###
![]() |
१७ फागुन, काठमाडौं । नेपाल कृषिप्रधान भनिए पनि यहाँका बैंक तथा बित्तीय संस्थाहरु कृषिमा भन्दा कारमा लगानी गर्न पाउँदा आनन्द महसुस गर्छन् । कार किन्न धितो चाहिँदैन । व्याज पनि एक अंक हाराहारीमै पर्दछ । तर, ट्रयाक्टर किन्नुस्, बैंकहरु चर्को व्याज र धितो खोज्छन् । जग्गा र ट्रयाक्टर दुबै बन्धकी राख्दा पनि किसानले ऋण पाउने ग्यारेन्टी हुँदैन । यसै साता चितवनमा आयोजित कृषि यान्त्रीकरण मेलामा किसान र कृषि उपकरण व्यवसायीहरुले यही गुनासो गरे । कृषि उत्पादन बढाउन यान्त्रीकरणमा बढावा दिनुपर्ने बहस उठिरहेको छ । तर बैंक तथा वित्तीय संस्थाहरु कृषिभन्दा कारमा लगानी गर्न अग्रसर हुने गरेको गुनासो गर्छन् ।
कृषि उपकरण व्यवसायी एवं द हबी अटो टे्रडिङ, बीरगञ्जका प्रोप्राइटर उमेश मानन्धरले कृषिमा बैंकिङ ऋण अझै प्राथमिकतामा नपरेको गुनासो गरे । कार, जीपजस्ता विलासी सवारीसाधनमा विना धितो ८/९ प्रतिशत व्याजदरमै ऋण उपलव्ध हुने तर ट्रयाक्टर खरिदमा धितो र ट्रयाक्टर दुबै बन्धकी राख्नुपर्ने उनको भनाइ थियो । ‘धितो र ट्रयाक्टर दुबै राख्दा पनि १८/२० प्रतिशतसम्म व्याज असुल्छन्’ उनी भन्छन् ‘कृषि प्राथमिकता होइन, कृषि उपेक्षित मुलुकमा पर्छ नेपाल ।’ मेलामा सहभागी भारत, पञ्जाबका कृषि उपकरण निर्माता मनमोहन सिंहले नेपालमा कृषि यान्त्रीकरण प्राथमिकतामा नपरेको विश्लेषण गरे । सहुलियत र सुविधा दिएर किसान आकषिर्त गर्नुपर्ने उनको सुझाव थियो । ‘किसानले सहुलियत पाए उत्पादन लागत घट्छ’ उनले भने ‘यसले उपभोक्ता र मुलुक दुबैको लागि फाइदा पुग्छ ।’ करिब दुई दशकदेखि नेपालमा ट्रयाक्टर तथा कृषि उपकरण कारोबार गर्दै आएको मानन्धरको कम्पनीले वाषिर्क चार सय ट्रयाक्टर बिक्री गर्दछ । रोपाइ, गोडमेल, सिंचाइ, फसल प्रशोधनजस्ता कृषि उपकरणहरु पनि नेपालभरि रहेको आफ्नो बिक्री सञ्जालमार्फत् किसानसमक्ष पुर्याउने गरेको छ ।
तर कृषि उद्यममा किसानहरुको उत्साह बढ्दै गरेपनि बैंक ऋण सहज नबन्दा कृषि यान्त्रीकरण उपेक्षित भएको उनी बताउँछन् । ‘बैंकहरु अहिले पनि कृषि भन्नासाथै कुटो, कोदालो सोच्दा रहेछन्’ उनी भन्छन् ‘किसानले ऋण पाउन निकै कठिनाइ भोगिरहेका छन् ।’ राष्ट्र बैंकले निजी तथा सरकारी बैंक, वित्तीय संस्थाहरुलाई कृषि ऋण अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने नीति ल्याएको छ । तर धेरैजसो बैंक, बित्तीय संस्थाहरु करोडौंमा खेल्ने कृषि उद्यमीहरुमा मात्र लगानी गर्न उद्यत छन् । गरिब र मध्यमवर्गीय वर्चस्व भएको किसानमाझ बैंकहरु ऋण लगानी गर्न कमै गएका छन् । सञ्चालन गर्नमा भार पर्ने भएकोले उनीहरुको चासो कम भएको बताइन्छ । तर बैंकरहरु आफूले कृषिमा लगानी गर्ने चाहना राखेपनि सरकारी भूमिका प्रभावकारी नभएकोले पछि हट्नुपरेको बताउँछन् ।