बिम्स्टेकको म्यानमार सम्मेलनमा आधा दर्जन सम्झौतापत्रमा हस्ताक्षर हुँदै
###

 १६ फागुन, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को तेस्रो शिखर सम्मेलन यही फागुन २० गते म्यान्मारको राजधानी नेपिटमा हुने भएको छ ।
प्रधानमन्त्री सुशील कोइराला शिखर सम्मेलनमा भागलिने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी साता त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । मुलुकको ३७ औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि हुन लागेको यो उनको पहिलो विदेश भ्रमण हो ।

 सम्मेलनमा सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुखहरूको उपस्थितिमा विदेश मन्त्रीहरूले बङ्गलादेशमा बिम्स्टेक सचिवालय स्थापना, महासचिवको नियुक्ति, भारतको नयाँ दिल्लीमा जल तथा मौसम केन्द, भुटानको थिम्पुमा सांस्कृतिक उद्योग आयोग र सांस्कृतिक उद्योग अवलोकन केन्द्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई ती समझदारीपत्रमा हस्तारक्षर गर्ने अख्तियारी प्रदान गरिसकेको छ ।

बङ्गलादेश सरकारले सचिवालयका लागि राजधानी ढाकाका गुलसन क्षेत्रमा अवस्थित भवन उपलब्ध गराइसकेको छ भने महासचिवका रुपमा प्रस्तावित श्रीलङ्काली कूटनीतिज्ञ सुनित नकन्दालालाई अनुमोदन गर्नेछ ।

बङ्गालको खाडीसँग सम्बन्ध राख्ने देशहरूको द्रुत आर्थिक विकास र विभिन्न क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का पाँच र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का  दुई मुलुक मिलेर १७ वर्षअघि बिम्स्टेक स्थापना गरेका हुन् ।
कृषि, व्यापार तथा लगानीलगायत क्षेत्रमा आपसी सहकार्यको माध्यमबाट सदस्य राष्ट्रका जनताको जीवनस्तर उकास्ने र समान उद्देश्यका अन्य क्षेत्रीय सङ्गठनहरूसँग सहयोग आदानप्रदान गर्ने उद्देश्यले स्थापित सात सदस्यीय उक्त उपक्षेत्रीय सङ्गठनमा नेपाल २०६० सालमा औपचारिक रुपमा सदस्य भएको हो ।
आर्थिक उन्नयन, सामाजिक विकास र साझा चासोका विषयमा आपसी सहयोग विस्तार गर्ने सन् १९९७ मा बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड मात्र सदस्य रहेको उपक्षेत्रीय सङ्गठन बिआइएसटी इसी म्यान्मार, नेपाल र भुटानले पर्यवेक्षक सदस्य हुँदै सन् २००३ मा पूर्ण सदस्यता पाएका हुन् । सन् २००४ को ३१ जुलाइमा बङ्गलादेश-भारत-श्रीलङ्का-थाइल्याण्ड आर्थिक सहयोग नामक सङ्गठनलाई बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) नामकरण गरिएको हो ।

बिम्स्टेकले व्यापार तथा लगानी, प्राविधिक, ऊर्जा, यातायात तथा सञ्चार, पर्यटन, मत्स्यपालन, कृषि, प्रतिआतङ्कवाद, अन्तरदेशीय अपराध नियन्त्रण, वातावरण संरक्षण, विपत व्यवस्थ्ाापन, सार्वजनिक स्वास्थ्य, गरिबी निवारण, जलवायु परिवर्तन र जनता-जनताबीचको सम्पर्क, विकासका विविध आयाम र साझा चासोका १४ विषयलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

दसवर्षअघि बिम्स्टेकको बैंककमा सम्पन्न पहिलो शिखर सम्मेलनले पारित गरेको घोषणापत्रअनुसार द्रुत आर्थिक विकासका लगि उपयुक्त वातावरण तयार गर्ने, दक्षिण एसियाली तथा दक्षिण पूर्वी उपक्षेत्रमा सामाजिक प्रगति अभिवृद्धि गर्ने, अनुसन्धान तथा तालिममा सदस्य राष्ट्रका राष्ट्रिय विकास योजनामा सघाउन प्रभावकारीरुपमा समन्वय गर्ने तथा मौजुदा अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय सङ्गठनहरूसँग निकट एवम् फलदायी सम्बन्ध कायम गर्ने विषयलाई जोड दिएको छ ।

व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनको दिगो संयन्त्र निर्माण, आर्थिक, सामाजिक एवम् प्राविधिक सहयोग विस्तार तथा तालिम र अनुसन्धानको माध्यमबाट दक्षिण तथा दक्षिणपूर्वी एसियाका एक अर्ब ३० करोड जनताको समृद्धिलाई बिमस्टेकले केन्द्रविन्दुमा राखेको छ ।

प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनमा भागलिने क्रममा भारत र बङ्गलादेशका प्रधानमन्त्रीसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अन्य बिम्स्टेक सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुखसँग पनि ‘साइडलाइन’मा भेटवार्ताको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले बताए ।

बिम्स्टेकको अध्यक्ष तथा आयोजक मुलुक म्यान्मारका राष्ट्रपति एवम् प्रधानमन्त्रीसँग भने भेटघाटको समय निर्धारण भइसकेको जानकारी पनि उनले बताए । परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग निकट सम्पर्कमा रहेर त्यससम्बन्धी कार्य गरिरहेको उनको भनाई थियो ।

वणर्ानुक्रमअनुसार सङ्गठनको अध्यक्षता गर्ने बिम्स्टेकको नियम भएकाले वर्तमान अध्यक्ष मुलुक म्यान्मारबाट तेस्रो शिखर सम्मेलनको समाप्तिसँगै नेपाल अध्यक्ष बन्नेछ । हरेक चार वर्षमा शिखर सम्मेलन गर्ने उक्त सङ्गठनको प्रावधान भएपनि सदस्य मुलुकका आन्तरिक कारणले छ वर्षपछि नेपिटमा तेस्रो सम्मेलन हुन लागेको हो । यसअघि नयाँ दिल्लीमा दोस्रो सम्मेलन भएको थियो । उक्त सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भाग लिएका थिए ।
####

0 comments

Write Down Your Comment