###
![]() |
काठमाडौ, चैत्र २८ - दुई वर्षदेखि बेपत्ता छोरीमैयाँ महर्जनबारे काठमाडौं जिल्ला अदालतले गर्ने भनेको अन्तिम सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । महिनौं कुरेपछि फैसला सुन्न अदालत पुगेका परिवारजन, आफन्त र छिमेकी इजलास छिर्न लागेपछि मुद्दा सरेको जानकारी दिइयो ।
'न्यायाधीश विदेशमा गएका छन् रेे,' निराश भएकी छोरी सुधाले भनिन्, 'जे पनि भन्दा रहेछन्, अदालतको कुरो कहिल्यै बुझ्न सकिएन ।' जिल्ला अदालतको ३ नम्बर इजलासका न्यायाधीश राजेशकुमार काफ्लेको जिम्मामा छोरीमैयाँको मुद्दा छ । फैसला हुने दिन काफ्ले कहिले गोष्ठीमा र विदेश तथा कहिले बिदा बस्ने गरेकाले अदालत धाउनु मात्रै परेको सुधा बताउँछिन् ।
उक्त मुद्दा दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । विभिन्न कारण देखाएर सुनुवाइ र फैसला पर सर्दै आएको गुनासो परिवारको छ । सुरुमा तत्कालीन एक नम्बर न्यायाधीश बालकृष्ण उप्रेतीले हेर्दै आएका थिए । उनकै इजलासले गत भदौ २० मा फैसला सुनाउने निर्णय पनि गरेको थियो । निर्णय सुनाउनुअघि नै न्यायाधीशहरूको सरुवा भयो । उप्रेतीलगायत जिल्ला अदालतका सबै न्यायाधीश सरुवा भए ।
नयाँ न्यायाधीशलाई फाइल र कागजात बुझ्नै समय लाग्यो । कसले कुन मुद्दा हेर्ने भन्ने तय भइनसकेको भनेर अदालतले लामो समयसम्म फैसला मिति तोकेन । अन्ततः काफ्लेको इजलासलाई मुद्दा आएपछि छिट्टै फैसला हुने आसा पलाएको सुधाले बताइन् ।
छोरीमैयाँ ०६८ फागुन १६ गतेदेखि बेपत्ता छिन् । उनी तन्ना, महिलाका कपडा, चकटी, पर्दालगायत घरेलु प्रयोजनका कपडाका सामग्री बनाउने व्यवसाय गर्दै आएकी थिइन् । बिहानै जैशीदेवलस्थित घरबाट निस्केर बानेश्वरस्थित उनकी साथी निक्की भनिने सुरक्षा सिंहकामा हिंडेकी थिइन् । छोरीमैयाँले तयार पारेका कपडा सिंहले बिक्री गरिदिन्थिन् । उनी ढुकुटी खेलाउँथिन् र आपत् परेका बेला छोरीमैयाँसँग सापटी पनि लिन्थिन् । महर्जन परिवारका अनुसार पति शिवकृष्णले राष्ट्र बैंकको शाखा अधिकृत पदबाट अवकाश पाउँदा जम्मा भएको ४३ र व्यवसायबाट आर्जित ७ गरी ५० लाख रुपैयाँ निक्कीलाई उनले दिएकी थिइन् ।
सुधाको पढाइका लागि उनलाई पैसा चाहिएको थियो । तर निकै ताकेता गर्दा पनि निक्कीले पैसा फर्काएकी थिइनन् । बेपत्ता भएको दिन पनि छोरीमैयाँ त्यही पैसा लिन भनेर निक्कीकामा जान बिहान ८ बजे घरबाट निस्किन् । निक्कीको घरमा पुगेको केहीबेरपछि छोरीमैयाँको मोबाइल स्विचअफ भयो । त्यसयता बेपत्ता उनलाई निक्कीले नै बेपत्ता बनाएको किटानी जाहेरी महर्जन परिवारले दिएको थियो । जिल्ला अदालतका तत्कालीन न्यायाधीश उप्रेतीले १ लाख धरौटीमा निक्कीलाई छाड्ने आदेश दिएका थिए ।
####
0 comments
Write Down Your Comment