पाकिस्तानलाई १.६ अर्ब अमेरिकी डलर सहायता
###

वासिङटन – अमेरिकाले पाकिस्तानलाई दिइने सहयोग आइतबार फुकुवा गरेको छ। एक जना उच्च अधिकारीका अनुसार राष्ट्रपति बाराक ओबामा प्रशासनले पाकिस्तानलाई तत्काल १.६ अर्ब अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय गरेको छ। अमेरिकाले पाकिस्तानलाई दिने गरेको आर्थिक र सामरिक सहायता सन् २०११ मा स्थगित गरेको थियो। अधिकारीले गएको वर्षयता चिसिएको पाक–अमेरिका सम्बन्ध सुधार भएकाले सहयोग फुकुवा गरिएको बताए।
औपचारिक भ्रमणमा अमेरिकामा रहेका पाक प्रधानमन्त्री नवाज सरिफ बुधबार राष्ट्रपति ओबामासँग भेटवार्ता गर्दैछन्। ओबामासँग भेटवार्ता हुनु दुई दिनअघि नै ओबामा प्रशासनले गरेको आर्थिक सहयोगले अमेरिका–पाक सम्बन्ध सुधि्रन थालेको संकेत गरेको छ। यसै वर्ष मेमा चुनाव जितेर प्रधानमन्त्री बनेका सरिफ अमेरिकासँग सम्बन्ध सुधारलगायत ड्रोन आक्रमण रोक्न, आतंकवादविरुद्ध सहायता माग्न र ऊर्जा संकटको समाधानजस्ता एजेन्डा लिएर वासिङटन गएका हुन्।
अमेरिकी सैनिकले पाकिस्तानको अबोटाबादमा लुकेर बसेका अल–कायदा प्रमुख ओसामा बिन लादेनलाई सन् २०११ मा मारेपछि दुवै देशबीच सम्बन्ध चिसिएको थियो। पाकिस्तानलाई सूचना नदिई अमेरिकी सैनिकले आक्रमण गरी ओसामालाई मारेको थियो। पाकिस्तानले अमेरिकी कारबाहीको विरोध गर्दै केही अमेरिकी सैनिक प्रशिक्षकलाई देशनिकाला गरेको थियो। पाकिस्तानको विरोध र प्रशिक्षक निकाला भएपछि अमेरिकाले पाकिस्तानलाई दिने सहयोग रोक्का गरेको थियो।
पाकिस्तानी सहर अबोटाबादमा ओसामा लुकेर सुरक्षित रुपमा बसेको थाहा पाएपछि अमेरिकाले पाक सुरक्षा निकायको आतंकवादीसँग मिलेमतो हुनसक्ने आशंका गरेको थियो। त्यसैले ओबामाले पाक प्रशासनलाई जानकारी नदिइ ओसामा लुकेको घरमा आक्रमण गर्ने निर्णय गरेका थिए। यसबाहेक पाकिस्तानले अफगानिस्तानसँग सिमाना जोडिएका आदिवासी क्षेत्रमा संदिग्ध लडाकुमाथि हुने अमेरिकी ड्रोन आक्रमणको समेत विरोध गर्दै आएको छ।
सरिफले चुनाव अभियानमा अमेरिका र भारतसँग द्विपक्षीय सम्बन्ध सुधार गर्ने, ऊर्जा संकट अन्त्य गर्ने, तालिबानलाई शान्ति वार्तामा ल्याउने वाचा गरेका थिए। विश्लेषकहरू ९० को दसकमा तत्कालीन प्रधानमन्त्रीका रुपमा सरिफले अमेरिकासँग राम्रो सहकार्य गरेको बताउँछन्। अमेरिकाले फेरि पनि सरिफ अमेरिकासँग राम्रो सहकार्य गर्ने अपेक्षासहित सहयोग फुकुवा गरेको विश्लेषकले बताएका छन्।



####

0 comments

Write Down Your Comment