###
|
लामो समयदेखि राष्ट्रिय स्तरबाट र केही वर्षदेखि जनस्तरबाट मात्र पुस २७ गते मनाइँदै आएको 'राष्ट्रिय एकता दिवस'का बारेमा हिजोआज विभिन्न तर्क-वितर्क हुने गरेका छन् । पक्ष-विपक्षबाट उठ्ने गरेका यसका स्वरहरूलाई ऐतिहासिक घटनाक्रम र राष्ट्रको मौलिक सिद्धान्तको विशिष्टताका आधारमा अध्ययन गर्नुपर्ने आवश्यकता छ ।
नेपालको सन्दर्भमा ऐतिहासिक-सामाजिक अध्ययन पद्धति आजभोलि हाम्रो भौगोलिक, राजनीतिक र सामाजिक परिसम्बन्धका आधारमा भन्दा बढी पश्चिमा सभ्यताको सीमित दर्शन सम्बन्धका आधारमा हुने गरेको छ । यसले नेपालको ऐतिहासिक घटनाक्रमको तथ्याङ्कभन्दा बढी मिथ्याङ्कलाई बढाइ-चढाइ गरेर गलत प्रचारबाजीका पछाडि बौद्धिक जमातलाई कुदाउने गरेको छ । नेपालको तथ्यपरक इतिहास, आजसम्म पूर्णरूपले लेखिनसकेको छैन र केही विदेशीहरूले आफ्नो स्वार्थअनुकूल व्याख्या गरिदिएको सन्दर्भलाई पक्ष-विपक्ष बनाएर तर्क-वितर्कका आधारमा इतिहासका तथ्य खोतल्ने क्रम विकसित हुँदै आएको छ ।
यही ऐतिहासिक परिप्रेक्ष्यमा यहाँ उठाउन खोजिएको विषय नेपालको एकीकरण दिवस र पृथ्वीनारायण शाहको भूमिकालाई लिएर हो । नेपाल लामो समय स-साना राज्यमा विभाजित रहँदै आएको थियो र भारतसम्म आइपुगेको अङ्ग्रेज विस्तारवादको कुदृष्टि हिमाली देश नेपालमा पर्नलागेको युगीन सङ्क्रमणको कालमा गोर्खामा उदाएका राजा हुन्, पृथ्वीनारायण शाह । एउटा सानो गोरखा राज्यको राजा भएका पृथ्वीनारायण शाहमा तत्कालीन स-साना राज्यमा भएका कुनै पनि राजा-रजौटामा नभएको राष्ट्रिय एकीकरणको महत्त्वाकाङ्क्षा पलाउनु र हरतरहले त्यसका निम्ति तल्लिन हुनु नै नेपालको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण घटना हो । उनले आफ्नो जीवनका दुई ठूला महत्त्वाकाङ्क्षालाई सार्थक बनाउन चाहे । ती हुन्- नेपालको भौगोलिक सीमा विस्तार र विस्तारवादी अङ्ग्रेज शासकलाई नेपाल प्रवेशमा निषेध ।
यी दुवै प्रयासमा उनी वस्तुतः अधिक सफल नै रहे र
विभिन्न उतार-चढाव, सन्तोष-असन्तोषका पुष्टि र तुष्टिसाथ त्यो कामले आंशिक पूर्णता पायो ।
यही इतिहासको आवश्यकतालाई कुशलतापूर्वक पूरा गरेको जस पृथ्वीनारायण शाहलाई नेपाल राज्य र नेपाली जनताले राष्ट्रनिर्माताका रूपमा सहज स्वीकार गर्दै पनि आए । यद्यपि यी सन्तुष्टि कतै-कतै भावावेग र असन्तुष्टिमा परिणत नभएका होइनन् । तर यी सुषुप्त अवस्थामा नै थिए । तर २०६२/६३ को आन्दोलनपश्चात् यी असन्तुष्टिलाई गलत ढङ्गले व्याख्या गरियो र जनमत विपरीत सरकारले अन्त्यन्तै क्रान्तिकारी देखिन लामो समयसम्म मनाइँदै आएको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई सरकारी स्तरबाट निषेध गर्यो । यसका पछाडि नेपालले वस्तुगत आवश्यकताभन्दा पनि आयातित पहिचानवादी, नश्लवादी, उपभोक्तावादी र अधिभूतवादी माक्र्सवादी-प्रगतिवादी चिन्तनलाई गलत ढङ्गले प्रयोग गरी वस्तुगत-ऐतिहासिक चिन्तन गर्ने पद्धतिलाई पर्दा लगाउने काम गर्यो । त्यो सर्वथा भावावेग र आंशिक असन्तुष्टिको भुसे आगो घरको धुरीमा झोस्ने काममात्र थियो ।
संसारका धेरै राष्ट्रहरूले विस्तारवाद र साम्राज्यवादको उपनिवेशबाट स्वतन्त्र भएको दिनलाई राष्ट्रिय स्वतन्त्रता दिवसको रूपमा मनाएका हुन्छन् भने स-साना टुक्रामा विभक्त भएका देशले एक सिङ्गो राष्ट्र भएको अवसरमा राष्ट्रिय एकता दिवस मनाएका हुन्छन् भने हामीले कहिल्यै पराधीनता भोगेनौं, दास बनेनौं, सधैं स्वतन्त्र र सार्वभौम रह्यौं भने यसको अभियन्ताका रूपमा रहेका पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक किन नमान्ने ? हामीले राष्ट्रिय
एकता दिवस मनाउनु भनेको पृथ्वीनारायण शाहलाई नायक मान्नेमात्र होइन, उनको महान अभियानमा साथ दिने हाम्रा वीर पुर्खा र सम्पूर्ण ज्ञात-अज्ञात सहिदको बलिदानको रगतको पनि सम्मान गर्नु हो ।
यो राष्ट्रको एकीकरण कुनै एक राजा, जाति, वर्ग र विषयले मात्र भएको होइन, यसमा सबैको उक्तिकै हिस्सा छ र संरक्षण गर्ने जिम्मेवारी पनि छ । पृथ्वीनारायण शाह त यसका अभियन्ता हुन्, राजनीतिज्ञ हुन् र युगको आवश्यकताबोध गर्ने युगीन महापुरुष पनि हुन् । उनले भनेकै छन्, 'यो नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो । सबै मिलिजुली यसको रक्षा गर्नुपर्छ ।'
####
.jpg)





0 comments
Write Down Your Comment