भागबन्डा मिलाउने तयारी
###

काठमाडौं - विश्व फुटबल महासंघ (फिफा) को निर्देशनअनुसार नै अखिल नेपाल फुटबल संघ (एन्फा) को १७ सदस्यीय कार्यसमितिको निर्वाचन बिहीबार राजधानीमा हुँदैछ।
त्यसमा १ अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्य गरी १६ जना चयन हुनेछन्। एक महिला सदस्यका लागि एन्फाले अलग्गै निर्वाचन गरेपछि समितिले पूर्णता पाउनेछ। मनोनयनमा महिला उम्मेदवारी नपर्नु र फिफाले एक महिला अनिवार्य राख्नुपर्ने निर्देशन दिएपछि एन्फा छुट्टै निर्वाचन गर्ने योजनामा पुगेको हो।
एक्लो उम्मेदवारी परेपछि अध्यक्षमा गणेश थापा निर्विरोध भइसकेका छन्। उनी २०५२ सालदेखि एन्फा नेतृत्वमा छन्।

'फिफा प्रतिनिधिको उपस्थितिमा कार्यसमिति निर्वाचन हुनेछ। अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्य निर्वाचित हुनेछन्,' एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, 'महिला सदस्यका लागि अर्को वर्ष वा विशेष साधारण सभाबाट चयन गर्नेछौं। त्यो विषयमा बिहीबार बस्ने केन्द्रीय समितिले टुंगो लगाउने छ।'
३१ सदस्यीय कार्यसमितिलाई भन्दै असोज ९ गते मनोनयन प्रक्रिया सम्पन्न गरेको एन्फा गत महिना फिफाले जम्बो टोली नस्वीकार्ने प्रस्ट पारेपछि पछि हट्न बाध्य भएको हो। ३१ सदस्यीय हुँदा ८ उपाध्यक्षमा २२ तथा २२ सदस्यमा ३७ जनाको उम्मेदवारी परेको छ। पुरानै चुनावी प्रक्रियालाई निरन्तरता दिएकाले तीनै उम्मेदवारबाट बिहीबार १५ जना निर्वाचत हुनेछन्।
एन्फा निर्वाचनबारे गत महिना फिफाका नेसनल एसोसिएसन म्यानेजर पिरिरो कोरारो र एएफसी नेसनल एसोसिएसन विभागका सी सङले १ अध्यक्ष, ३ उपाध्यक्ष र एक महिलासहित बढीमा १७ सदस्यीय कार्यसमिति हुनुपर्ने अडान राखेपछि एन्फाको ठूलो कार्यसमिति बनाउने योजना तुहिएको थियो।
एन्फाको अनुरोधमा फिफा ३ बाट बढाएर ४ उपाध्यक्ष राख्न तयार भएको तुलाधरले जनाए। कार्यसमिति संख्या १७ भए पनि उपाध्यक्ष थप्दा १ सदस्य संख्या घट्नेछ।
अघिल्लो साधारण सभामा आफ्नै वैधानिक व्यवस्था उल्टाउँदै एन्फाले ३१ सदस्यीय कार्यसमिति चुनाव गर्ने निर्णय पास गरेको थियो। ४५ जिल्ला संघ, १४ ए डिभिजन, बी, सी डिभिजन, महिला, रेफ्री, खेलाडी र प्रशिक्षक संघका गरी दुई सयभन्दा बढीको प्रतिनिधित्व रहने साधारण सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको सिइओ तुलाधरले बताए। दुई सयभन्दा बढी प्रतिनिधिमध्ये ७१ जनासँग मात्र मताधिकार रहनेछ।
एनआरटीले भाग लिने
