कञ्चनजंघाबाट देखिएको पर्वतीय परिवर्तन
###

 हाम्रो अनुसन्धान टोली कञ्चनजंघा संरक्षण क्षेत्रमा पुगेका बेला मौसमले नसोचेको पिरलो पार्‍यो । करिव २५ दिनको कञ्चनजंघा बसाइमा मुस्किलले २,३ दिन सूर्यको प्रकास छर्लङ्ग देख्न पाइयो बाँकीका दिनहरुमा आकासवाट पानी एक तमास बर्सिइरह्यो । यस्तो अवस्थामा तमोर खोलाको बेग सायदै अनुमान गर्न सकिन्छ । कञ्चनजंघा हिम श्रीलंकाबाट उत्पत्ति भएर बगेको तमोर नदी साँघुरा पहाडी गल्छीहरुका ठुल्ठूला चट्टानहरुमा ठोक्किँदाको झंकार अहिले पनि सम्झिँदा अनौठो लाग्छ । यस्तै नवीन अनुभूतिहरुकामाझ स्थानीयबासीसँगको भलाकुसारीमा भविष्यका आशा अनि निराशा बरोबरी झल्किइरहेका थिए ।
“यसपालि आलु सिजन अगावै फल्यो र अत्यधिक वर्षासँगै कुहिएर खेर गयो”, वर्षभरिको अन्नको जोहो गर्न तम्सेका किसानहरु खिन्न छन् किनभने आलु चाडो फलेको मात्र नभई मात्रात्मक हिसावलेपनि एकदमै कम उत्पादन भयो । स्थानीय संरक्षणकर्मीहरुका अनुभवमा पहिला पहिला हिउँदयाममा घुन्सा उपत्यकामा ५-६ फिटसम्म हिउँ जम्ने गर्दथ्यो, हाल २ फिटसम्म पनि जम्दैन ।

वरपरका दूधपोखरी, कञ्चनजंघा, पाथीभरा, कूम्भकर्ण, सेलेले लगायतका हिम श्रृंखलाहरु कालो पहाडमा परिवर्तन हुने क्रम बढेर गएको छ । साथै हिमाली भेकका चरनक्षेत्रहरु पनि नासिदै गएका छन् । नदीमा पानीको बहाव र मात्रा दुवै घट्न गएको तथा चैत, वैशाखमा फुल्नुपर्ने चिमाल (लालिगुराँस) फागुनमै फुलेर हराउने गरेका जस्ता केही तीता अनुभवहरु यहाँका जनताका साझा अनुभव भएका छन्, तथापि हालैका दिनमा जैविक विविधता संरक्षण र जीविकोपार्जनमा प्राप्त उपलब्धिहरुले हौसिएका छन् यस भेकका जनताहरु ।

संरक्षणमा स्थानीय पहल स्वागतयोग्य कदम

 सेप्टेम्वर २००६ देशले डा. हर्क गुरुङ्गलगायतका दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षणकर्मीहरु गुमाएको थियो । ताप्लेजुङ्ग जिल्लाको घुन्सा क्षेत्रमा वनको सामुदायिकीकरण गर्ने कार्यक्रममा भाग लिन जांदा हेलिकप्टर दुर्घटनामा परि ती संरक्षणकर्मीहरुले जीवन गुमाएका थिए ।
एक बिहान घुन्सा उपत्यकाको छेवैमा त्यो नांगो डाँडा निर्धक्क उभिइरहेको थियो, जसको काखमा ती व्यक्तिहरुले आफ्नो अमूल्य जीवन गुमाएका थिए । दुर्घटनाको चौथो वाषिर्कीको जोडजाम भइरहँदा घुन्सावासीहरु मा नयाँ जिम्मेवारीबोधको आभास भइरहेको थियो । दिवंगत डा. गुरुङ्गलगायतका व्यक्तिहरुको सपना पूरा गर्न उनीहरु दृढ देखिन्थे ।

दिवंगतहरुको सम्झना स्वरुप विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा घुन्सा नजिकै संरक्षण चौतारी निर्माण गरेर उनीहरुले त्यस वरीपरीको जंगललाई पवित्र वनको रुपमा संरक्षण गरेका छन्, जसलाई कुनै पनि प्रकारका प्राकृतिक स्रोतहरुको विना अनुमति संकलन गर्न नपाइने गरि निशेधित क्षेत्रको रुपमा विकास गरिएको छ भने सिकार पूर्णतया निषेध गरिएको छ ।

गाउँलेहरुले त्यस क्षेत्रमा जटामसी, कुट्की लगायतका महत्वपूर्ण जडीबुटीहरुको संरक्षण गरेका छन् । उनीहरुले जंगलमा आगो लगाउने काम पूर्णतया बन्द गरेका छन् भने वनजन्य सम्पदाहरुको दिगो प्रयोगमार्फत वातावरणीय सन्तुलन कायम गर्न योगदान पुर्‍याइरहेका छन् ।
वि.सं ०६२ मा कञ्चनजंघा संरक्षण क्षेत्रको सहयोगमा स्थापना भएको रु १२ लाख बराबरको अक्षयकोषको रकमवाट उनीहरुले हिउँचितुवा संरक्षण अभियानको थालनी गरेका हुन् । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को स्वामित्वको उक्त रकमवाट उनीहरुले हिउं चितुवाले चौरी गाइ खाए वापत गोठालाहरुलाई क्षतिपूर्ति दिने गर्दछन्, अक्षयकोषमा थप रकम स्थानीय स्तरबाटै व्यवस्था गरेर गाउँमा टेलिफोन, इन्टरनेट आदिको व्यवस्था गरिएको छ ।