् ‘कृषि निकै जोखिमयुक्त क्षेत्र हो । किसान डुबे भने हाम्रो लगानी सुरक्षा कसले गरिदिन्छ ?’ विराटनगरका एक निजी बाणिज्य बैंकका म्यानेजर भन्छन् ‘कृषि बीमा, बजार सुनिश्चितता र समर्थन मूल्य तोक्ने व्यवस्था प्रभावकारी लागू नभएसम्म कृषि ऋण सहज गर्न सक्दैनौं ।’ इटहरीस्थित एक फाइनान्स म्यानेजर सरकारले घोषणामा कृषि प्राथमिकता भनेपनि लगानी सुरक्षाको वातावरण बनाउन नसकेको बताउँछन् ।
‘हामी नाफा कमाउन बैंक व्यवसायमा आएका हौं ‘ उनी भन्छन् ‘राष्ट्र बैंकले जरिवाना तिर्न तयार छौं, तर हाम्रा वचतकर्ता र सेयरहोल्डरको पैसा जथाभावी लगानी गर्न सक्दैनौं ।’ उनी कृषिमा गरिने लगानी सुरक्षाको अभावले बैंकहरु चाहेर पनि ऋण लगानी गर्न तयार नभएको बताउँछन् । मानन्धरको भनाइमा सरकारले नै कृषि प्रवर्द्धनमा घोषणा अनुसार कार्यान्वयन गरेको छैन । कृषिको नाममा आएको अर्बौं बजेट कागजी झन्झटले आशातित उपलव्धि हासिल गर्न सकेको छैन । ‘कारभन्दा ट्रयाक्टर उत्पादनशील छ’ उनी भन्छन् ‘वर्षभरि किसानले प्रयोग गर्छन्, कृषि उत्पादनमा टेवा पुग्छ ।’ तर प्रतिष्ठा र जागिरे, व्यापारी भएको व्यक्ति नै बैंकको प्राथमिकतामा परेका छन् । उत्पादनशीलभन्दा विलासिता वृद्धिमा ऋण प्रवाह गर्न तत्पर भएका छन् । चितवनका कृषि यान्त्रीकरण व्यवसायी दुर्गा सापकोटाले कृषि यन्त्रमा सहुलियत ब्याजदर लागू हुनुपर्ने माग राख्छन् ।
कृषि यन्त्रको बीमा हुनुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन् । कृषि यान्त्रीकरण एसोसिएसनका अध्यक्ष महेन्ऽ कँडेल सरकारी नीतिमा कृषि यान्त्रीकरणको मुद्दाले कम प्राथमिकता पाएको बताउँछन् । कृषि उपकरण आयात तथा बिक्री वितरणमा व्यवसायीहरुले झन्झट ब्यहोर्नु परेको उनको भनाइ छ । भन्सार दरमा मनपरि दाहाल टे्रडिङ, काठमाण्डौका प्रोप्राइटर दुर्गाप्रसाद दाहाल नाकापिच्छे भन्सार र कर फरक हुने गरेको बताउँछन् । भन्सारमा कृषि उपकरणको बारेमा मूल्यांकन तथा भन्सार रकम निर्दिष्ट गर्ने दक्ष व्यक्ति नभएको उनको भनाइ छ । ‘मनपरी भन्सार तोकिएको हुँदा मैले २ करोड रुपैंयाँको उपकरणहरु कोलकातामै डम्प गरिरहेको छु’ दाहाल भन्छन् ‘भन्सार कर्मचारीले तोकेको कर तिरेर बेच्दा उल्टै घाटा हुन्छ ।’
####
0 comments
Write Down Your Comment