्् ।
एमाओवादीले सुकुम्बासीका भोट तान्न जोडबल गरेपछि एमालेले भट्टराईले काठमाडौंमा सुकुम्बासीलाई लखेटेजस्तै हालत यहाँ पनि बनाइदिन सक्ने भन्दै उनीहरूलाई आफ्नो पक्षमै अडिग राख्न कसरत गरेको छ । त्यसका लागि एमालेले स्थानीय चल्तापुर्जा मानिने नहकुल शाहीलगायतलाई परिचालन गरेको छ ।
एमाले उम्मेदवार पौडेल नगरपालिकामा घरदैलोमै व्यस्त छन् भने भट्टराई पार्टीको मेची-महाकाली निर्वाचन अभियानमा छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment