नयाँ शक्ति बन्यो नेपाल
###

 चटगाउँ (बंगलादेश), चैत्र ८ - नेपाली क्रिकेटले आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपअघि धेरै ठूलो सपना पालेको थिएन । पहिलो पटक विश्वकपमा सहभागी नेपालको मुख्य लक्ष्य नेपाली क्रिकेटलाई विश्वसामु चिनाउनु थियो ।

प्रतियोगिताअघि ढाकाको पान प्यासेफिक सोनारगाउँ होटलमा सञ्चारकर्मीसामु राष्ट्रिय टिमका कप्तान पारस खड्का आत्मविश्वासी ढंगले प्रस्तुत हुँदै यही लक्ष्यमाथि प्रकाश पार्दै थिए । प्रतियोगिताको पहिलो चरणमा दुई खेल जित्दासमेत नेटरनरेटको आधारमा पछि पर्दै नेपाल सुपरटेनमा उक्लन सकेन । त्यसो हुँदा पनि नेपाली क्रिकेटले विश्वलाई आफ्नो परिचय मात्र दिएन, एसोसिएट्समध्ये अब्बल भएको प्रमाणित गर्‍यो ।

न्युजिल्यान्डमा आईसीसी वान-डे विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेको महिना दिन बित्दैछ । ट्वान्टी-ट्वान्टी यात्राबाट त्यसको पीडा स्वात्तै हराएको छ ।

यूएईमा साता लामो अन्तिम अभ्यासमा नेदरल्यान्ड्स र यूएईसँग अभ्यास खेल खेलेको नेपाल सीधै बंगलादेश हानिएको थियो । बंगलादेशको फतुल्लाहमा यूएई र आयरल्यान्डसँग थप दुई अभ्यास खेलमा पराजित हुँदाको नमज्जा विश्वकपमा पटक्कै दोहोरिएन ।

ती पराजयबाट कमजोरी पत्ता लागेको, आत्मविश्वासमा कुनै कमी नआएको कप्तान खड्काले बताएका थिए । नभन्दै चटगाउँको

जोहर अहमद चौधरी स्टेडियमका तीनै खेलमा नेपाली टोली आत्मविश्वासी देखियो । अनि

दुईमा सफलता ।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको नेपाली क्रिकेट सन् २००७ को एसीसी ट्वान्टी-ट्वान्टी क्रिकेटदेखि यो छोटकरी विधामा सहभागी हुन थालेको हो । सन् २०१२ को आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा सातौं स्थान हासिल गरेपछि विश्वकप खेल्ने सपना दुई वर्ष पछि सारेको नेपालले यसपटक एसीसी ट्वान्टी-ट्वान्टी र आईसीसी ट्वान्टी-ट्वान्टी छनोट दुवैमा अब्बल प्रदर्शन गरेको थियो । त्यसबाटै विश्वकप योग्यता सावित भएको थियो ।

कप्तान खड्का हङकङविरुद्धको पहिलो खेलमा प्राप्त जितलाई ऐतिहासिक भन्छन् । देशमा होलीको धुमधाम चलिरहँदा उनको टोलीले उक्त जितको उपहार दिएको थियो ।

'क्रिकेटले नेपाललाई एकसूत्रमा बाँधेको छ भने यो विजयले त्यसलाई अझ मजबुत बनाउनेछ,' खेलपछि उनले भनेका थिए ।

पहिलो खेलमा शक्ति गौचन र वसन्त रेग्मीको महत्त्वपूर्ण भूमिका रह्यो । शक्ति नौ रनमा तीन विकेटका लागि 'म्यान अफ द म्याच' पनि रहे । प्रतियोगिता भर वसन्त र शक्तिले समान पाँच विकेट लिए । त्यस्तै बलरद्वय सोमपाल कामी र जितेन्द्र मुखियाले चार-चार विकेट लिए । हङकङविरुद्ध ज्ञानेन्द्र मल्ल अर्धशतक बनाउन दुई रनले चुके ।

यस पटक सुवास खकुरेल र सागर पुनको प्रारम्भिक जोडी खुबै जम्यो । उनीहरूले नेपाली ब्याटिङमाथिको भरोसालाई

दरिलो पारे ।

दोस्रो खेल विशेष थियो । हङकङलाई फराकिलो अन्तरले जितेर आत्मविश्वासी बनेको नेपाल पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको सामना गर्दै थियो । नेपालले गुमाउनु केही थिएन । बिनादबाब खेल्दै बंगलादेशसँग साहसिक र बहादुरीपूर्ण प्रदर्शन गर्दा सुपरटेनको सम्भावना जीवित रह्यो । तर टसले साथ दिएन । बंगलादेशले पहिले ब्याटिङ गर्नुको फाइदा उठायो, आठ विकेटको जित हासिल गर्‍यो । नेपालले खराब ब्याटिङ गरेन, पूरै ओभर खेल्दै १ सय २६ रन बनायो ।

नेपाली प्रशिक्षक पुबुदु दसानायके निराश भएनन् । बरु नेपाली खेलाडीलाई त्यो अनुभवबाट सिक्न प्रेरित गरे । 'नेपाली खेलाडी युवा छन् र उनीहरूले सिक्ने यस्तै खेलबाट हो,' उनले भने । बंगलादेशी खेलाडीले नेपाली प्रदर्शनको प्रशंसा गरे । म्यान अफ द म्याच अमिन हुसेनले एसोसिएट्सका रूपमा नेपाल आदर्श बनेको टिप्पणी गरे ।

तेस्रो खेल साँच्चै ऐतिहासिक थियो । अफगानिस्तानसँगको भेट नेपालका लागि सधैं महत्त्वपूर्ण हुने गर्छ । किनभने ट्वान्टी-ट्वान्टीमा नेपालले एसोसिएट्समध्ये एसियामा नहराएको एउटै राष्ट्र हो अफगानिस्तान । अझ विश्वकपको भेट र त्यसको नतिजा महत्त्वपूर्ण हुने गर्छ ।

एकआपसमा सातौं पटक भिड्न लागेका दुई देशको स्पर्धा पृष्ठभूमिमा अफगानिस्तान लगातार हावी थियो । यो पटक नेपालले क्रमभंग गर्दै नौ रनको सनसनीपूर्ण जित हात लगायो ।

प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल ५६ रन बनाउँदै विश्वकपमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बने । उनले तीन खेलमा ८६ रन बनाएका थिए । शरद भेषवाकरले तीन खेलमा सर्वाधिक ९१ रन बनाए भने पारस र ज्ञानेन्द्रले समान ८३ रन जोडे ।

 ट्वान्टी-ट्वान्टी विश्वकपको यस्तो प्रेरणादायी अनुभवपछि कप्तान खड्काले एउटा सार्थक अभिव्यक्ति दिएका छन् । 'नेपाली क्रिकेटले एउटा चक्र पूरा गरेको छ, अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ,' उनले भने, 'यो जित सम्पूर्ण नेपालीमा समर्पित छ । हामी नेपाल र नेपालीका लागि खेल्छौं र जितका लागि प्रयास गर्छौं ।'
####

0 comments

Write Down Your Comment