 संरक्षण क्षेत्र व्यवस्थापन समितिको सहयोगमा गाउँमा बेलाबेलामा संरक्षणसम्वन्धी चेलनामूलक तथा रोजगारमूलक कार्यक्रमहरु समेत गरिँदै आएको छ ।
 विश्व वन्यजन्तुकोष, युएसएइड तथा स्थानीय पहलमा भर्खरैमात्र ५०० किलोवाट क्षमताको यमातरी लघु जलविद्युत आयोजना संचालनमा आएको छ, जसको व्यवस्थापन गाउँलेहरुले नै गरेका छन् । यस आयोजनाले घुन्सा र छिमेकी गाउँ फोलेलाई पर्याप्त विद्युत आपुर्ति गर्ने गरेको छ । गाउँमा सगुन्धित धुपी तथा सुनपाति प्रसोधन केन्द्र पनि संचालनमा आएको छ, जसको पहल गाउँलेहरुले नै गरेका थिए र त्यसको पूर्ण व्यवस्थापन पनि उनीहरुकै हातमा रहेको छ । प्रसोधन केन्द्र उपसमिति मार्फत उनीहरुले धुपी तथा सुनपातीवाट तेल उत्पादन गरेर आयआर्जन गरेका छन् ।

यस अलावा अन्य विविध हस्तकलाका सामाग्रीहरु निर्माणमा पनि गाउंलेहरु तल्लिन रहेका छन् जसका कारण उनीहरुको जीविकामा सरलता आउन थालेको छ । कञ्चनजंघा संरक्षण क्षेत्र बन्नु अगाडि घुन्सा क्षेत्र उजाड थियो भन्ने कुरा त्यहाँका जनतासँगको भलाकुसारीवाट थाहा हुन्छ । संरक्षण क्षेत्रको घोषणासँगै आयोजनाका हरेक कार्यक्रमहरुमा स्थानिय जनताको सहकार्यले आजको दिन देख्न पाइएकोमा उनीहरु एकमत देखिन्छन् । उनीहरुकै बुझाइमा स्थानिय तहमा एकजुट नभइकन कुनै पनि कार्यक्रमहरु सफल हुन सक्दैनन् र राज्यले पनि सोहि अनुरुप कार्यक्रमहरु तय गर्नु जरुरी हुन्छ ।

अलैंची खेतीले ल्याएको परिवर्तन

 नेपालको कालो सूनका नामले प्रसिद्धी कमाएको अलैंचीले अहिले सुदूरपूर्वी विकट हिमाली जिल्ला ताप्लेजुङ्गको मुहार नै फेरिदिएको छ । ताप्लेजुङ्ग जिल्लाका अति उच्च हिमाली क्षेत्रहरु बाहेकका प्रायजसो क्षेत्रमा किसानहरुले बाँझो र खेर गएका जग्गालाई व्यवस्थापन गरेर यो खेती गरेका छन् । बाटो वरपर उतिसका रुखसँगै अलैंचीका बोटहरुको हरियालीयुक्त वातावरणले यस क्षेत्रमा पुग्ने जोकोहीलाई पनि मोहित पार्न थालेको छ, जसले उत्कृष्ट कृषि वन प्रणालीको अभ्यासको समेत शुरुवात गरेको छ ।
रमाइलो कुरा त के छ भने केही समय अघिसम्म हातमुख जोर्नै समस्या पर्ने किसानहरुका मुहारमा यस खेतीले नयाँ तरङ्गहरु पैदा गरिदिएको छ । थोरैभन्दा थोरै जग्गा हुनेहरुलाई समेत एउटै खेतीले वर्षभरि हातमुख जोर्ने हैसियत बनाउन सकेको समाचार कृषकहरुका लागि सुखद हुन सम्छ ।
कञ्चनजंघा क्षेत्रका अलैचि किसानहरुसँग गरिएको भलाकुसारीका आधारमा एउटा सामान्य किसानले पनि यस व्यवसायवाट वर्षको ५०-६० हजार सम्मको जोहो सजिलै गर्न सक्दछ । अलिक धेरै जग्गा हुने र राम्रो हेरविचार गर्नसक्नेहरुका लागि त उत्तम व्यवसाय हुने नै भयो ।

