पारस शाह नेपाल फर्कन चाहन्छन्, तर...?
###

काठमाडौ, चैत्र २३ - पूर्वयुवराज पारस शाहले नेपाल छाडेको ठ्याक्कै साढे तीन वर्ष भयो । २०६७ साल भदौ ११ गतेका दिन नेपाल छाडेर सिंगापुर उडेका पारस त्यसयता एकपटक पनि स्वदेश आएका छैनन् । काठमाडौंबाट सोझै सिंगापुर उडेका पारस त्यहाँबाट थाइल्यान्ड हान्निएका थिए । थाइल्यान्ड बसाइ उनका लागि सुखद रहेन । थाइल्यान्डको फुकेटमा लागू औषधसहित पक्राउ परेपछि उनका अफ्ठ्यारा दिन प्रारम्भ भएका थिए । गिरफ्तारीमा परेपछि उनलाई काठमाडौंमा रहेका परिवारका सदस्यले पूरै बेवास्ता गरे । स्थिति कतिसम्म दयनीय थियो भने पूर्व युवराज पारस बेखर्चीसमेत भए । त्यसक्रममै उनलाई भारतीय मूलका जस्ता देखिने केही व्यक्तिले लगातार पिछा गरिरहे । थाईल्यान्ड सरकारलाई नेपाली राजदूतावासमार्फत जीवनमाथि नै असुरक्षा उत्पन्न भएको निवेदन दिएपछि उनी पिछा गर्नेहरूबाट मुक्त त भए, तर स्वास्थ्यले उनलाई धोका दियो । विगतमा चुरोट र गाँजाका अम्मली पारसलाई बैंककमै व्यवसाय गरेर बसिरहेका युवा उद्यमी सुनिल खड्काको निवासमा बसेका बेला हृदयाघात भयो । त्यो हृदयाघात यति खतरनाक थियो कि करिब १२ दिनसम्म उनी कोमामा रहे । करिब एक महिना लामो उपचारपछि उनी तंगि्रए । अस्पतालबाट डिस्चार्च भएको केही महिनासम्म उनी एउटा स्वास्थ्य सुधारगृहमा रहे । त्यहाँबाट पनि बिदा भएपछि यतिबेला उनी बैंककमै एउटा अपार्टमेन्टमा नेपाल फर्कने दिन पर्खेर बसिरहेका छन् ।

अहिले के गर्दैछन् पारस ?

हृदयाघातको सफल उपचारपछि पारस शाहले केही महिना स्वास्थ्य सुधारगृहमा बिताएका थिए । सफल उपचारपछि पनि नियमित स्वास्थ्य परीक्षणका लागि भनेर उनलाई केही महिना सुधारगृहमा राखिएको थियो । अहिले उनी उक्त सुधारगृहमा छैनन् । पारस यतिबेला बैंककमै एउटा अपार्टमेन्टमा बस्छन् । अपार्टमेन्टमा उनको हेरचाह गर्ने जिम्मा विभिन्न सञ्चारमाध्यमहरूद्वारा प्रेमिकाका रूपमा चित्रण गरिएकी थाई युवती कन्निका चाइसानले गरिरहेकी छिन् । अहिले पनि नियमित औषधी सेवन गरिरहेका पारसलाई कन्निकाले सहयोगीका रूपमा साथ दिइरहेको बताइन्छ । पछिल्लो समय उनी आफ्नो शरीरको विशेष ख्याल गर्छन् । अपार्टमेन्ट नजिकैको एउटा क्लबमा नियमित रूपमा गल्फ खेल्छन् । प्रायः टिसर्ट र ट्राउजर लगाउन रुचाउने पारसको हरेक बिहान गल्र्फ कोर्समै बित्दै आएको छ ।

सूत्र भन्छ- फुर्सदमा इन्टरनेटमा समय बिताउने उनको बानी छ । इन्टरनेटमा उनी प्रायः नेपालका समाचार पढ्छन् । दिनको एकपटक प्रायः सबै नेपाली अनलाइन खोलेर समाचार पढेपछि उनी केही समय फेसबुकमा समेत बिताउँछन् ।

