###
|
हामी भाइटीकाको दिन बेलुका ९ बजे इटहरी चोक पुग्दा तिहारको बत्तिबाहेक सधैँ गुल्जार र यातायातको भीड हुने स्थान मस्त आराम गरिरहेको थियो । कुनै हतार थिएन इटहरीलाई । तर, अध्यक्ष प्रचण्ड भने त्यसदिन बिहानै सिन्धुली हुँदै सिरहाको आफ्नो निर्वाचन क्षेत्रभरि घरदैलो तथा सभा गरिरहेका थिए । यतिसम्म कि राति नौ बजे उनका सहयोगीले फोन उठाउँदासमेत प्रचण्डको भाषण सुन्न सकिन्थ्यो । भोलिपल्ट अर्थात् २० कात्तिकमा बिहान ६ बजे हामी काँकडभिट्टा पुग्दा काँकडभिट्टा पनि सुतेको थियो । सिलाङ
, सर्खाङ र गुहाटी जाने नेपाली दाजुभाइको कुनै चहलपहल र पैसा साट्ने काउन्टरलाई समेत हाइसञ्चो थियो । किनकि तिहारले सबैलाई भुलाएछ । बिहान ७ बजे माओवादीको मेची–महाकाली जागरण अभियान उद्घाटन हुने भनिए पनि दुई घन्टा ढिलो मात्र सुरु भयो । हाँसो, मजाकसहित बिहानको नास्ता गर्यौँ, चोककै एकजना फरासिला दाइभाउजुको होटलमा । त्यहाँ एकछिनमा भीड लाग्यो । कार्यक्रम स्थलमा झापाका चुनावी कमान्डरहरू गोपाल किराती र धर्मशिला चापागाईंलगायत साथी निकै हतास देखिन्थे सुरुमा । तर जब ९ बज्यो साँच्चिकै मेची नाकामा मानव सागर उर्लन थाल्यो । बूढाबूढी, अपांगसमेत प्रचण्डलाई हेर्न आए । प्रचण्डले भाषण गरिरहँदा म जनसमुदायको अन्तिम किनारातिर उनीहरूको प्रतिक्रिया सुन्दै हिँडेको थिएँ । उनीहरू यस्तो पो नेता हुनुपर्छ, उस्तो पो नेता हुनुपर्छ, कांग्रेस र एमाले कसरी सकिए भन्दै दु:खमनाउ गर्दै थिए ।
जब काँकडभिट्टाबाट प्रचण्ड, बाबुराम, प्रकाश चढेको खुला रथ जनतालाई अभिवादन गर्दै अघि बढ्यो, सडक किनारा, छेउछाउका बस्तीबाट प्रचण्डलाई हेर्न मानिसहरू सडकमा फूलमाला लिएर उर्लिए । काँकडभिट्टाको मञ्चमा उक्लँदा प्रचण्ड–बाबुराम अलिक खिन्नजस्ता देखिएका थिए । किनभने, कार्यक्रम निर्धारित समयमा सुरु भएको थिएन । तर, जब जनता सडकामा उत्रेर पुष्पगुच्छा बर्साउन थाले, उनीहरूको अनुहारमा अर्कै चहक देखियो । प्रचण्ड खुला रथ र हाम्रो गाडी प्राय: सँगसँगै थियो । हामी पनि गाडीको छतमा थियौँ । वास्तवमा त्यो एउटा अद्भूत राजनीतिक अभियान थियो । जसलाई प्रचण्डले नयाँ आन्दोलन र सन्देशका रूपमा अथ्र्याए । विराटनगरसम्म आइपुग्दा प्रचण्डले दशवटा सभालाई सम्बोधन गरे ।
