कमरेड, तपाइँका आँखाबाट पनि आँसु !
###
![]() |
एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा सुप्रिम कमान्डर पुष्पकमल दाहालपुत्री ज्ञानु केसी दाहालको अघिल्लो साता क्यान्सर रोगका कारण अल्पायुमै निधन भयो। यस दु:खद घडीमा दाहालले आँखाबाट आँसु झारेको देखियो। सम्भवत: सर्वसाधारण नेपालीले आफ्ना महान् क्रान्तिकारी नेताका आँखाबाट पहिलोपटक आँसु झरेको देखेका हुन् !
सामान्यत: जो कसैका प्रियजन वा परिवारका सदस्यको निधनमा दु:ख व्यक्त गर्दै आँसु खसाल्दा प्रतिक्रिया वा टिप्पणीको विषय बन्दैन तर दाहालले आफ्नी छोरीको निधनमा दु:खभाव प्रकट गर्दै आँखाबाट आँसु खसालेको दृश्य चर्चा र टिप्पणीको विषय बन्न पुगेको छ। दाहालले छोरीको वियोगमा भावुक बनेको, दु:खको अनुभूति गरेर आँखाबाट आँसु खसालेको विषयले सामाजिक सञ्जालमा राम्रै स्थान पायो।
‘अब पनि दाहालजीले १७ हजार सन्तानका परिवारले कसरी चित्त बुझाउँछन् हेर्नु छ। त्यसैले सबै अपराधीलाई सत्य निरूपण तथा मेलमिलाप आयोग नामको एउटै टोकरीमा हालेर उन्मुक्ति दिने विचारमा हुनुहुन्छ भने अब विचार गर्नुस्, ती १७ हजार नेपालीको आँसुको भलले अर्को चुनाउमा शून्यमा झर्ने गरी बगाउला नि !
अर्काका छोराछोरीलाई दसैंको खसी झैं काट्दै माओवादी जिन्दावाद भन्दै हिँड्दा उनीहरूका बाआमा, दाइभाइ, पत्नी, छोराछोरी कति रोए होलान् दाहालजी !
मृत्यु अनिवार्य सत्य हो र यो दु:खद हुन्छ। दुनियाँका छोरोछोरी मारेर कथित क्रान्ति गर्ने हत्यारा दाहालको आँसुले मृतकको स्वर्गको बाटो अवरुद्ध नगरोस् भन्ने कामना!’
उपरोक्त कथन पंक्तिकारका निजी विचार होइनन्, दाहालकी छोरीको निधनपछि इन्टरनेटमा आएका प्रतिनिधि प्रतिक्रिया हुन्। निश्चय नै, यसरी प्रतिक्रिया आउनुमा दाहालका नामबाट मारिएका हजारौं व्यक्तिको परिवारजनका दु:ख, पीडा, आक्रोशको अभिव्यक्ति हो।
कुनै पनि नेपाली मात्र होइन, मानवमात्रको निधनमा चेतनशील प्राणी मान्छेको जात दु:खी हुनु स्वाभाविक हो। देशका पूर्वप्रधानमन्त्री तथा संविधानसभाको तेस्रो ठूलो दल एकीकृत माओवादीको अध्यक्षलाई पुत्रीशोकमा उहाँप्रति सहानुभूति एवम् समवेदना भाव प्रकट गर्नु मानवीय संस्कार एवम् शिष्टाचारको विषय हो।
पंक्तिकार पनि यस लोकप्रिय दैनिकमार्फत अध्यक्ष दाहालप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलि प्रकट गर्छु। दाहालपुत्री ज्ञानुको दु:खदायी निधनमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै दाहालसहित परिवारजनप्रति समवेदना प्रकट गर्छ।
