एउटा बूढो सिखका किस्साहरु
###

 काठमाडौ, चैत्र ८ - ९९ वर्षको उमेरमा बिहीबार निधन खुसवन्त सिंहले जिउँदै छँदा भनेका थिए- मरेका मान्छेलाई सन्त बनाएर लेख्नुजति बोरिङ कुरा केही हुँदैन । उनी आफू मरेपछि आफूलाई जसले जति गाली गरे पनि फरक नपर्ने बताउँथे । रमाइलो त के थियो भने उनले आफ्नो मृत्युको शोकलेख आफैले लेखेका थिए, त्यसलाई पनि कथाका रूपमा प्रकाशित गरेका थिए । सन्डे अब्जर्भर नामक पत्रिकाले ३१ वर्षअगाडि नै उनको काल्पनिक समवेदना लेख छापेको थियो । खुसवन्त सिंह भारतका प्रसिद्ध लेखक एवं पत्रकार थिए । इल्युस्टे्रटेड विक्ली र हिन्दुस्तान टाइम्सका सम्पादक रहिसकेका सिंहले थुप्रै साहित्यिक कृतिका साथै सिखहरूको इतिहासमाथि पनि पुस्तक लेखेका थिए ।

गम्भीर पुस्तकका साथै चुट्किलाहरूका लागि पनि उनले प्रसिद्धि पाएका थिए । 'फोहोरी बूढो'को उपनामसमेत पाएका उनी विविध विषयमा लेख्थे । ९५ वर्षको छँदा निस्किएको पुस्तक 'एब्सुलुट खुसवन्त'मा उनले भनेका थिए, 'म प्रायः मृत्युका बारे सोच्छु तर योसँग डराउँदिनँ । डराएर निदाउन छोड्दिनँ । बरु म मरेका मान्छेका बारे सोच्छु । ती कहाँ गए होलान्, के गर्दै होलान् ?' यसको चार वर्षपछि अन्ततः यी बूढा सिख पनि त्यही लोकमा गए, जहाँको खबर कसैलाई आउँदैन । खुसवन्तका बारे यहाँ प्रस्तुत गरिएका यी किस्साहरू आउटलुक, दी हिन्दू, इन्डियन एक्सप्रेस तथा खुसवन्तका पुस्तक तथा उनीमाथि लेखिएका ब्लगहरूबाट लिइएको हो ।

ख सन् १९९९ को लोकसभाको चुनावमा दक्षिणी दिल्लीबाट उम्मेदवार बनेका डा. मनमोहन सिंहले चुनाव हारे । चुनाव हारेको केही दिनपछि मनमोहनले लेखक खुसवन्त सिंहलाई भेट्ने समय मागे । भेट्न जाँदा उनी एउटा प्याकेट बोकेर गएका थिए । जानासाथ प्याकेट खुसवन्तलाई दिएर उनले भने, 'तपाईंले दिनुभएको पैसा मैले प्रयोग गरिनँ, फिर्ता लिनुहोस् ।' भएको के थियो भने चुनाव प्रचारका लागि ट्याक्सी भाडामा लिन भनेर मनमोहनका ज्वाइँले खुसवन्तसँग २ लाख भारु लिएका थिए । यो पैसा मनमोहनले खर्च गरेनन् ।

-खसुबन्त सिंहलाई आफू सय वर्ष बाँच्छु भन्ने थियो । तर, शतक प्रहार गर्न एक रनबाट चुकेको कुनै सिद्धहस्त ब्याट्स्म्यानझैं उनी पनि एक वर्षबाट यसमा चुके । उनकी आमा सय वर्ष बाँचेकी थिइन् ।