नेपाल फर्कने चाहना

पारस शाह चाँडोभन्दा चाँडो स्वदेश फर्कन चाहन्छन्, तर काठमाडौं बस्ने परिवारका सदस्यहरूले उनी अझै केही समय बैंककमै बसून् भन्ने चाहेका छन् । विगतमा जटिल प्रकृतिको हृदयाघात भैसकेका कारण उनका बुबा तथा पूर्वराजा ज्ञानेन्द्रले नै पारस अझै केही समय बैंककमै बसेर पूर्ण रूपमा स्वस्थ भएपछि मात्र स्वदेश फर्किऊन् भन्ने चाहेको एउटा स्रोतले उल्लेख गरेको छ । 'एकपटक हृदयाघात भैसकेको व्यक्तिलाई फेरि पनि नहोला भन्न सकिँदैन,' स्रोत भन्छ— 'त्यसैले परिवारका अधिकांश सदस्य, खासगरी बुवा ज्ञानेन्द्र नै छोराको स्वास्थ्यप्रति रिस्क लिन चाहँदैनन् । नेपालमा पुनः हृदयाघात भयो भने बैंककको जस्तो उपचार सम्भव नभएकाले पनि पारसलाई परिवारले अहिले नै स्वदेश आएको हेर्न चाहेको छैन ।' बुवा ज्ञानेन्द्रको हरेक कुरालाई सहर्ष स्वीकार गर्ने पारस यति बेला स्वदेश फर्कन बुवाकै अनुमति कुरिरहेका छन् । बैंककको बसाइ दिक्कलाग्दो भएकैले बुवाले अनुमति दिएको भोलिपल्टै उनी काठमाडौं फर्कन तयार भएर बसेको बताइन्छ । अर्को एउटा जानकार सूत्र भन्छ— बिमारी एउटा कारण भए पनि पूर्वराजा ज्ञानेन्द्र अझै पारसप्रति पूर्ण विश्वस्त छैनन् । पारसका कारण आफ्नो छवि फेरि बिग्रने हो कि भन्ने चिन्ता पनि उनलाई छ । त्यसैले पनि पारसले तत्काल नेपाल फर्कन पाउने 'गि्रन सिग्नल' नपाएका हुन् ।

अम्मलबाट मुक्त

विगतमा पारस सिंगापुरबाट बैंकक बसाइ सर्नुमा उनको अत्यधिक चुरोट तथा नशालु पदार्थ सेवनसँग सम्बन्धित रहेको अनुमान जो-कोहीले गरेका थिए । सिंगापुरमा चुरोटका ठुटा सडकमा फाल्नु पनि गैरकानुनी मानिन्छ, तर बैंककमा त्यही कुरा केही खुकुलो छ । चुरोट र गाँजाको अम्मलकै कारण उनी बैंकक पुगेका थिए । मदिरापानमा भने उनले विगतमा पनि खासै रुचि देखाएका थिएनन् । भनिन्छ- हृदयाघात हुनुअघि पारस चुरोट र गाँजाको प्रयोग अत्यधिक मात्रामा गर्थे । हृदयाघातको सफल उपचार भएपछि भने उनी ती दुवै कुराबाट टाढा भएका छन् । आफ्नो स्वास्थ्यप्रति सचेत पारस अहिले निकै कम अवसरमा वा कसैले धेरै नै कर गरेको खण्डमा मात्र एक-दुई प्याग मदिरापान गर्छन् । त्यसबाहेक चुरोटको तल-तल मेटाउन उनलाई चिकित्सकले इलेक्टि्रक चुरोट सेवन गर्ने अनुमति दिएका छन् । चार्ज गरेर सेवन गर्न मिल्ने इलेक्टि्रक चुरोटमा निकोटिन हुँदैन, स्वाद भने वास्तविक चुरोटको जस्तै हुन्छ । त्यसले स्वास्थ्यलाई कुनै हानि नपुर्‍याउने बताइन्छ ।

पारसको उद्धार

बैंककमा अज्ञात समूहले पिछा गरेपछि पारस शाह अत्यन्त तनावमा थिए । बैंककका केही नेपालीले उनलाई पिछा गर्ने समूहबाट मुक्त गराउन अनेकन प्रयास गरे । अन्ततः यो जिम्मेवारी युवा उद्यमी सुनिल खड्काको काँधमा आइपुग्यो । खड्काले आफ्नो निवासनजिकको एउटा सुपरमार्केटको पार्किङस्थलबाट पारसलाई उद्धार गरेका थिए । पारस आफू सवार कारबाट बाहिरिएर खड्काको कारमा बसेपछि उनलाई केही घण्टामै बैंककबाट २ सय किलोमिटर टाढाको फुकेट पुर्‍याइएको थियो । 'ज्यानको बाजी थापेर सकेसम्म स्पिडमा कार चलाउँदै फुकेट पुग्दाको क्षण वास्तवमै डरलाग्दो थियो,' खड्का भन्छन्— 'मैले पारस शाहलाई त्यही पार्किङस्थलमै पहिलो पटक भेटेको थिएँ । पहिलो भेटमा उहाँ हतासपूर्ण अवस्थामा हुनुहुन्थ्यो । हामी कारमा अघि बढेपछि मैले 'केही हुँदैन, हामी सुरक्षित स्थलसम्म पुग्छौं' भनेर सम्झाएको थिएँ ।' खड्काका अनुसार फुकेट पुगेको केही घण्टापछि उनीहरूले पुनः बैंकक फर्कने निर्णय गरे । त्यसक्रममा पारसले खड्काकै निवासमा बस्ने इच्छा व्यक्त गरेपछि उनीहरू भित्री मार्गमार्फत बैंकक पुगेका थिए । 'गत मंसिर २२ गते हृदयाघात नहुन्जेल उहाँ मेरै घरमा बस्नुभयो, खड्काका अनुसार करिब ५ महिनाको अवधिमा उनीहरूबीच दाजु-भाइको सम्बन्ध गाँसिसकेको थियो ।