सामान्य मानिसलाई आफ्नो प्रियजन वा परिवारका सदस्यको निधनमा पीडित बन्नु, दु:खी हुनु, रुनु, आँसु झार्नु आदिलाई स्वाभाविक मानिन्छ। दुई थरी मानिस मात्र अरूको निधनमा दु:ख वा पीडाबोध गर्दैनन् असामान्य वा मानसिक सन्तुलन बिग्रिएका, मानसिक अपांगता भएका।
मानव प्राण, मन र बुद्धिविवेक परमात्माको अंश हो, हाम्रो लक्ष्य प्रभुकै शरणागति हो, जीवन दु:ख हो, मृत्यु मुक्ति हो भन्ने विषयमा आस्था एवम् विश्वास राख्ने ज्ञानी, महापुरुष र सन्तहरू मानिसको मृत्युमा दु:खी हुँदैनन्। सामान्य मानिसको निधनमा दु:ख त हुन्छ भने आफ्नो सन्तानको निधन अझ दु:खदायी हुन्छ, त्यसमा पनि अल्पायुमा हुने मृत्युले दिने पीडा अझ बढी हुन्छ।
दाहालजीले छोरीको निधनमा पिताजीको हैसियतमा रुनु, आँसु खसाल्नु वा पीडा महसुस गर्नु स्वाभाविक हो। तर दु:खको यस घडीमा सर्वसाधारणले विगतमा उनको नामबाट हजारौं नेपाली मारिँदा उनले किन गौरव महसुस गरे? आज छोरीको निधनमा व्यक्त प्रेम, करुणा, र पीडाभावको बोध सर्वसाधारणका छोरी मारिँदा किन भएन? यही प्रश्नमा सर्वसाधारणले अहिले दाहालको पीडाबोधमा स्वाभाविक प्रतिक्रिया र अभिव्यक्ति दिएका हुन्।
विगतमा सधैं दाहाल नाम उग्रताको पर्याय बन्यो। प्रचण्ड भन्नेबित्तिकै उग्रता, रौद्रता, त्रास, डर आतंक, हिंसा र हत्याको प्रतीक बन्यो।
उनैको पथमा हिँडेर, उनकै व्यक्तित्व, नाम र निर्देशनमा १७ हजार नेपाली मारिँदा उनमा कहिल्यै दु:ख, पीडा, करुणा र प्रेमभाव प्रकट भएको देखिएन। फगत आफ्नी छोरीको मृत्युमा उनमा दु:ख र पीडाको अनुभूति देखियो।
देशको कल्याण र जनताको सुख र मुक्तिका लागि क्रान्ति गरेको भन्ने क्रान्तिकारी नेताले सर्वसाधारणका छोराछोरीलाई पनि आफ्नै सन्तान सम्झनुपर्ने हो।
इमानदार नेताले आफ्ना सन्तान र सर्वसाधारणका छोराछोरीमा कुनै भेद्भाव गर्दैनन् र त उनीहरू राजनेता कहलिन्छन् तर हामीकहाँ नेताकै अभाव भो राजनेता त टाढाको कुरा।
कमरेड दाहाल आफूले सुरु गरेको हिंसा वा हतियारको राजनीतिलाई उचित थियो भन्ने पुष्टि गर्न आफूले मात्र हिंसाको राजनीति नगरेको, विगतमा कांग्रेसले पनि हतियार उठाएको थियो, बन्दुक हानेको थियो, बम पड्काएको थियो भन्ने कुरा बरोबर उठाउने गर्नुहुन्छ र माओवादी हिंसात्मक विद्रोहलाई गौरवशाली क्रान्तिको संज्ञा दिन रुचाउनु हुन्छ। तपाइँले अधिनायकवादी जनवादी सत्ता स्थापना गर्छु भनेर हतियार उठाउनुभएको थियो। त्यसो गर्न असफल हुनु भो र हतियार फालेर संसदीय राजनीतिकै धारमा आउन बाध्य हुनुभयो।