-उनको त्रियानब्बेऔं जन्मदिन नजिक आइरहेको थियो । घरमा फोन आयो । फोन गर्ने मानिसले राष्ट्रपति एपीजे अब्दुल कलामले उनलाई भेट्नलाई समय मागेको बतायो । 'मलाई लाग्यो, कसैले मलाई उल्लु बनाउँदै छ, राष्ट्रपतिले पनि कसैको समय माग्छन्,' उनले भनेका छन्, 'मैले पत्याइनँ । दुई दिनपछि मेरो घर वरिपरि पुलिस डुल्न थालेपछि बल्ल हो कि झैं लाग्यो ।' जन्मदिनको दिन कलाम सिंहको घर पुगे । यी दुईका बीच केहीबेर पुस्तकका बारे वार्ता भयो । दुवैले एकअर्कालाई आफ्ना पुस्तकहरू आदानप्रदान गरे । गफगाफका क्रममा कलामले खुसवन्तसँग देश चलाउने विषयमा सल्लाह मागे । खुसवन्तले जवाफ दिए, 'तपाईंलाई सल्लाह दिने काम मेरो होइन । म एउटा जोकर हुँ । मेरो काम दुनियाँलाई हँसाउने हो, सल्लाह दिने होइन ।'

- प्रसिद्ध लेखिका अमृता पि्रतमको उपन्यास 'पिञ्जर'को पन्जाबीबाट अंग्रेजीमा अनुवाद खुसवन्त सिंहले गरेका थिए । अनुवादबाट आएको सबै रोयल्टी उनले अमृतालाई नै दिए । यसमा उनको एउटा सर्त थियो, अमृताले आपmनो प्रेम जीवनका बारे खुसवन्तलाई अर्को पुस्तक लेखेर दिनुपर्ने ! तर, अमृताले त्यस्तो केही लेखिनन् । उनले खालि कवि एवं गीतकार साहिर लुधियानवीका प्रति आफ्नो प्रेमको मात्र कुरा गरिन्, जसलाई उनले कहिल्यै भेटेकी थिइनन् । अमृताको यो कुरा खुसवन्तलाई खास मन परेन । किनभने, अमृता लाहोर हुँदैदेखि साहित्य वृत्तका 'आसिक'हरूको ध्यानको केन्द्रमा थिइन् । खुसवन्तले उनलाई भने, 'यति कुरा त रसिदी टिकट -हुलाक टिकट) मै लेख्न सकिन्छ ।' पछि जब अमृताले आपmनो आत्मकथा लेखिन्, जसमा साहिरसँगको सम्बन्धको बयान थियो त्यसको नाम 'रसिदी टिकट' राखिन् ।

- साहित्यिक लेखनका अलावा खुसवन्त सिंह आपmना जोक्सका कारण पनि चर्चित रहे । दिल्लीको केन्द्रीय इलाकामा घर भएका खुसवन्त निकै धनी लेखक हुन् । ठूलो कम्पाउन्ड र ठूलो घरमा बस्ने भए पनि उनी मध्यमवर्गीय भारतीयका पि्रय लेखक बने र त्यसैअनुसारको आपmनो छवि बनाए । हरेक रात दुई पेग स्कच पिउने उनको बानी थियो । आपmनो ९६ औं जन्मदिनमा उनले निम्तालुहरूलाई ब्ल्यु लेबल हि्वस्की 'सर्व' गरेका थिए । त्यसको अर्को साता लेखक एवं आउटलुकका पूर्वप्रधानसम्पादक विनोद मेहताले आपmनो कोलममा पहिलोपटक खुसवन्तको घरमा ब्ल्युलेबल खाएको कुरा लेखे ।

- अमृता पि्रतमले आफ्नो पुस्तकको नाम चोरेर आफ्नो किताबको नाम राखेको भन्दै अर्की लेखिका कृष्णा सोवतीले एकपटक मुद्दा हालेकी थिइन् । यो मुद्दामा अमृताका तर्फबाट खुसवन्तले बयान दिएपछि कृष्णाले न्यायाधीशलाई भनेकी थिइन्, 'महोदय, यसका कुरा नसुनियोस्, यो मान्छे पनि धनी लेखकको त्यही माफियाको एउटा सदस्य हो ।'

- खुसवन्तका पिता सोवा सिंह कन्ट्याक्टर थिए । तीस चालीसको दशकमा दिल्ली सहरका धेरै निर्माणको काम सोवा सिंह र उनका पिता सुजन सिंहले गरेका थिए । एकथरी मानिसहरू दिल्ली सहर सोवा सिंहले बनाएका हुन् भन्थे । १९४७ मा एउटा भनाइ थियो रे, '९९ प्रतिशत दिल्लीको स्वामित्व सरकारको हो, १ प्रतिशत सोवा सिंहको ।'