सामान्य जीवनशैली

सुनिल खड्का दम्पतीले पारस शाहका लागि एउटा छुट्टै कोठा उपलब्ध गराएका थिए जहाँ पारसकी थाई सहयोगी कन्निका चाइसान पनि सँगै बस्थिन् । खड्काको निवासमा बिताएको करिब ५ महिनाको अवधिमा पारस मुस्किलले एक-दुई पटकमात्र घरबाट बाहिर निस्किए । गि्रन टीका पारखी पारस आफैं चिया बनाउँथे । कुखुराको मासुको झोल र भात पारसलाई सबैभन्दा मीठो लाग्ने परिकार हो । बेला-बेला उनी आफैं भान्सामा पसेर खानासमेत बनाउँथे । पहिरनको मामिलामा उनी खासै सौखिन छैनन् । सामान्य टिसर्ट, ट्राउजर मात्र लगाउन रुचाउने पारस लगाउने र खानेकुरामा सामान्य छन् । एकताका उनले आर्थिक अभावकै कारण एक जोडी जुत्ता महिनौंसम्म पनि लगाए । 'बेला-बेलामा चुरोट खाएको देख्दा कहिलेकाहीं म यसमा त्यस्तो विशेष के छ ? भनेर जिस्क्याउँथेँ,' सुनिल खड्का सम्झन्छन्—'पारस भन्थे- यसमा के छ भन्ने थाहा पाउन त आफैंले खानुपर्छ तर म तिमीलाई यो नखान सल्लाह दिन्छु, यो स्वास्थका लागि ठीक छैन ।'

कारका सौखिन

पारस शाह काठमाडौं छँदै सवारी साधनका सौखिनका रूपमा परिचित भैसकेका थिए । लाखौं पर्ने मोटरसाइकलमा सवार हुने उनको पुरानो बानी नै हो । सिंगापुरमा रहँदा उनले महँगो मानिएको कार ल्यामोर्घिनी किनेका थिए । अहिले पनि त्यो कार सिंगापुरमै छ, जसलाई उनले बेचेका छैनन् । अहिले बैंककमा भने उनीसँग बीएमडब्ल्यू कार छ ।

देशको चिन्ता

पारस शाह विदेशमा रहे पनि स्वदेशका राजनैतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन् । पारस अहिले शासन राजाले गरे पनि, जनताले गरे पनि जनताले दुःख पाउन नहुने, देशको विकास हुनुपर्ने तथा देश बन्नुपर्ने कुरा आफ्ना नजिकका साथीभाइमाझ गरिरहन्छन् । पारसलाई देशमा रहेका विभिन्न खानीबाट खनिज पदार्थहरू निकालेर निर्यात गर्न सके देशको आर्थिक अवस्था सुदृढ हुने विश्वास छ । उनी उत्तर-दक्षिण भएर बग्ने प्रमुख नदीको दुवै किनारमा राजमार्ग बनाउन सके त्यसबाट नेपालले पर्याप्त फाइदा लिन सक्ने पनि बताउँछन् ।

निराजनको सम्झना

भनिन्छ- देशबाट राजतन्त्र विदा भएकोमा पारस शाहलाई खासै चिन्ता छैन । देशको शासन जसले गरे पनि देशको विकास हुनुपर्छ भन्ने कुरालाई महत्व दिने पारस दरबार हत्याकाण्डको दोष आफ्नो टाउकोमा आएकोमा जति दुःखी देखिन्छन् त्योभन्दा बढी दुःख निराजन शाहलाई गुमाउँदा छन् । 'नीराजनसँग म धेरै नजिक थिएँ, पारस सम्झन्छन्— 'नीराजन भाइलाई गुमाउनुपरेको पीडा म अहिलेसम्म भोगिरहेको छु ।' अहिले पनि उनी बेलाबेला नीराजनको सम्झना गर्दै उनीसँगका पुराना प्रसंगहरू कोट्याउँछन् ।

छोरा-छोरीको माया

पारस सबैभन्दा बढी माया कसैलाई गर्छन् भने आफ्ना तीन जना सन्तानलाई । पारस-हिमानीका तीन सन्तान छन् । जेठी छोरी पूणिर्का, छोरा हृदयेन्द्र अनि कान्छी छोरी कृतिका । उनी आफ्ना यी तीन सन्तानसँग टेलिफोनमा नियमित सम्पर्कमा रहन्छन् । छोरा-छोरीले पनि बुवालाई उत्तिकै मिस गरिरहेको उनी आफैं बताइरहेका हुन्छन् ।

थाई युवती सहयोगी मात्र ?