निश्चय नै, नेपाली कांग्रेसले विगतमा सशस्त्र क्रान्ति गरेको थियो। कांग्रेसले सशस्त्र क्रान्ति गर्न हुन्यो वा हुन्नथ्यो त्यो पनि विवादको विषय हुन सक्ला तर दाहालजी तपाइँले जस्तो जनताका बीचमा आफ्ना विचार लिएर जान पाउने, संगठन गर्न पाउने, मानव अधिकार र स्वतन्त्रता भएको प्रजातन्त्रको कालको खुला वातावरणको फाइदा उठाउँदै, बहुदलीय प्रजातन्त्रविरुद्धमा सशस्त्र विद्रोहको नेतृत्व गर्नुभएको थियो।
कांग्रेसले राणाशासनजस्तो कठोर र निरंकुश कालमा जनताको मुक्तिका लागि, प्रजातन्त्रका लागि सशस्त्र क्रान्ति गरेको थियो। त्यो क्रान्तिमा कांग्रेसका कार्यकर्ता, मुक्ति सेना र राणाको सेनाका बीच युद्धका क्रममा प्रतिकारमा परेर मारिनेबाहेक निहत्था जनता एकजना पनि मारिएनन्। तर तपाइँले सयौं निहत्था जनतालाई क्रूरतापूर्वक मार्नुभयो।
तपाइँको नेतृत्वमा भएको कथित जनक्रान्तिका दौरान तपाइँकै निर्देशनमा तपाइँका बफादार कार्यकर्ता र फौजले विद्यालयमा पढाइरहेका शिक्षकलाई कक्षाकोठाबाट घिसार्दै लगेर अबोध विद्यार्थीसामुन्ने रुखमा पाता कसेर बाँधेर हातखुट्टा भाँचेर लामो यातनापछि गोली ठोकेर मार्दा त्यसबेला तपाइँको आँखाबाट आँसु झरेन, क्याबात कमरेड भन्दै आफ्ना कार्यकर्ताको पिठ थप्थपाउनु भयो।
चितवनको बाँदरमुढेमा गुडिरहेको बसमा बम पड्काएर बालबालिका, महिला र स्थानीय किसानसहित दर्जनौं सर्वसाधारणलाई क्रूरतापूर्वक हत्या गर्दा तपाइँको शिर गौरवले उँचो भयो। क्रान्तिका नाममा गुडिरहेको बसमा आगो लगाएर मान्छे मार्दा मर्नेप्रति अलिकति प्रनि प्रेमभाव देखिएन।
सुराकी गरेको आरोपमा निहत्था मानिसलाई नियन्त्रणमा लिएर उसलाई गाड्ने खाल्टो उसैलाई खन्न लगाई जिउँदै पुर्दा तपाइँको मनमा ती पुरिने नेपाली आमाका सपूतप्रति करुणा जागेन। पतिपत्नी सुतिरहेको ठाउँमा मध्यरातमा सशस्त्र जत्था घरको ढोका फोरेर घरभित्र पसेर पतिलाई घिसार्दै आँगनमा लगेर पत्नीकै सामुन्ने पतिलाई छप्काएर मारेपछि पत्नीलाई खाना पकाउन बाध्य पारेको आततायी घटनाको कल्पनासम्म गर्न सकिन्न, त्यो छटनाले पनि तपाइँको ढुंगाजस्तो कठोर क्रान्तिकारी मन छोएन।
यी यस्ता घटना त प्रतिनिधि मात्र हुन्। तपाइँकै दाहाल नामबाट करिब १७ हजार नेपाली आमाका सपूत मारिए, हजारौं बिधुवा भए, हजारौं अपांग भए, घाइते र विस्थापितको कुरै नगरौं। तीनका परिवारजन र सन्तानको आँखाबाट कति आँसु बग्यो होला? तपाइँका आँखाबाट एक थोपा आँसु खसेन, बरू त्यसबेला तपाइँ भारतको कुनै सुरक्षित ठाउँमा बसेर महान् क्रान्तिको सफलता र देशको सत्ता कब्जा गर्ने र राष्ट्रपति बन्ने सपना देख्दै गौरवले शिर ठाडो बनाएर समयको प्रतीक्षा गरेर बस्दै हुनुहुन्थ्यो होला। तर आज, आफ्नी प्रिय छोरीको निधनमा त तपाइँका आँखामा पनि आँसु खस्दो रहेछ दाहाल कमरेड?
####
0 comments
Write Down Your Comment