सौराहामा खुल्यो सेन्टर पार्क
###
|
२४ फागुन, काठमाडौं । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा नयाँ होटल सञ्चालनमा आएको छ । सौराहाको बछेउलीमा २१ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न सेन्टर पार्क रिसोर्ट सञ्चालनमा आएको हो । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको रिसोर्टमा ४६ वटा रुमहरु रहेका छन् । जसमा दुई वटा सुविधा सम्पन्न स्वीट रुम र ४४ वटा डिलक्स रुम रहेको सञ्चालक सीबी थापाले जानकारी दिए । रिसोर्ट श्रीपञ्चमीका दिनदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । करिव दुई विगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टमा स्विमिङ पुल, दुईवटा सभा हल, आकर्षक बगौंचा लगायतका सुविधाहरु रहेका छन् ।
एउटा सभा हलमा ५० जना र अर्कोमा सय जना अटाउने सञ्चालक थापाले बताए । पछिल्लो समय सौराहामा कम्पनीहरुको वाषिर्क साधारण सभा, गोष्ठी, सेमिनार र डिलर्स भेट गर्न जानेहरुको संख्या बढ्दै जान थालेपछि होटलहरुले पनि कन्फ्रेन्स हललाई प्राथमिकता दिने गरेका छन् । रिसोर्टका सबै कोठामा एसी, टिभी, वाईफाई लगायतका सुविधाहरु रहेको थापाले बताए । विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न थापाले सञ्चालनमा रहेको चितवन एडभेञ्चर रिसोर्ट बेचेर गत वर्षदेखि सेन्टर पार्क रिसोर्ट निर्माण सुरु गरेका थिए । थापाले ट्राभल एजेन्सीमा जागिर सुरु गरेर पर्यटन क्षेत्रमा प्रवेश गरेका हुन् । उनले पछि आफै ट्राभल एजेन्सी खोलेर सञ्चालन गरे ।
लामो समय ट्राभल व्यवसायमा बिताएका उनले ट्राभल सम्बन्धी राम्रो अनुभव संगालेका छन् । रिसोर्टबाट पर्यटकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउने थापाले दाबी गरेका छन् । थापाका अनुसार होटलका रुम र अन्य सेवा-सुविधाहरु फाइभ स्टार बराबरका हुनेछन् । उनले स्वदेशी, इण्डियन र विदेशीहरुलाई फरक फरक मूल्यका ‘टु डे वान नाइट’, ‘थि्र डे टु नाइट’ र ‘फोर डे थि्र नाइट’ प्याकेज बनाएको बताए । प्याकेज मार्फत आउने पर्यटकहरुलाई हात्तीबाट जंगल सफारी, राप्ती नदीमा डुंगा सफारी, स्थानीय थारु संस्कृतिको अवलोकन, थारु नाच, पदयात्रा लगायतका सेवा-सुविधाहरु उपलब्ध गराइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनमा विश्वमै प्रशिद्ध मानिन्छ । वाइल्ड लाइफमा रमाउन वर्षेनी लाखौं पर्यटक सौराहा पुग्ने गर्छन् ।
केही समय अगाडि विदेशी पर्यटक मात्र पुग्ने सौराहामा पछिल्लो समय हजारौं स्वदेशी पर्यटकहरु पनि वाइल्ड लाइफमा रमाउन पुग्ने गरेका छन् । पर्यटकको ओइरो लाग्न थालेपछि पर्यटन व्यवसायीहरुको आकर्षण सौराहामा बढ्दै गइरहेको छ । पछिल्लो समय सौराहामा साना ठूला होटलहरुको संख्या पनि बढ्दै गइरहेका छन् । ठूला व्यवसायिक घरना समेत सौराहामा होटल खोल्न लालायित भएको देखिन्छ । स्थानीय व्यवसायीका अनुसार अहिले सौराहामा होटलहरु सयको हाराहारीमा पुगेका छन् । केही साता अगाडिमात्र सौराहामा ल्यान्डमार्क होटल सञ्चालनमा आएको थियो । केही महिनाभित्र सौराहाको बाघमारामा निर्माण भइरहेको सतनचुली होटल पनि सञ्चालनमा आउँदैछ ।
####
.jpg)







0 comments
Write Down Your Comment