सार्वजनिक रूपमा पारस शाहकी प्रेमिका भनिएकी थाई युवती कन्निका चाइसान उनकी सहयोगी मात्र भएको दाबी पारस निकट सूत्रको छ । थाइल्यान्डमा भाषाको ठूलो समस्या छ । अधिकांश थाईलाई राम्रोसँग अंग्रेजी बोल्न आउँदैन, नेपालीलाई थाई भाषा बोल्न समस्या छ । यस्तो बेला पारसले कन्निकालाई दोभाषेका रूपमा राखेका हुन् । कन्निका थाई भए पनि अंग्रेजी भाषामा राम्राे दख्खल राख्ने भएकाले सुरुमा उनी दोभाषेका रूपमा पारसको जीवनमा आएकी थिइन् । हृदयाघात हुनु अघिदेखि नै कन्निका पारसको सहयोगीकै रूपमा कार्यरत थिइन् । अहिले पनि कन्निका पारससँग छिन् । 'पारस शाहकी प्रेमिका नै भन्न गाह्रो छ, स्राेत भन्छ— 'उनलाई पारसको सहयोगी एवं शुभचिन्तकका रूपमा चिन्दा राम्रो हुन्छ जस्तो लाग्छ ।'

त्यसो त, भन्नेहरू पारसले कन्निकालाई प्रेमिकाकै दर्जा दिएको समेत बताउँछन् । पारस स्वदेश फर्कन ढिला हुने कारण पनि कन्निका नै भएको समेत बताइँदै आएको छ । पारसले कन्निकालाई पनि आफूसँगै ल्याउन चाहेको तर परिवारका सदस्य विशेष गरी पूर्व युवराज्ञी हिमानी शाहले नमानेको समेत बताइँदै आएको छ । स्रोत भन्छ— 'पारस स्वदेश र्फकंदा कन्निका उनका साथमा हुने छैनन् ।' आजको मितिसम्म पारसले दोस्रो विवाह नगरेको पनि स्राेतले दावी गरेको छ ।

घमन्ड छैन

अहिले पारस शाहमा आफू पूर्वयुवराज भएको कुनै छनक देखिँदैन । उनले बैंकक रहँदा कहिल्यै आफूलाई क्राउन प्रिन्सका रूपमा चिनाएनन्, न त कुनै दम्भ नै देखाए । उनी बैंककमा सामान्य नेपाली सरह नै जीवनयापन गरिरहेका छन् । युवा उद्यमी सुनिल खड्काले लामो समय सँगै बिताउने क्रममा पारसले आफूसँग कुनै पनि कुरा लुकाएको अनुभव गरेनन् । 'मनमा जे छ त्यही भन्नुहुन्थ्यो, सुनिल भन्छन्— 'मैले पारस शाहलाई एउटा खुला हृदय भएको व्यक्तिका रूपमा चिनेको छु ।'

पारस-ज्ञानेन्द्र सम्बन्ध

सञ्चारमाध्यमहरूमा पारस शाह र ज्ञानेन्द्र शाहको सम्बन्धका बारेमा विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । भनिन्छ, पारस र ज्ञानेन्द्रको सम्बन्ध बाहिर हल्ला भएजस्तो बिगि्रएको भने छैन । बुवा र छोराबीच प्रोटोकलका कारण पनि यस्तो समस्या देखिएको हो । त्यसबाहेक ज्ञानेन्द्र शाहलाई पारसका बारेमा गरिने रिपोर्टिङ नै गलत हुने दाबीसमेत गरिएको छ । 'बुबा ज्ञानेन्द्रलाई ज-जसले पारसका बारेमा रिपोर्टिङ गरे, ती सबै गलत भए, स्रोत भन्छ— 'गलत रिपोर्टिङमा विश्वास गर्दा बाबु-छोराको सम्बन्धमा फाटो आएजस्तो देखिएको हो ।' पारसलाई बैंककबाट स्वदेश फर्कन कुनै समस्या छैन, तर बुवा ज्ञानेन्द्रले 'अहिले नआउनू' भनेकैले पारस उतै रोकिएका हुन् । स्रोत भन्छ— 'बुवा-छोराको सम्बन्ध वास्तवमै बिगि्रएको भए पारसले बुवाको कुनै पनि कुरा नमान्नुपर्ने हो ।' भनिन्छ अहिले पनि बाबु-छोराबीच एसएमएसमार्फत कुराकानी भैरहन्छ, यद्यपि फोनमा प्रत्यक्ष कुराकानी भने विरलै हुने गरेको छ ।



####

,

0 comments

Write Down Your Comment