एक वर्ष फुटबल नखेल्ने निर्णय गरेको एनआरटीले 'ए' डिभिजन क्लबकै हैसियतमा एन्फा निर्वाचनमा भाग लिने भएको छ। हालै बसेको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको महासचिव विनयसिंह प्रधानले बताए। 'भाग लिने नलिने विषयमा केही विवाद थियो। अन्तमा संस्थालाई बहिष्कार गर्न नहुने तर्कमा सहमति भयो,' सिंहले भने, 'अध्यक्ष दीपकहर्ष वज्राचार्यसहित तीन जनाको सहभागिता हुनेछ।' क्लबले मताधिकार अध्यक्ष वज्राचार्यलाई दिएको छ।
वैशाखमा एन्फाले तोकेको समयमा टिम दर्ता नगराउनुका साथै लिग नखेल्ने प्रस्ट पारे पनि एन्फाले एनआरटीलाई निर्वाचनमा भाग लिन ए डिभिजनकै हैसियत दिएर अघिल्लो महिना पत्राचार गरेको थियो। एन्फा विधानमा कुनै पनि डिभिजनको क्लबले लिग नखेले स्वतः रेलिगेसनमा पर्ने व्यवस्था छ।
थापाको कसरत
अध्यक्ष थापाले केही दिनयता सर्वसम्मतिको कसरत थालेका छन्। उनले उम्मेदवारलाई सामूहिक र व्यक्तिगत रूपमा भेटघाट गरे पनि सर्वसम्मति जुटिसकेको छैन। थापाबाहेक ५९ आकंाक्षीबाट १५ जनाका लागि सर्वसम्मत गर्न कठिन रहेको एन्फा स्रोतले बतायो। 'प्रयास जारी छ। सहमति भइसकेको छैन,' स्रोतले भन्यो, 'सहमति र निर्वाचन दुवै सम्भावना उत्तिकै छ।'
आकांक्षी कोही पनि खुलेर बोल्न चाहँदैनन्। थापाको सहयोगबिना समितिमा पर्ने सम्भावना नभएकाले आकांक्षीहरू 'पर्ख र हेर' को रणनीतिमा छन्। 'कतिपय उम्मेदवारलाई उहाँले फिर्ता लिन राजी गराइसक्नुभएको छ। तर अझै बाँकी छन्,' उपाध्यक्षका एक उम्मेदवारले भने, 'अन्तिम समयमा सर्वसम्मति भयो भने अचम्म नमान्दा हुन्छ। नेपाली फुटबलमा जे पनि सम्भव छ। उपाध्यक्षमा मिले पनि सदस्यमा अलि कठिन देखिन्छ।'
स्रोतका अनुसार वर्तमान कार्यसमिति उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, कर्माछिरिङ शेर्पा, किशोर राई र विजय मानन्धरलाई सोही पदमा निर्विरोध गराउने पक्षमा अध्यक्ष थापा छन्।
अन्तिमसम्म पनि आफ्नो नाम पर्ने आशामा उम्मेदवारहरू भने बोल्न चाहेका छैनन्। धेरै अध्यक्षको सहयोग रहनेमा आशावादी देखिन्छन्। 'अध्यक्षज्यूको नोटिसमा नपरेको व्यक्ति चुनेर आउने सम्भावना छैन। रहर गरेर मात्र एन्फामा प्रवेश पाउन गाह्रो छ,' अर्का एक उम्मेदवारले भने, 'धेरै बोल्दा आफ्नै नाम काटिने सम्भावना छ, त्यसैले यति बेला कोही बोल्दैनन्।'
अध्यक्ष थापाले अन्तिम समयसम्म सहमतिलाई प्रयास गर्ने बताए। 'निर्वाचनका दिनसम्म पनि प्रयास जारी राख्छौं,' उनले नागरिकसँग भने, 'सर्वसम्मति हुन्छ भन्नेमा म अझै पनि आशावादी छु।' केहीले उम्मेदवारी फिर्ता लिइसकेको बुझिए पनि एन्फाले त्यसलाई सार्वजनिक गरेको छैन। तथापि उपाध्यक्षका प्रत्यासी सुनील कपालीले उम्मेदवारी फिर्ता लिइसकेका छन्। उनले फुटबल विकास र सहमतिका लागि आफूले उम्मेदवारी फिर्ता लिएको  बताए।


####

0 comments

Write Down Your Comment