###
![]() |
२२ चैत, काठमाडौं । सरकारले एक दर्जनभन्दा बढी देशमा नयाँ राजदूत पठाउने गृहकार्य थालेको छ । चैतमसान्तभित्रै राजदूत नियुक्त गर्ने तयारी भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भारत, अमेरिका, बेलायत, थाइल्यान्ड, जेनेभा, क्यानडा, जर्मनी, इजिप्ट, कतार, कुवेत, श्रीलंका, ब्राजिलसहित १४ देशस्थित नेपाली दूतावास राजदूतबिहीन छन् । ती देशमा ५० प्रतिशत करियर कूटनीतिज्ञ र ५० प्रतिशत राजनीतिक सिफारिसमा राजदूत नियुक्तिको तयारी भएको नयाँ पत्रिकामा खबर छ ।
परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भने परराष्ट्रभित्रैबाट करियर कूटनीतिज्ञ मात्रै भएको भरमा अव राजदूत नियुक्त नगर्ने घोषणा गरिसकेका छन् । मन्त्री पाण्डेले राजदूत हुने लाइनमा रहेका कर्मचारीसँग तपाईं किन राजदूत हुने भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ दिन निर्देशन दिएका छन् । तर, कर्मचारीले राजनीतिक तहबाट किन राजनीतिक नियुक्ति गर्ने भन्ने प्रश्न गरेका थिए ।
भारतका लागि दीपकुमार र जगदीशचन्द्र लविङमा
कूटनीतिक दृष्टिकोणले सबैभन्दा महत्वपूर्ण मानिएको भारतका लागि कांग्रेसबाट दुईजना लबिङमा छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल र कांग्रेस नेता दीपकुमार उपाध्याय भारतको राजदूत हुने दाउमा छन् । पोखरेल कांग्रेस उपसभापति रामचन्द्र पौडेल निटक हुन् भने उपाध्याय प्रधानमन्त्री सुशील कोइरालाका निकट मानिन्छन् ।
####
0 comments
Write Down Your Comment