-  'सन्डे अब्जर्भर' नामक पत्रिकामा खुसवन्त सिंहको अबिचुरी (मृतकको सम्झनामा लेखिने लेख) आजभन्दा ३१ वर्षअघि सन् १९८३ मा छापिएको थियो । धिरेन भगतले लेखेको यो काल्पनिक अबिचुरीमा खुसवन्तले 'इल्युस्ट्रेडेट विक्ली' र 'हिन्दुस्तान टाइम्स'को सम्पादकका रूपमा पत्रकारितालाई दिएको योगदानका साथै उनको लेखकीय जीवन र व्यक्तिगत जीवनको पनि चर्चा गरिएको थियो ।

-  जुन बेला खुसवन्त भारतीय परराष्ट्र सेवाको कर्मचारीका रूपमा लन्डनमा कार्यरत थिए, त्यतिबेला भारतका प्रधानमन्त्री जावहरलाल नेहरू थिए । अंग्रेज सरकारका तर्फबाट भारतका अन्तिम भायसराय लर्ड माउन्टवेटनकी पत्नी एड्विना माउन्टवेटनसँग नेहरूको प्रेम सम्बन्धको त्यतिबेला चर्चा थियो । भारतको प्रथम प्रधानमन्त्रीका रूपमा नेहरू लन्डन भ्रमणमा आएका थिए । यो भ्रमणमा सिंह नेहरूको 'पब्लिक रिलेसन अफिसर'का रूपमा खटिएका थिए । नेहरू लन्डन उत्रिएको चिसो राति अन्य कर्मचारीसँगै उनलाई स्वागत गर्न विमानस्थल पुगेको टोलीलाई नेहरूले 'यति चिसोमा किन आएको, गएर सुत' भनेर पठाइदिए । भोलिपल्ट बिहानै छापिएको पत्रिका 'द डेली हेराल्ड'मा नेहरूको तस्बिर छापिएको थियो । तस्बिरमा नेहरू लेडी माउन्टवेटनको घरको ढोकाअगाडि उभिएका थिए, एड्विना ढोका खोल्दै थिइन् । पत्रिकाले तस्बिरलाई क्याप्सन दिएको थियो, 'लेडी माउन्टवेटन्स मिडनाइज भिजिटर ।' यो समाचारमा लर्ड माउन्टेवटन अहिले लन्डनमा छैनन् भन्ने पनि लेखिएको थियो ।

नेहरूको यो भ्रमण खासै फलदायी भएको थिएन । उनले केही पुस्तक किने र फर्किने अघिल्लो दिन एड्विना माउन्टवेटनलाई गोप्य डिनरका लागि एउटा रेस्टुरेन्टमा बोलाए । रेस्टुरेन्टको मालिकले उनीहरूलाई चिन्यो र आफ्नो रेस्टुरेन्टको प्रचार हुने देखेर प्रेसलाई खबर गरिदियो । भोलिपल्ट फेरि नेहरू र एड्विनाको तस्बिर छापियो । खुसवन्तलाई नेहरूले भेट्न खोजेको खबर आयो । उनी भेट्न गए । नेहरूले उनलाई चिनेनन् र सोधे, 'तिमी को हौ ?' उनले भने, 'म तपाईंको पीआरओ !' रिसले चुर नेहरूले भने, 'प्रचार गराउने तिम्रो अचम्मको शैली रैछ !'