खुशीको कुरा त के भने वर्षेनी अलैचिका बोटहरु वर्षेनी लगाइराख्नु पर्दैन, एकचोटि रोपिसकेपछि १०-१५ वर्षसम्म सजिलै उत्पादन गर्न सकिन्छ । अलैंचीलाई सुकाउन तथा प्रसोधन गर्न चाहिने तापशक्तिका लागि किसानहरु जंगल पनि मास्दैनन्, उनीहरुले अलैचि संगै आफैले हुर्काएका उतीसका बोटहरुलाई यस कार्यका लागि दाउराको स्रोतको रुपमा प्रयोग गर्दछन् र प्रयोग पश्चात जति बोट काटिएको हुन्छ त्यत्तिकै मात्रामा नयाँ रोप्ने गर्दछन् । यसले उत्कृष्ट वातावरणमैत्री र दिगो एवं नाफामूलक कृषि प्रणालीको नमूना झल्काइरहेको छ ।
यी हरफहरु लेखिरहँदा सायद सबै नेपालीहरुको दिमागमा एउटा कुरा चाहिं अवश्य खेल्दो हो, सरकारले ताप्लेजुङ्गजस्तै नेपालका प्रत्येक जिल्लाहरुमा त्यहाँको हावापानी सुहाउँदो नगदेवालीको विकासमात्रै गर्नसके नेपालीहरुका गरिवीका दिन टाढा हुन्थे कि ?

फेरिँदो पर्वतीय क्षेत्र

 एक समय थियो, जब हाम्रा पर्वतीय क्षेत्रहरु गरिबि, भोक र पछौटेपनको पर्याय बनेका थिए । सांस्कृतिक तथा सामाजिक अन्धविश्वास, लैंगिक असमानता, छुवाछुत लगायतका कुरीतिहरुले समेत गाँजिएको थियो सो क्षेत्र । अनि तिनै कठिनाइका जंघारभित्र लुप्त थिए कैयन सम्भावनाका मूलहरु ।
समय बित्दै जाँदा राज्यको मूलधारमा समेटिन नसकेका ती क्षेत्रहरुको महत्व विज्ञानले उजागर गर्‍यो, दाताहरुले योजनाबद्ध बिकासको सूत्रपात गरेका छन् । स्थानीय जनताले योजनाको दृढ कार्यान्वयनको प्रण गरेका छन् । फलस्वरुप गरिबीको पर्याय बनेका कैयन पर्वतीय क्षेत्रहरु विस्तारै समृद्धिको दिशामा केन्द्रित हुन पुगेका छन् ।

नेपालको कूल क्षेत्रफलको ८३ प्रतिशत भूभाग पर्वतीय क्षेत्रहरुले ओगटेका छन् भने कूल जनसंख्याको ५२ प्रतिशत मानिसको वसोवास क्षेत्र मानिएका हाम्रा पर्वतीय क्षेत्रमा विश्वका ८००० मि. भन्दा अग्ला ८ वटा हिमश्रृंखलाहरु रहेका छन् जो अनन्त कालसम्म स्वच्छ पानी, ऊर्जा र सिंचाइका श्रोत हुन् । हाम्रा पर्वतीय क्षेत्रहरु उत्कृष्ट पर्या तथा ग्रामीण पर्यटनका गन्तव्य, खाद्यान्न तथा औषधीका लागि अति उपयोगी वनस्पतिका श्रोत, धर्म तथा संस्कृतिको उद्गमथलो, उत्कृष्ट सामाजिक रहनसहन, अलौकिक परम्परागत ज्ञानको भण्डार आदि विविध उपमाहरुले विश्व मानचित्रमा स्थान ओगट्न सफल भएका छन् । त्यसैले त होला प्रकृतिप्रेमी होस् वा वैज्ञानिक, दार्शनिक होस् या समाजशास्त्री सवैसवैको सृजनाका मूल पनि बनेका छन् हाम्रा पर्वतीय क्षेत्रहरु ।





तथापि हालैका दशकहरुमा ब्याप्त वातावरणीय चुनौतिहरुको सवैभन्दा बढी मार समेत यसै क्षेत्रमा पर्न थालेका प्रमाणहरु क्रमशः सार्वजनिक हुँदै गएका छन् । विगतका दशकहरुमा जनसंख्याको उच्च बृद्धिदर संगै जैविक विविधताका अवयवहरुको अत्यधिक दोहन, चोरी सिकारी लगायतका मानवीय अतिक्रमणका कारण यस क्षेत्रका जनताको दीगो जीविकामाथि नै संकटका सूचकहरु देखिन थालेका छन् ।
जलवायु परिवर्तनका कारण हाम्रा पर्वतीय क्षेत्रमा रहेको हिउँ पग्लिन थालेको प्रक्षेपणहरु भइरहेका बेला संसारको पानीको श्रोतका रुपमा चिनिने यस क्षेत्रका जनताहरु आफै स्वच्छ जलसम्पदाको उपलब्धतावाट टाढिनुपर्ने अवस्था आइपुगेको छ । यसका साथै विश्व वजारीकरणको कारण यस क्षेत्रका विशिष्ट संस्कृतिहरुमा समेत धब्बा लाग्न थालेको तथा जडीवुटी तथा आयुर्वेदिय उपचार पद्धतिसँग सम्बन्धित अनेकन परम्परागत ज्ञानका भण्डारहरु पनि पलायनको संघारमा पुगेका छन् ।
####

0 comments

Write Down Your Comment