अमेरिकामा भेटिएका ठग
###

 मार्च १८ तारिख बिहान दस बजेको समय । मैले चियाको कप टी टेवलमा राख्दै भनें, “काका र म यसो बाहिर घुम्न जान आँटेका, काकी हजुर पनि जाने कि ? “घुम्नभन्दा पनि गाडी निकै नै मैलो भएकाले धुन अर्को सहरमा जानु थियो । सधैं व्यस्त, यस्तै मौकामा त हो नेपालबाट आउनुभएका आफन्तसँग भलाकुसारी गर्ने । “हामी घुम्न आएका, मौका परेको बेला जाने नि । आज दिन त पनि राम्रो छ ।” काकीले झ्यालबाट बाहिरतिर हेर्दै भन्नुभयो । मलाई पो अप्ठ्यारो लाग्यो, अघिल्लो हप्ता काकालाई मात्र लिएर हिंडेको थिएँ, काकीलाई सोध्दै नसोधी । काकाकाकी दुबै संयुक्तरुपमा जानुहुने भयो । हामी फटाफट बाटो लाग्यौं । हाम्रो गाडी नजिकैको हाइवेमा मिसियो । “यो त्यही घर होइन, अस्ति हामीले बाबुलाई छाडेर गएको ?” मैले एउटा खैरो रङ्गको घर अगाडि गाडी रोकेपछि काकाले सोध्नुभयो । “हो काका, यो घर मेरो मित्र सुधीरको हो । काकाको प्रस्नको जवाफ दिंदै फेरि भनें “एकै छिन है काका, म आइहाल्छु । ” यति भन्दै म गाडीको इन्जिनसमेत बन्द नगरी बाहिर निस्केर लामा लामा पाइला चाल्दै ढोका खोल्न पुगें । सुधीरको घर प्रायजसो बन्द नहुने हुनाले रिङबेल नथिची ढोका तानें । आधा खुलेको बाहिरी ढोकालाई दायाँ खुट्टाले रोकें र बायाँ खुट्टा भित्रपट्ट िखुलेको ढोकामा राखें । त्यहीँबाट देखें, उनी त बैठक कोठाको कार्पेटमा पलेटी कसेर एउटा कानमा कर्डलेस र अर्को कानमा सेलफोन राखेर कुरा गर्दै रहेछन् । म हतारमा उनलाई नै बोलाउँदै आएको थिएँ । उनी फोनमा व्यस्त थिए । त्यसैले उनले मलाई आँखा र टाउकाको इसाराले चुप लाग्ने संकेत गरे । उनले कुरा गरिरहे । म त्यतिन्जेल ढोकामा उनैलाई कुरेर बसिरहें । धेरै बेरसम्म भित्र नआएको देखेपछि उनले पलेटीबाट दाहिने खूट्टो निकालेर मलाई सोफामा बस्ने संकेत गरे । खुट्टाले बोलाएकोमा एक किसिम झनक्क रिस पनि उठ्यो । कलात्मक तरिकाले हातको काम खुट्टाले गरेको देखेर मनमनै हाँस पनि उठ्यो । मित्र त्यतिन्जेल अंग्रेजीमा बोल्दै थिए । त्यसपछि हिन्दीमा बोल्न थाले । उनले निकै महत्वपूर्ण कुरा गरेजस्तो देखिन्थ्यो । लामो कुरा गराइमा उनले विशेष आर्थिक पक्षलाई केन्द्रभागमा राखेका थिए । उनी पटकपटक भनिरहेका थिए “मसँग पैसा छैन । मैले भर्खरै गाडी किनें ।” त्यसपछि उनले उताको प्रश्नको जवाफ दिँदै गए । “त्यस्तै दुई तीन सय ।”……………”म आफूसँग पैसै राख्दिँन ।”……………..”वाइफलाई सोध्नुपर्छ ।”………………”क्रेेडिट कार्ड पनि छैन, डेबिड कार्डमा पैसै छैन ।”……….आदि इत्यादि । उनले दिएको उत्तर त बुझें । तर, मित्र कोसँग के विषयमा कुरा गरिरहेका छन् मैले बुझ्न सकिँन । एक मनले सोचें, “मित्रले कुनै देशीसँग मिलेर ब्यापार गर्न आँटेछन् कि क्या हो ?” फेरि अर्को मनले सोचेंें, “होइन व्यापारका लागि यस्तोखालको बार्तालाप त हुन सक्दैन । फेरि उनी व्यापार गरिहाल्ने हैसियतमा पनि त पुगिसकेका छैनन् ।” ओहो , निकैबेर भइसक्यो, उनी त खालि एकैखालको कुरामात्र गरिरहन्छन् । “यिनी कर्डलेसमा कुरा गरिरहेका हन् कि सेल फोनमा ? दुबै फोन कानमै टाँसेका छन् । कि एउटै कुरा दुई तिर सुनाइरहेका छन्, ।” म आफैं अलमलमा परें । कुरा गर्दागर्दै मलाई दुईतीनपटक भित्र पसेर सोफामा बस्ने संकेत गरिसके । बाहिर गाडीमा काकाकाकी नभएको भए त म भित्र जान्थें पनि होला । अति नै भयो । मेरो धैर्यको बाँध पनि फुट्न लाग्यो । त्यसपछि मैले आफु ढोकैबाट फर्किने संकेत गरें । म हिँड्नै लागेको देखेर आँखाको इसाराले रोकिने संकेत गर्दै फोनमा भने, “होल्ड अन वन मिनेट, मेरा दोस्त आया है” । उताबाट फोन नराख्न प्रेसर आयो क्यारे, उनले कुरा रोकेनन् । एक छिन पछि फेरि “होल्ड अन वन मिनेट” भने यसले पनि काम गरेन । मैले फोन होल्ड गर्न सांकेतिक प्रेसर गरेपछि जबरजस्ती फोन होल्डमा राखेर ढोकामा आए । “कोसँग के कुरा गरेका मित्र, मैले त कूरै बुझिँन त” मैले आˆनो अनभिज्ञता प्रकट गरें । “के भन्ने यार, म त बर्बाद भएँ ” खज्मजिएको कपाल जोडले माड्दै उनले दुखको भाव प्रकट गरे । उनको अनुहार पनि निराशाले भरिएको देखिन्थ्यो । के भएको हो, त्यो, भन्नुस त” मैले जोड दिएँ । “आइआरएसबाट भन्छ, २०१२ र २०१३ सालको ट्याक्स फाइलमा मैले गलत सूचना दिएर सरकारलाई ठगेको देखियो अरे । अहिले जरिवाना तिर्नु पर्ने अरे । पैसा नतिरे एकै छिनमा पुलिस आएर जेल लान्छ भन्छ ।” तपाई त हिन्दीमा कुरा गरिरहनु भएको थियो त हैन, मैले कुरा बुझिसकेको हुनाले मुसुमुसु हाँस्दै भनें । “पहिले अंग्रेजीमा भन्दै थियो, मैले भनेको बुझेन अरे ।

