महासंघको निम्तोमा मलेसियाका पूर्वप्रधानमन्त्री नेपाल आउँदै
###

 ५ चैत, क्वालालाम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथिर मोहम्मद आइतबार नेपाल आउने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्न लागेको ‘नेपाल बिजनेश समिट’ मा भाग लिन महाथिर नेपाल आउन लागेका हुन् । महासंघले राजधानीको बोद्धस्थित हायत होटलमा आइतबार र सोमबार बिजनेश समिट आयोजना गर्दै छ । कार्यक्रममा महाथिर प्रमुख वक्ताको रुपमा रहने महासंघका महानिर्देशक डा. हेमन्त दवाडीले जानकारी दिए ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा बुधबार महाथिरले मलेसियाका लागि नेपाली राजदुत डा. निरन्जनमान सिंह बस्न्यातसँग भेटवार्ता गरेका छन् । भेटको अवसरमा उनले धेरै पहिलादेखि नेपाल भ्रमणमा जान चाहेको भए पनि यस पटक मौका मिलेको बताएका थिए । उनले नेपालको यात्रामा आफु निकै उत्साहित भएको राजदूतसमक्ष बताएका छन् ।

डा. महाथिर मलेसियामा १९८१ देखि २००३ सम्म २२ वर्ष प्रधानमन्त्री रहेका थिए । उनी प्रधानमन्त्री भएदेखि मलेसियाले विकासमा तिव्र रुप लिन थालेको हो । मलेसियामा मात्र नभई महाथीर विश्वभर चर्चित नेताका रुपमा मानिन्छन् । मलेसियाको आर्थिक सामाजिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेका महाथिरले कार्यक्रममा आफ्ना अनुभवहरु सुनाउने दवाडीले अनलाइनखबरसँग बताए । ‘उहाँले विकास निर्माण तथा सामाजिक रुपान्तरण सम्बन्धी आफ्ना अनुभवहरु हामीसँग शेयर गर्नुहुनेछ’ दवाडीले भने ।

गत महिना नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यको टोलीले मलेसिया पुगेर महाथिरलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । महाथिरसँगै मलेसियाबाट कार्यक्रममा ठूलो बिजनेश डेलिगेसन आउने कार्यक्रम रहेको छ । महानिर्देशक दवाडीका अनुसार डेलिगेसनमा मलेसिया बिजेनश काउन्सिलका पदाधिकारी, उद्योगी, लगानीकर्तासहित ३० जनाभन्दा बढीको सहभागिता रहने छ । साथै, गैरआवासीय नेपाल संघ मलेसियाका पदाधिकारी समेत कार्यक्रममा सहभागि हुने भएका छन् ।

राजदूतसँगको भेटमा महाथिरले नेपालको राजनीतिक अवस्थाबारे चासो राखेका थिए । उनले संविधान बनाउने कुरामा नेताहरुलाई जनताले दबाव दिनुपर्ने बताएका छन् । संविधानमा सबैको सहभागिता हुनुपर्ने भएकाले मलेसियाको संविधान लेख्दा विदेशबाट समेत विशेषज्ञ ल्याएर संविधान लेखिएको स्मरण गर्दै उनले सबैको सहभागितामा संविधान जारी गरेको राजदूतसमक्ष बताए ।

स्रोत र साधन भएर मात्रै देशको विकास नहुने उल्लेख गर्दै दिगो व्यवस्थापन र केही गरौं भन्ने दृढ सोच भएमा मात्रै देशले प्रगति गर्न सक्ने महाथिरको भनाइ थियो । तीन दिनसम्म हुने नेपाल भ्रमणमा महाथिरले राष्ट्रपति लगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
भेटमा डा. राजदुत बस्न्यातले महाथिरको नेपाल भ्रमणले दुई देशवीचको सम्वन्ध अझ प्रगाढ हुने बताएका छन् । भेटमा नेपाली दूतावासका प्रथम सचिव दुरपता सापकोटा समेतको सहभागिता थियो । प्रधामन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने बिजनेश समिटमा मलेसियाबाट मात्र नभई विभिन्न मुलुकबाट समेत डेलिगेसन आउने बताइएको छ ।

महासंघका अनुसार छिमेकी मुलुक चिनबाट पनि करिव ३० जनाको बिजनेस डेलिगेसन आउने कार्यक्रम छ । साथै, युके, क्यानडा, फ्रान्स लगायतका मुलुकबाट पनि बिजनेश डेलिगेसन आउने भएको छ ।

####

0 comments

Write Down Your Comment