गरे के हुँदैन नेपालमा ? झापामा नमूना सहकारी खेती, आफ्नै खेतमा काम गर्दा घण्टाको ५० रुपैयाँ
###

२१ चैत, झापा । कसले भन्छ नेपाल खत्तम भयो ? आशाको किरण छैन ? झापाका किसान सहकारीमार्फत सामूहिक खेतीको एक प्रेरक भएर प्रस्तुत भएका छन् । श्रम हुनेसँग जमिन र जमिन हुनेसँग श्रमशक्ति नहुँदा उत्पादकत्व घट्दै गएकोमा यी दुवैलाई जोड्दै कृषि उत्पादकत्व बढाउन उत्साहजनक रुपमा तिनले सामूहिक खेती प्रणाली सुरु गरेका छन् ।

पैसा पैसा जोडेर पूँजी भेला गर्ने, कठ्ठा कठ्ठा मिलाएर बिगाहामा सामूहिक खेती गर्ने उदेश्यले साना किसान कृषि सहकारी संस्थाले सामूहिक खेती सुरु गरेको हो । संस्थाले झापाको महारानीझोडा गाविस ३ को १ सय ३५ विगाहा क्षेत्रमा सामूहिक खेती गर्न लागेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काम गर्ने जनशक्ति जति विदेशीएर खेतीयोग्य जमिनसमेत खेर गइरहेकोमा यो प्रवृत्तिलाई रोकेर कृषिलाई औद्योगिकीकरणतिर लैजान नयाँ कार्यक्रम अगाडि सारेका छौँ , महारानीझोडास्थित साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक चिरञ्जिवी भण्डारीले भने । संस्थाका सदस्यहरुको जमिनको व्यवस्थापन मिलाएर खेती सुरु गरिएको संस्थाका सहायक प्रवन्धक हेमनाथ घिमिरेले वताए । उनका अनुसार महारानीझोडा गाविसको मौदानघोपा, स्कुलचौन र जर्तुचौन क्षेत्रको बीचमा रहेको १३५ बिगाहा खेतीमा सामूहिक खेती सुरु गरिएको हो ।
जग्गाको सम्पूर्ण प्राविधिक काम मिलाएर यसै वर्षदेखि खेती सुरु गरिएको हो । हिउँदे मौसमदेखि ८० विगाहामा खेती लगाउने काम धमाधम भइरहेको छ । ४० विगाहा क्षेत्रमा चैतेधान अर्थात बर्षेधान रोपाइँ भइरहेको छ ।  सामूहिक खतीमा ७३ घरपरिवार समेटिएका छन् र रहेक परिवारबाट सम्पर्ण सदस्य काममा निस्कन्छन् । आफ्नै जमिनमा काम गरेको पारिश्रमिक पनि पाइन्छ ।
यसरी काममा निस्कने प्रत्येक किसानले प्रतिघण्टा ५० रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था मिलाइएको छ । किसानले एक्लाएक्लै गर्दा नसक्ने काम धेरैजना भएर गर्दा सहज हुनेसमेत अनुभव गरेका छन् । प्रत्येक किसानको एक बिगाहा जग्गालाई तीन लाख रुपैयाँ बराबरको एक सेयर मानिएको छ ।
####

0 comments

Write Down Your Comment