मैनबत्ती बालेर अप्रेसन
###

गोरखा- भित्र अप्रेसन चलिरहेको छ। झ्याप्प बत्ती निभ्छ। अँध्यारो कोठाभित्र कैंची छाडेर डाक्टर मैनबत्ती जोहो गर्छन्, नर्स सलाई खोज्न थाल्छिन्। केही बेरमै कोठामा मन्द उज्यालो छाउँछ। त्यही उज्यालोको सहारामा अप्रेसन सुचारु हुन्छ।


गोरखा अस्पतालमा हरेक साँझ देखिने दृश्य हो यो। प्रत्येक दिनको लोडसेडिङसँगै अस्पताल अन्धकार हुन्छ। लोडसेडिङलगत्तै कसैको हातमा मैनबत्ती हुन्छ, कसैको हातमा लाइट। कहिले तुरुन्तै बिजुली आउँछ, कहिले मध्यरातसम्म अन्धकारमै बस्नुपर्छ। रातभर बिजुली कुर्नुभन्दा मैनबत्ती बालेरै इमर्जेन्सीका बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी अभ्यस्त भइसकेका छन्।

'अप्रेसन गरिरहेका बेला बत्ती निभ्छ, अन्धकारमा कसरी उपचार गर्ने? यस्तो समस्या दिनहुँ दोहोरिन्छ,' अस्पतालका एक चिकित्सकले भने, 'गम्भीर अवस्थाका बिरामीलाई न्यानो बनाउनुपर्छ, उसको हरेक अवस्था ख्याल गर्न बत्ती नभइ हुँदैन।'

लोडसेडिङको वैकल्पिक व्यवस्था नहुँदा अँध्यारोमा उपचार गर्नु गोरखा अस्पतालको बाध्यता बनेको छ। वैकल्पिक व्यवस्थाका लागि राखिएको ब्याट्री र जेनेरेटरले काम नगर्दा समस्या भएको अस्पताल प्रशासनले बताउँदै आएको छ। 'भएको एउटा जेनेरेटर बिग्रिएको छ, बत्ती निभेपछि सबै बिरामीलाई अँध्यारोमा राख्नुपर्छ,' एक कर्मचारीले भने। जेनेरेटर बनाउने कर्मचारी केही समयका लागि बिदामा बसेका छन्। उनी नहुँदा बिग्रिएको दुई सातासम्म जेनेरेटर बन्न सकेको छैन। अप्रेसन कक्षमा युपिएसको वैकल्पिक व्यवस्था गरिएको छ। तर त्यसको ब्याट्रीले राम्रो काम गर्दैन।

बत्ती नहुँदा भर्ना भएका बिरामी र इमर्जेन्सी उपचार गराउन आउनेलाई सास्ती पर्ने गरेको छ। २०६९ साल भदौमा २५ बाट ५० शऒ्ढयाको स्वीकृति पाएको गोरखा अस्पतालमा विशेषज्ञ सेवा थप भएको छ। तर, दैनिक घन्टौंसम्म जारी रहने लोडसेडिङका कारण यो सेवा प्रभावित बनेको छ। गोरखा अस्पतालमा अहिले दैनिक आङ खसेका बिरामी महिलाको अप्रेसन र उपचार हुने गरेको छ। अप्रेसन थिएटरमा लोडसेडिङ भएका बेला चार घन्टा धान्ने ब्याकअप छ। उज्यालो बनाउन केही सहज हुने भए पनि युपिएसले ५० प्रतिशत पनि काम गर्न नसक्ने विषेशज्ञ चिकित्सक बताउँछन्।

अस्पतालका लागि सब स्टेशनबाट छुट्टै लाइन लगिएको छैन। विद्युत लाइनमा समस्या आएलगत्तै लाइन काटिन्छ। त्यसको असर सिधै अस्पतालमा पर्छ। संवेदनशील सरकारी स्वास्थ्य संस्थामा लोडसेडिङको वैकल्पिक व्यवस्था नहुँदा थप समस्या हुने गरेको अस्पताल प्रमुख केशवराज भुर्तेल बताउँछन्। उनले पटक–पटक प्राधिकरण, जिल्ला प्रशासन, जिल्ला विकास र मन्त्रालयमा समेत बत्तीको वैकल्पिक व्यवस्था गरिदिन अनुरोध गर्दै आए पनि समस्या जस्ताको तस्तै रहेको बताए।

प्राधिकरणले भने आफूसँग अस्पताललाई छुट्टै लाइन दिने क्षमता नभएको बताउँदै आएको छ। 'सब स्टेसनबाट सिधै एउटा ग्राहकका लागि लाइन विस्तार गर्नसक्ने अवस्था छैन,' प्राधिकरण प्रमुख ज्ञानेन्द्र आचार्यले भने, 'क्षमता नै कम भएकाले हामी अस्पतालका लागि लाइन दिन सक्दैनौं, प्रक्रिया अगाडि बढाउन पहल गर्न सक्छौं।'[श्रोत नागरिक ]
####

,

0 comments

Write Down Your Comment