उसैले सोध्यो अरु कुन भाषा जानेको छ भनेर, मैले नेपाली र हिन्दी भनें, त्यसपछि उसले हिन्दीमा कुरा गर्न थाल्यो ।” मित्रले आत्तिँदै भने । मैले सोधें “तपाईको दुबै कानमा फोन किन नि ?” मित्रले स्पस्ट पार्दै भने “पहिले घरको फोनमा गर्‍यो, फेरि ट्रान्सलेटरका लागि भनेर सेल नम्बर माग्यो, नम्बर दिएपछि उताबाट सेलमा पनि फोन आयो । दुबै फोनमा एउटै कुरा गर्नका लागि दुबै फोन लाइनमा हुनुपर्छ भन्यो । बेलाबेला फोन राखिस् भने तँ झन् ठूलो समस्यामा पर्छस् भनेर थर्काइरहन्छ ।” म मज्जाले हाँसे । उनी म हाँसेको देखेर अक्क न बक्क भए । मनमनमा भने होलान्, “मलाई यत्रो समस्या परेको बेला उ चाहिँं यसरी हाँस्छ ।” त्यसपछि उसले के के भन्यो र कति पैसा माग्यो ? उसले तपाईलाई फोन नराख्न भन्छ हैन ? “हो” उनले भने । तपाईलाई डिपार्ट गरिदिन्छु भन्छ होइन ? “हो” । दुई हजारदेखि तीन हजारको वीचमा कति पैसा माग्यो ? “बाइस सय पचास” उसको फोन नम्बर दिन मान्दैन हो ? मित्रले अनुहार उज्यालो पार्दै भने “तपाईलाई कसरी थाहा भयो यो सब” मैले मित्रको काँधमा धाप मार्दै भनें- “मित्र यिनीहरु ठग हुन्, धेरैलाई यस्ता फोन कलहरु आइसके, मलाई पनि आएको थियो । अबदेखि यस्ता फोन कल आए भने कुरा नगर्नु, मेल गर भन्नु । आइआरएसले कहिले पनि फोन गर्दैन, उसले चिठी पठाउँछ ।” “हो त साँच्चै” मित्र अझ विश्वस्त हुन खोजे ।” “म नहुने कुरा गर्छुजस्तो लाग्छ ? ” आश्वस्त पार्दै मैले भनंे । “ए फोन त होल्ड मै पो रहेछ” मित्रले कुरा गर्न फोन कानतिर दौडाउँदै थिए हातले छिर्के लाएर फोन खोसें र लाइन काटी दिएँ । नम्बर हाइड गरेको त्यही मानिसले फोन गरिरह्यो दुई तीनपटक मैले फोन उठाइँन । मैले मित्रको हातमा फोन राख्दै भनंे “अब फोन नआउला, म तपाईको जीपीएस लिन आएको मेरालेे काम गरेको छैन । एकछिन बाहिर जानुछ ।” जीपीएस त गाडीमै पो होला भन्दै उनले भर्खरै किनेको नीलो होन्डा पाइलटतिर हेरे । अर्को घटना दीपक भाइ मेनेजर भएको सेल ग्याँस स्टेसन मलाई आˆनैजस्तो लाग्छ । हामी तात्तातो कफी हातमा लिएर गफ गरेर बसिरहेका थियौं । हिउँ नपरे पनि चिसो निकै नै धेरै भएकाले होला, मानिसहरु निकै नै कम देखिएका छन् बाहिर । टिर्र टिर्र मेरो फोन बज्यो । हेरें, मिलफोर्डको रोहित भाइले गरेको रहेछ । दीपक भाइलाई फोनमा करा गर्न लागेको इसारा गरेर म स्टोरभित्र हिँड्दै फोन उठाएँ । हेलो । “दाइ नमस्कार, म रोहित बोलेको । ” “नमस्कार, के छ रोहित भाइ, सन्चै ?” “सन्चै, दाइ । मलाई ठूलो समस्या पर्‍यो ।