विर्तामोड र दमकमा झापाली जनताको भेल नै उर्लेको थियो । लाग्थ्यो, सिंगो झापा नै प्रचण्डमय भयो वा माओवादीमय त्यो भेद नै नछुट्टिने खालको थियो । अरू दलका मुखियाहरू आफ्नै मात्र निर्वाचन क्षेत्रमा कनिकुथी गरिरहेका वेला प्रचण्डले देशभर अभियान चलाउँदै छन् । त्यतिमात्र होइन, स्थानीय समस्यालाई पनि आफ्नो सरकार बनेपछि कसरी समाधान गर्ने भन्ने जानकारी पनि जनतालाई दिइरहेका छन् । काम, कर्म, व्यवहार र आचरणले नै प्रचण्ड राष्ट्रिय नेता बनेका छन् । विराटनगरमा आइपुग्दा नयाँ डिआइजी नवराज सिलवालले भने पूर्वप्रधानमन्त्रीज्यूजस्तो देश धान्न सक्ने मान्छे त कोही छैन होला । साथमा प्रमुख जिल्ला अधिकारीले पनि त्यो त मान्नैपर्छ भने । दिनभरिका सभामा बोल्दा बोल्दै साँझ कर्मचारी स्थानीय व्यवसायी र पार्टी कार्यकर्तासँग दुई घन्टाभन्दा बढी भेटघाट गरे । त्यसमाथि उपेन्द्र यादवसँग समेत राजनीतिक छलफल गरे प्रचण्डले ।
झापाको दमकको सभाले प्रचण्ड बाबुरामहरूलाई निकै हर्षित बनाएको थियो । त्यो जनसभा नभएर कुनै ऐतिहासिक मेला वा पर्वजस्तो थियो । त्यो झापाको क्षेत्र ७ हो । जहाँ एमाओवादीका गोपाल किरातीसँग एमालेका केपी ओली भिडिरहेका छन् । कार्यक्रमका उद्घोषकले ४ मंसिरपछि केपी ओलीले सन्न्यास लिने भएकाले अध्यक्ष प्रचण्डले सम्झाइदिनुपर्ने बताएर हँसाए । मोरङको उर्लाबारीले अर्को कीर्तिमानी रेकर्ड कायम गरेको स्थानीय नै बताउँदै थिए । त्यति मानिस त स्थानीय व्यापारीले कहिल्यै देखेका थिएनन् रे । उर्लाबारीसहितको क्षेत्र ९ मा पार्टीभित्रको प्रचण्डकै शब्दमा होनहार युवा नेता वर्षमान पुन अनन्त उठेका छन् । अनन्त पूर्व आएपछि पूर्वको माओवादी माहोल नै बेग्लै भएको छ । पूर्वेली जनताले बूढो रूखको अवसानपछि नेतृत्व नपाएको वेला अनन्तको उपस्थितिले प्यासीलाई एक लोटा पानी दिएजस्तो भएको छ । मोरङकै पथरी, बेलबारी हुँदै विराटचोकमा आइपुग्दा अभियानमा हिँडेका हामीमा नै यो के हो भन्ने स्थिति देखिएको थियो । मानिसको अपार उर्लापात थियो । जसको कुनै गणना थिएन र त्यो मोरङको क्षेत्र ८ हो, जहाँ माओवादीभित्रकै एकजना आदर्शवान् दलित कार्यकर्ता गोपी अछामी प्रतिस्पर्धी छन् । अघिल्लो निर्वाचनमा पनि उनले नै जितेका थिए । विराटचोकको सभामा प्रचण्डले जोडदार भाषण दिए । सबैभन्दा धेरै ताली पनि त्यहीँ बज्यो । महिलाहरूको अनुहारमा खुसी र आकर्षणले तालीका साथै गहभरि आँसु पनि देख्न सकिन्थ्यो । सायद उनीहरूले आफ्ना बारेमा बोलिदिने नेता पहिलोपटक आफ्नै आँखाअगाडि देख्दै थिए । प्रचण्डले महिला अधिकार र संघीयताका विषयमा गहकिलो तर्क दिएका थिए ।