- खुसवन्त सिंहले लेखेका पुस्तकमध्ये 'दी टे्रन टु पाकिस्तान'लाई सबभन्दा राम्रो मान्ने धेरै छन् । भारत पाकिस्तान विभाजनको त्रासदीमाथि लेखिएको यो प्रेमकथा उनले परराष्ट्र सेवामा रहेका बेला लेखेका थिए । सन् १९५५ उनले लेखेको 'मनो माजरा' नामक सानो उपन्यासले अमेरिकाको ठूलो धनराशि भएको पुरस्कार पायो । पछि यही उपन्यासलाई खुसवन्तले 'दी टे्रन टु पाकिस्तान'का रूपमा निकालेका थिए । उनको अर्को उपन्यास 'कम्पनी अफ वोमन' पनि प्रसिद्ध भएको थियो । ९५ वर्षको उमेरमा उनले 'दी सनसेट क्लब' उपन्यास लेखेका थिए । ३० भन्दा बढी पुस्तक लेखेका उनले दिल्ली सहरमाथि लेखेको पुस्तक 'दिल्ली' पनि चर्चित छ । ९८ वर्षको उमेरमा गत वर्ष उनको अन्तिम पुस्तक 'द गुड, द ब्याड एन्ड द रिडिक्युलस' प्रकाशित भएको थियो ।

- खुसवन्त सिंहलाई भारतमा सबैभन्दा बढी पढिएको अखबारको कोलमिस्ट मानिन्छ । ३० वर्षसम्म उनले हरेक हप्ता दुइटा कोलम लेख्ने गरेका थिए । विभिन्न भाषामा अनुवाद भएर यी थुप्रै पत्रिकामा छापिन्थे । उनको कोलम 'विथ मसिल टुवार्डस् वान एन्ड अल' लोकपि्रय थियो ।

- छुद्र र फोहोरी बूढोको उपनामसमेत पाएका खुसवन्त जे विषयमा पनि लेख्ने लेखकका रूपमा चिनिन्छन् । उनी पत्रिकाहरूका बारे पनि टिप्पणी लेख्थे । एकपटक 'आउटलुक' पत्रिकामा उनले लेखे, 'आउटलुकजस्ता पत्रिकाले बेला बेला देशका उत्कृष्ट कलेज, हस्पिटल के-के भनेर लिस्ट छापिरहेका हुन्छन् । म यस्ता लिस्टको कुनै औचित्य र विश्वसनीयता देख्दिनँ । छाप्ने नै हो भने उत्कृष्ट नाइट क्लब, वेश्यालय र मानसिक रोगीको आश्रयस्थलको लिस्ट पनि किन नछाप्ने ?'

- १९७४ मा दिइएको पद्मभूषण उनले १९८४ मा अमृतसरको स्वर्ण मन्दिरमा भारतीय सेनाले धावा बोलेपछि फर्काएका थिए । शिख उग्रवादी नेता जनरलसिंह भिण्डारवालेलाई पक्रिनका लागि चलाइएको 'अपरेसन ब्ल्युस्टार'मा स्वर्ण मन्दिरमाथि हमला गरिएको थियो ।

- इन्दिरा गान्धीले लगाएको संकटकाललाई सुरुमा खुसवन्तले समर्थन गरेका थिए । उनको तर्क थियो- हिंसा भयो भने सरकारले त्यसलाई दबाउन जे पनि गर्न सक्छ । तर, जब इन्दिराले प्रेसमाथि प्रतिबन्ध लगाउन सुरु गरिन् उनले आपmनो समर्थन फिर्ता लिए । पछि खुसवन्तले भने, 'आपmनो विरोध गर्ने सबै चीजलाई खत्तम पार्ने इन्दिराको बानी थियो । तर, उनले मलाई खत्तम पार्न सकिनन्, किनभने म त्यसपछि उनको नजिकै गइनँ ।'

- यौनका विषयमा खुलेर लेख्ने छिल्लिएको बूढो भनिए पनि खुसवन्तले आपmनो लेखनको सुरुवात भारतको योजना आयोगको जर्नल 'योजना'का लागि लेखेर सुरु गरेका थिए । पछि गएर उनी व्यंग्य चेतका कारण प्रसिद्ध भए ।

- उनको निधनमा मनमोहन सिंहदेखि नरेन्द्र मोदी र शाहरूख खानसम्मले ट्विटरमा समवेदना प्रकट गरे । सिंहलाई निकै मन पराउने लेखिका शोभा डेले भने यस्तो ट्विट गरिन्, 'खुसवन्त सिंहले मात्रै यस्तो भन्न सक्थे, 'कलमका लागि कुनै कन्डम बनेको छैन ।'
####

0 comments

Write Down Your Comment