नयाँ प्रधानमन्त्री संसदबाट बाहिरिनै नपाई कांग्रेसमा झगडा
###

रामचन्द्रले महतलाई सोधे- एमालेलाई गृहमन्त्री किन दिएको ?
२७ माघ, काठमाडौं । कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएर व्यवस्थापिका संसदबाट बाहिरिनै नपाई कांग्रेसभित्र भनाभन सुरु भएको छ । सोमबार दिउँसो कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद बाहिर मूल ढोकामा पत्रकारहरु नयाँ प्रधानमन्त्रीको प्रतिक्रिया लिन क्यामेरा तेस्र्याएर उभिइरहेका थिए । उता भित्रचाँहि अन्य दलका सभासदहरु हिँडिसकेपछि कांग्रेस नेताहरु मन्त्रीको विषयमा आपसी लफडामा झण्डै एक घण्टाभन्दा बढी समय व्यस्त भए । प्रधानमन्त्रीमा नियुक्त भएका कोइरालालाई बधाइ दिएलगत्तै झगडा शुरु गरेका कांग्रेस नेताले डा. रामशरण महत र दीपकुमार उपाध्यायप्रति आक्रोश पोखेका थिए । एमालेसँग वार्ता गर्न खटिएका महत र उपाध्यायले राम्रा मन्त्रालय एमालेलाई दिएको भन्दै उपसभापति रामचन्द्र पौडेलले संसद भवनभित्रै महतलाई हप्काए- ‘कसलाई भनेर गृहमन्त्रालय एमालेलाई दिने निर्णय गर्नुभयो ?’ बाहिर पत्रकार र कार्यकर्तालाई उभ्याएर संसद भवनभित्रै झगडामा रुमलिएका कांग्रेस नेताले एमालेलाई राम्रा मन्त्रालय दिन नहुने निश्कर्ष निकालेपछि तत्काल साँझ कोइराला निवास महाराजगञ्जमा मन्त्रालय बाँडफाँडबारे आपसी छलफल गर्ने सहमति गरेपछि संसद भवन छाडेको स्रोतले बतायो ।

गृहमन्त्रालय एमालेलाई दिन नहुने भन्दै उपसभापति पौडेलले आपत्ति जनाएपछि डा. महतले गृहमन्त्रालय दिने निक्र्यौल नभइसकेको स्पष्टीकरण दिएका छन् । ‘गृहजस्ता महत्वपूर्ण मन्त्रालय एमालेलाई दिएर प्रधानमन्त्रीले कसरी काम गर्न सक्नुहुन्छ भन्दै पौडेलले थर्काएपछि महतले गृह दिने निर्णय भइनसकेको पौडेललाई जवाफ दिए, स्रोतले भन्यो, अन्तिममा महाराजगञ्जमा आजै बसेर मन्त्रालयको टुंगो लगाउने भन्दै नेताहरु बाहिएका छन् । सपथ खान पुरोहितलाई सम्पर्क एकातिर कांग्रेस नेताहरु राम्रा मन्त्रालय एमालेलाई दिन हुँदैन भन्दै विवादमा उत्रिएका थिए भने अर्कोतिर सुपथ ग्रहण आजै गर्दा हुन्छ कि भोलि मंगलबार गर्न हुन्छ भन्दै फोन गरेर पुरोहितसँग सोधिरहेका थिए ।

कोही पुरोहितले मंगलबार सपथ ग्रहण गर्न हुँदैन, सोमबार राम्रो हुन्छ भनेको त कसैले मंगलबार खरो बार परेको भन्दै त्यस्तो दिनमा सपथ खाँदा राम्रो हुने सल्लाह दिएको कांग्रेसका एक नेताले अनलाइनखबरलाई बताए । मन्त्रीहरुको टुंगो नलगाई सपथ ग्रहणमा समस्या पर्ने भएपछि शुरुमा प्रधानमन्त्रीसँगै एमाले र कांग्रेसका एक-एकजना मन्त्रीलाई मन्त्रालय नतोकी विना विभागीय मन्त्रीका रुपमा सपथ गराउने सल्लाह कांग्रेस नेताहरुले सोमबार संसदभित्रै बसेर टुंग्याएका छन् ।
####

0 comments

Write Down Your Comment