हाम्रो निशाना प्रचण्ड नै हुन्ः देव गुरुङ
###

चितवन, कात्तिक ८ – नेकपा माओवादीका सचिव देव गुरुङले आफुहरुले प्रहारको मुख्य निशाना एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाएको बताउनुभएको छ ।
३३ दलीय मोर्चाको वैठकले नै प्रचण्डलाई निशाना बनाएर सक्रिय बहिस्कारको आन्दोलन थालेको समेत उहाँले स्पष्ट पार्नुभयो ।
शुक्रबार दिउँसो चितवनमा सोसल रिपव्लिकन पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘घटनाको सिलसिला हेर्दा प्रचण्ड नै सबै समस्याको बाधक भएको प्रष्ट भएको छ, त्यसैले आन्दोलनको निशाना प्रचण्डमा केन्द्रित गर्छौं ।’
ठूला राजनीतिक दललाई प्रभावमा पारेर विदेशीको डिजाइनमा निर्वाचन हुन लागेकोले यसलाई सक्रिय बहिस्कार गर्ने गुरुङले बताउनुभयो ।
युद्धरत देशमा मात्रै निर्वाचनका बेला सेना परिचालनको इतिहास भएपनि नेपालमा निरंकुशता लाद्न सेना परिचालन भएको उहाँले जिकिर गर्नुभयो । पछिल्लो समयमा आफ्ना कार्यकर्ताहरुलाई धरपकडको सिलसिला बढेको भन्दै गुरुङले यस्तै गरिरहे राष्ट्रिय मुक्ति आन्दोलनमा होमिने चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा नेपाल सोसल रिपव्लिकन पार्टीका चितवन क्षेत्र नं १ का उम्मेदवार विष्णुबहादुर विक, २ का उम्मेदवार गुणकान्त ढकाल तथा समानुपातिक तर्फका उम्मेदवार रामप्रसाद पाण्डे र गोकुल तिवारी सहित जिल्ला पार्टीनै निर्वाचन बहिस्कार गर्दै नेकपा माओवादीमा प्रवेश गरेको घोषणा समेत गरिएको थियो ।
####

0 comments

Write Down Your Comment