इटहरीको सभामा आइपुग्दा प्रचण्डको भाषणको पारो झन् तात्दै थियो, साँझ पनि पर्दै थियो । अघिल्लोपटकको निर्वाचनमा इटहरीको सभाले नयाँ सन्देश दिएको र यसपटक पूर्वऐतिहासिक कीर्तिमानी राख्ने भन्दै एमाओवादीको आसन्न विजयका लागि प्रचण्डले पूर्वेली जनतालाई शुभकामना दिए । त्यसलगत्तै दुहबीको सभामा बोलेर विराटनगर आइपुग्दा साँझ साढे ६ बजिसकेको थियो । विराटनगरमा मोरङ कांग्रेसका जिम्मेवारलाई साँझ ढल्कँदै गर्दा प्रचण्डले टीका लगाएर स्वागत गरे । मञ्चमै पनि सयौँ महिला तथा वृद्धहरूले प्रचण्डलाई भेट्न तँछाडमछाड गरिरहेका थिए । प्रचण्डले मेची–महाकाली अभियानअन्तर्गत नेपाली जनताले पटकपटकका आन्दोलनको अगुवा दललाई बहुमत दिएको स्मरण सुनाउँदै यसपटक माओवादीलाई दुईतिहाइ बहुमत दिन आग्रह गरे । उनले ००७ सालको आन्दोलनपछि ०१५ सालमा र ०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेसलाई नेपाली जनताले बहुमत दिएको तर कांग्रेसले दरबारसँग गलत सम्झौता र अनावश्यक चोचोमोचो गरेका कारण बुढो रूखले किचेर कांग्रेस समाप्त भएको रोचक तरिकाले बताए । त्यसमाथि गिरिजाप्रसाद कोइरालाको अवसानपछि त हिङ नभए पनि हिङ बाँधेको टालोजस्तो बनेको कांग्रेस नेता, नीति र विचारविहीन बन्न पुगेको यथार्थ विश्लेषण गरे । त्यस्तै, कांग्रेसबाट आजित भएका जनताले एमालेतर्फ आशाको नजरले हेरे पनि एमालेले जे गरेर पनि सत्तामा जाने अनैतिक र चरम अवसरवादी बाटो अपनाएको दृष्टान्त देखाइदिए प्रचण्डले । ०६२/६३ को जनआन्दोलन र जनयुद्धपछि देशमा माओवादीको एजेन्डा र नीति लागू भइरहेका कारण अब नेपाली जनताले संविधानसभा, गणतन्त्र, समावेशी समानुपातिक र संघीयता पक्षधर एमाओवादीलाई बहुमत दिन आग्रह गरे प्रचण्डले । पहिलो र दोस्रो दिन भएका दुई दर्जनभन्दा बढी सभामा प्रचण्ड कथनलाई जनताले तालीले समर्थन गरेका थिए ।
दोस्रो दिन सुनसरीको इनरुवाबाट सुरु भएको प्रचण्ड चुनावी एक्सप्रेस जनकपुरको फुलगामा भन्ने स्थानमा राति ९ बजे पुगेर विश्राम लियो । त्यसदिन १६ ठाउँमा सभा भए । ती सभामा प्रचण्डले उस्तै आभा र उत्तेजनाका साथ धोद्रिएको घाँटी बोल्दाबोल्दै गर्दा सफा गर्दै जनतालाई परिवर्तनका पक्षमा खडा हुन अपिल गरे । सिरहा ५ को गोलबजारको सभामा डा. बाबुराम भट्टराईले जोडदार भाषण गरे । प्रचण्डलाई पूर्वेली जनताले पाउनु ऐतिहासिक गौरव भएको दृष्टान्त प्रस्तुत गर्दै एमाओवादीको बहुमत घोषणा गर्न मात्र ४ मंसिर कुर्नुपरेको बताएर १०औँ हजार जनसमूहको ताली र शरीर नै उचाले बाबुरामले । त्यस सभामा खगेन्द्र संग्रौला पनि थिए । अघिल्लोपटकको निर्वाचनमा मधेसका सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही तथा पर्सामा माओवादीको कन्तबिजोग थियो । माओवादी कार्यकर्ता सडकमा आफ्नो परिचयसहित निस्कन पनि