 एउटा वकिल खोजिदिनु पर्‍यो ।” “कस्तो वकिल भाइ ? इमिग्रेसन सम्बन्धी ?” “हैन दाइ, ट्याक्ससम्बन्धी, आज आईआरएसबाट फोन आएको थियो……………….। मित्र सुधीरलाई जे-जे भनेको थियो, त्यही कुरा रोहितले सुनाए । रोहितले चाहिँ सुधीरले जस्तो पैसा छैन भनेनछन्, उनले म त्यसै पैसा दिन सक्दिँन वकिलसँग कुरा गरेरमात्रै दिन्छु भनेका रहेछन् । जीउ ढक्क फुलेर आयो । सिंगै पहाडले थिच्न आँटेजस्तो लाग्यो । मुटुको ढुकढुकी बढेर आयो । छाती फुलेर आयो । लाग्यो रोहित ठूलो समस्याको भुमरीमा फस्दैछन् । उनको कुराले मलाई त यति पोल्यो भने उनलाई कस्तो भएको होला ? के गरुँ कसो गरुँ भयो, के भनुँ मुखमा कूनै शब्द नै आएनन् । मैले लामो सास तानेर भने “रोहित भाइ म एकछिन ठन्डा दिमागले सोच्छु अनि फोन गर्छु ल” भनेर फोन राखें । खाँदै गरेको तातो कफी पनि छाडेर दीपक भाइलाई मलाई तुरुन्तै कहीं जानुपर्ने भयो भनेर बाहिर निस्किएँ । गाडीमा गएर एकछिन आँखा चिल्लेर के गर्ने कसो गर्ने भनेर सोचें । कोही चिने जानेका वकिलहरुका बारेमा सोचें । ट्याक्ससम्बन्धी हेर्ने त कोही छैनन् । झट्ट एक जना एकाउन्ट पढेर ट्याक्सको काम गरिरहेका दाइलाई सम्झें र फोन लगाएँ । उहाँ अफिसमा भएको थाहा भएकाले उहाँले फोन उठाउने बित्तिकै उहाँलाई कानेखुसी गेरजस्तै गरेर भने ” दाइ, तपाई अफिसमा हुनुहुन्छ, म धेरै समय लिन्न भन्दै भाइ रोहितले भनेको सबै कुरा सुनाएँ । उहाँले पनि कानेखुसी शैलीमै भन्नुभयो “भाइ यो सब ठगहरुको काम हो । धेरैलाई यस्ता फोनहरु आउने गरेका छन् । आइआरएसले कहिले पनि फोन गर्दैन, चिठी पठाउँछ, फोनै गरे पनि पैसा त कुनै हालतमा माग्दैन ।” दाइ भन्दै हुनुहुन्थ्यो । मैले भनें, दाइ यो घटना त ममाथि नै घटेको थियो, आज के भएछ मैले भुलेंछु । मैले त्यो फोन गर्नेलाई उल्टो साफ गाली गरेर फोन राखेको थिएँ । सम्झाइ दिनुभएकोमा धन्यवाद, रोहित आत्तिएका होलान्, म उनलाई सम्झाउँछु । लामो सास फेरें, मन हलुँगो भएर आयो । ठूलो युद्ध जितेजस्तै लाग्यो । तुरुन्त रोहितलाई फोन गरेर, मलाई आएको त्यस्तै फोन कल र त्योसँग भएका कुराकानी अनि एकाउन्ट जानेको दाइसँग भएको कुराकानी रोहितलाई भनें र निश्चिन्त भएर बस्न भनें । अनि फेरि युद्ध जितेको सिपाहीजस्तो गर्दै खुसी हुँदै स्टोरभित्र फर्केर गएंँ र भनंे “दीपक भाइ, मेरो समस्याको समाधान गाडीबाटै भयो त्यसैले मेरो कफी सक्न आएँ ।”
####

0 comments

Write Down Your Comment