गाह्रो थियो । तर, यसपटक अन्य दलका मानिसहरू सडकमा कहीँ–कतै देखिँदैनन् । केवल हँसिया–हथौडाको चुनावी चिह्न बोकेका बूढाबूढी महिला र किसानहरू सर्वत्र देखिन्छन् । सप्तरी र सर्लाहीका विशाल सभाले एमाओवादीको मधेसी लहर प्रस्टै देख्न सकिन्छ । मेची–महाकाली अभियानअन्तर्गत सर्लाही र बारामा त तीनजना विभिन्न पार्टीका प्रत्यक्ष उम्मेदवारले नै आफ्नो उम्मेदवारी मात्र फिर्ता लिएनन् । एमाओवादीमै प्रवेश गरे ।
२२ र २३ गते मधेसमा दुइटा मेला देखिन्थे । एउटा माओवादी मेला अर्को छठको मेला । हामी जनकपुर बजार पुग्दा साँझ साढे ६ बजेतिर एउटा घरको आगनमा २५ जनाजतिको झुन्डमा एकजना एमाले नेताले भाषण गर्दै थिए । कांग्रेस त झन् कतै नजरमा परेन । अर्कातिर प्रचण्डको १०औँ हजारको काफिलाले पूर्वाञ्चल थर्काइरहेको थियो । महोत्तरीको बर्दिवासमा प्रचण्ड बोलिरहेका वेला एउटा चियापसलमा गफिएका स्थानीयले उनका सखाहरूलाई नजित्नेहरूलाई भोट हालेर कसैले पनि भोट खेर फाल्न नहुने तर्क दिइरहेका थिए । काँकडभिट्टादेखि बुटवलसम्म आइपुग्दा सहजै के भन्न सकिन्छ भने नेपाली जनताका अगाडि एमाओवादीबाहेक अर्को कुनै भरोसायोग्य दल र विकल्प छैन । सुशील कोइराला र झलनाथ खनालहरू आफ्नोमात्र निर्वाचन क्षेत्रमा कनिरहेका वेला देश उठाउने गरी नेपालका गाउँ र मधेसका गल्लीबाट अन्तर्राष्ट्रिय समुदायको समेत सम्पूर्ण ध्यान आफूमा केन्द्रित गरेका प्रचण्डबाहेक अर्को कुनै प्रतिस्पर्धी नेता समेत देशमा छैन । यस्तो समय र सन्दर्भलाई एमाओवादीका देशभरिका कार्यकर्ताले सदुपयोग गर्न सके भने उनीहरूको विजयलाई कसैले रोक्न सक्दैन । प्रचण्डको व्यक्तित्व र करिष्मालाई देश र जनताको पक्षमा सदुपयोग गर्ने ठीक समय भएको छ । यसलाई देशभरिका माओवादी कार्यकर्ताले नै सबैभन्दा बढी बुझ्नुपर्छ । अब एमाओवादीका कारण प्रचण्ड बन्ने होइन कि, प्रचण्डका कारण माओवादीले आफूलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्नुपर्छ । यसका लागि अधिकतम रूपमा देशभरिका माओवादी कार्यकर्ताले प्रचण्डलाई प्रयोग गर्न सक्ने कला देखाउनैपर्छ । यसले मात्र परिवर्तनका मुख्य एजेन्डाको कार्यान्वयन हुनेछ । जनताले पनि गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व र संघीयताको प्रमुख वाहक एमाओवादीलाई रोज्ने मुड बनाएको सहजै बुझ्न सकिन्छ । यसमा जनताले गल्ती गर्नेछैन ।
(काँकडभिट्टादेखि बुटवलसम्मका चार दर्जनभन्दा बढी सभा र प्रदर्शनको अवलोकनपछिको टिपोट) नयाँ पत्रिकाबाट
####
.jpg)




0 comments
Write Down Your Comment